फिल्म साउथ एसियाः पर्दामा कतार कष्ट

ललितपुर — कतार यतिबेला विश्वकप फुटबल २०२२ को लागि भौतिक पूर्वाधारको तयारीमा लागेको छ । झन्डै तीन लाख जनसंख्या भएको कतारमा मात्रै २० लाख आप्रवासी मजदुरहरू छन् । नेपालका मात्रै तीन लाख श्रमिक कतारमा छन् । जुन भारतपछिको धेरै हो । खासगरी फुटबल रंगशाला निर्माणका लागि यतिबेला कतारले लाखौंको संख्यामा मजदुर भित्र्याएको हो । एकातिर विश्वकप आयोजनाको रौनक छ भने यसको अँध्यारो पक्ष पनि छ ।

फिल्म साउथ एसियाः पर्दामा कतार कष्ट

शनिबार फिल्म साउथ एसियामा देखाइएको डकुमेन्ट्री ‘ट्र्याप्ड इन कतार’ यही अँध्यारो पक्षको पटाक्षेप गर्ने प्रयास गरेको छ ।


बेन्जामिन बेस्ट र शंकर दाहालले संयुक्त रूपमा बनाएको ‘ट्र्याप्ड इन कतार’ ले नेपाली दुई मजदुर दिलप्रसाद र आदि गुरुङमार्फत् कतारमा रहेका नेपाली श्रमिकको दुःख, पीडा र समस्यालाई देखाउने प्रयास गरेको छ । उक्त डकुमेन्ट्री सन् २०१६ मा बेन्जामिनले नै बनाएको ‘डर्टी गेम्स’ को सिक्वेल हो । जसलाई व्यावसायिक खेलकुदभित्रको दलदल उजागरको अभियान मानिन्छ । ‘ट्र्याप्ड इन कतार’ ले पनि तलब नपाएका वा ज्यादै न्यून पाएका र बधुवा मजदुरको शैलीमा एक कम्पनीबाट अर्कोमा काम गर्न जानसमेत अनुमति नपाएर विलखबन्दमा परेका नेपाली श्रमिकको पीडालाई दुई पात्रको माध्यमले देखाउन खोजेको छ ।


‘यो सबै हुनुमा नेपाल सरकारकै कमजोरी हो । जसले आफ्ना कामदारलाई कतारमा सुरक्षित गर्न सकिरहेको छैन । आवश्यक पारिश्रमिक दिलाउन पहलसम्म गर्न सकेको छैन,’ निर्देशक दाहालले फिल्म प्रदर्शनपछिको प्रश्नोत्तरी खण्डमा भने, ‘नेपालबाट जाने मजदुरहरू दक्ष नहुँदा पनि बढी शोषणमा परिरहेका छन् । तर मानव अधिकारको आधारभूत मान्यता पनि पूरा गरिरहेको छैन र त्यसबारेमा सरकार बोल्न सक्दैन भने त्यहाँ दूतावास राखेको पनि के अर्थ ? किन हेरिरहेको छैन ? यो डकुमेन्ट्री आरोप लगाउनेभन्दा पनि सुझाव दिनका लागि हो ।’


१७ मिनेट लामो ‘ट्र्याप्ड इन कतार’ ले पेस गरेको तथ्यांकमा पछिल्लो एक दशकमा मात्रै एक हजार चार सय २६ नेपाली मजदुरको कतारमा कामको सिलसिलामा निधन भएको छ । तर निधन भने रोग लागेर वा अन्य कारणले भएको भन्दै सम्बन्धित कम्पनी पन्छिँदै आइरहेका छन् । ‘आफ्नै देश फर्कन चाहन्छौं । कसैले सहायता गरोस्,’ डकुमेन्ट्रीको एक दृश्यमा आदिले बिलौना गरेका छन् । यता नेपालमा भने उनकी पत्नी अनुको वेदना अर्कै छ । आदिले पठाउने पैसामा आश्रित परिवारलाई धानिरहेकी अनु भन्छिन्, ‘लामो समयदेखि उहाँले पैसा पठाउनुभएको छैन । अब बच्चाको स्कुल फी कसरी तिर्ने ? कति हो कति गाह्रो भइरहेको छ ।’ निर्देशक दाहालले विदेशीको नजरमा नेपाली केवल कामदारजस्ता मात्रै भइरहेको जिकिर गर्दै थपे, ‘विदेशी फिल्मकर्मीका लागि पनि ती नेपालीहरू हट केकजस्ता भइरहेका छन् । जुन अति नै दुःखदायी छ ।’


पाटनस्थित यलमाया केन्द्रमा बिहीबारदेखि जारी फिल्म साउथ एसियाको तेस्रो दिन शनिबार भारतका ११ सहित पाकिस्तानका दुई र अफगानिस्तान, भुटानका एक–एक फिल्म देखाइएको थियो । महोत्सवको अन्तिम दिन आइतबार समापनअघि १७ फिल्म देखाइनेछ भने सामाजिक सञ्जाल र यससँग मिडियाले गरिरहेको संघर्षका बारेमा समूहगत छलफल हुनेछ । हरेक दुई वर्षमा सञ्चालन हुने यस महोत्सवको १२ औं संस्करणमा ६३ फिल्महरू प्रतिस्पर्धाका लागि छानिएका थिए ।


दक्षिण एसियाकै लागि राजनैतिक र भौगोलिक हिसाबले तटस्थ भूमि मान्दै नेपालमा आयोजना हुँदै आएको महोत्सवको यसपटकको नारा ‘ह्वेयर द माइन्ड इज फ्री...’ राखिएको छ । महोत्सवले भारत, पाकिस्तान र बंगलादेशजस्ता राजनैतिक कटुता भएका मुलुकका फिल्मकर्मीलाई पनि एकै थलोमा उभ्याएको छ ।

प्रकाशित : मंसिर १, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?