कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नक्कली झमकको कथा

काठमाडौँ — ‘जीवन काँडा कि फूल’ फिल्म यतिबेला हलहरूमा चलिरहेको छ । यो फिल्ममा साहित्यकार झमक घिमिरे बन्ने अवसर पाउँदाको क्षण निकै सम्झिन्छु । धेरैले मलाई ‘तिमीले यो क्यारेक्टर गर्न सक्दिनौं’ भन्थे ।

नक्कली झमकको कथा


बोल्न र हिँड्डुल गर्न नसक्ने, खुट्टाले नै खाने र खुट्टैले लेखेर अरुसँग कम्युनिकेट गर्नुपर्ने भएकोले धेरैले ममाथि शंका गर्थे । तिनताक म नियमित रंगकर्ममै थिएँ । ‘चारुमती’, ‘सुइना कर्णाली’ र ‘बुद्धवाणी’ जस्ता नाटक गरिसकेकी थिएँ । पाँच वर्षअघिको दसैं ताका, म नुहाएर कौशीमा घाम ताप्दै थिएँ, थिएटर भिलेजबाट विमल सुवेदी दाइले फोन गरेर ‘तुरुन्त आउनु’ भन्नुभयो । म सामान्य ड्रेसअपमै कुदेर असनबाट लाजिम्पाटस्थित थिएटरमा पुगें । त्यहाँ पुग्दा फिल्म निर्देशक विनोद विष्टलगायतको टिम रहेछ ।


सुरुमै उहाँहरूले ‘जीवन काँडा कि फूल’ पढेकी छ्यौ भन्दै सोध्नुभयो । त्यसपछि झमक घिमिरे कस्तो लाग्छ भनेर सोध्नुभयो । तेस्रो प्रश्न थियो– ‘कुनै चरित्रको लागि आफ्नो कपाल काट्न सक्छ्यौ ?’ मैले ‘सक्छु’ भनें । खासमा फिल्मको कुरो रहेछ । त्यसको एक वर्षपछि मात्रै फिल्म फ्लोरमा गएको हो । मैले भने त्यो एक वर्षलाई चरित्र निर्माणको अवधिको रूपमा लिएँ । यही बीचमा दुइटा नाटकसँगै रवीन्द्रनाथ टैगोरको ‘मालिनी’ मा काम गर्नुपर्ने भयो । मेरो सन्दर्भमा नाटक ‘मालिनी’ र झमक घिमिरेको बायोपिकबीच ठूलो सम्बन्ध छ । कुरा कपालकै थियो ।


एक दिन फेरि विमल दाइले भन्नुभयो, ‘कपालप्रति कुनै मोह छ भने विपश्यना ध्यानमा जाऊ, मोह भंग गरेर आऊ ।’ तर, म विपश्यता गइनँ । जुन दिन मैले ‘कपाल काट्न सक्छु’ भनेरे वचन दिएकी थिएँ, त्यही दिनबाटै कपाल कोर्न र नुहाउँदा स्याम्पु लाउन छोडिसकेकी थिएँ । कुनै दिन नष्ट भएर जान्छ भने त्यो वस्तुप्रतिको मोहको के अर्थ ? मनमा यस्तो लाग्दै गइरहेको थियो । त्यसमाथि ‘मालिनी’ मा मालिनीकै भूमिका मैले गर्नुपर्ने भयो । मेरो लागि त्यो नै विपश्यनाजस्तो परीक्षा बन्यो । सजिलै कपाल खौरेर मालिनीको भूमिका गरें । भिक्षु बनें ।


चरित्रप्रति यतिधेरै सान्निध्यता भएछ कि मलाई कपाल काट्नै मन लाग्न छोड्यो । ‘जीवन काँडा कि फूल’ फिल्मदेखि सगरमाथा आरोहणमा जाँदासम्म मैले तीनपटक कपाल खौरें । २०१६ को मार्च २८ कहिल्यै भुल्दिनँ । यो दिन ‘जीवन काँडा कि फूल’ को शुभमुहूर्त थियो । धनकुटाको कचिडेस्थित झमक दिदीको घरमुनिको बारीमा पुरानो घरको सेट लगाइएको थियो । म झमक दिदीजस्तै ढाड खुम्च्याएर, मुखबाट र्‍याल चुहाउँदै खुट्टाले लेखिरहेकी थिएँ । सुटिङ हेर्न धनकुटा बजारदेखि हिलेसम्मका मानिस झुम्मिएका थिए ।


मैले खुट्टाले लेख्दै बहिनीलाई ‘मुनामदन’ किनेर ल्याउनु भनेर दुई सय रुपैयाँ खुट्टैले दिनुपर्ने थियो । पहिलो सट जसै ओके भयो, म यति इमोसनल भएछु कि जुरुक्कै उठेर आमालाई अंगालो मार्न गएछु र धुरुधुरु रोएछु । बारीभरि ‘लौ झमक त अचानक तंग्रिइन्’ भन्दै हल्लीखल्ली चल्यो । सबैजना अचम्मित । त्यतिबेला मान्छेहरूले झमकलाई साँच्चिकै ठीक भएको ठानेछन् । झमक दिदी पनि खुब हाँस्नुभयो ।


अर्को दिन पनि त्यस्तै भयो । इन्डोर सुटिङ थियो । हेर्न आउनेहरूबाट धेरै नै डिस्टर्ब भयो भन्दै झमक दिदी अर्को कोठामा सुतिरहनुभएको थियो, म फिल्मको सेटमा अभिनय गर्दै थिएँ । अभिनय सकेपछि मैले निर्देशकसँग बोलेरै संवाद गरें । मान्छेहरू छक्क परे, झमकको कसरी वाक् फुट्यो भनेर । कलाकार भन्ने थाहा पाएपछि मात्रै मानिस हाँसे । सुटिङ सकेपछि हिलेमा एउटा स्थानीय संस्थाले गरेको कार्यक्रममा त दर्शकले झमक दिदी र मैले स्टेजमा खुट्टैले लेखेर संवाद गर्न लगाए ।


लामो समय झमक दिदीकै कपालको गेटअपमा रहें । लगभग तीन वर्ष । सगरमाथा चढेर आएपछि चाहिँ कपाल पाल्न थालें । अहिले त पूरै पहिलेकै अवस्थामा फर्केकी छु ।

प्रकाशित : मंसिर १, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?