बलिउडमा बढ्दो बायोपिक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रायः फिल्मले दर्शकलाई काल्पनिक संसारमा लगेर यसका चरित्र र घटनासँग साक्षात्कार गराउँछन् । त्यसैले पनि फिल्मलाई सृजनात्मक माध्यम मानिन्छ । तर कहिलेकाहीं फिल्मले वास्तविक घटना वा चरित्रका कथा पनि भन्ने गर्छ । 

ZenTravel

जसलाई बायोपिक भन्ने गरिन्छ । बलिउडमा यतिबेला बायोपिकमार्फत् खेलाडी, कलाकार, नेता वा कुनै सहासिक, अप्रत्याशित घटनाबारेमा कथा भन्ने चलन बढेर गएको छ । सन् २०१९ सकिँदासम्म बलिउडमा एक दर्जन बायोपिक रिलिज हुने भएका छन् ।

Meroghar

सन् २०११ को अन्त्यतिर सिल्क स्मिथाको जीवनीमा आधारित फिल्म द डर्टी पिक्चर हिट भएपछि बायोपिकको पछिल्लो लहर बढेको मानिन्छ । विद्या वालन स्टारर डर्टी पिक्चरले बक्सअफिसमा पैसा मात्रै कमाएन, तीनवटा नेसनल अवार्डसमेत जितेको थियो ।
त्यसपछि २०१२ मा आएको अर्को बायोपिक पानसिंह तोमरले पनि त्यस्तै सफलता चाख्यो । २०१६ मा आउँदासम्म दंगल, एम एस धोनी : द अनटोल्ड स्टोरी, सर्वजित, निरजा गरी आधा दर्जनभन्दा बढी बायोपिकले नाम र दाम कमाए । गतवर्ष पनि बायोपिकको दबदबालाई कायम राख्दै प्याडम्यान, सञ्जु, गोल्डजस्ता फिल्म आए ।

यस वर्ष बायोपिकको लहर बलिउडमा झन् बढेर गएको छ । तर नतिजा भने मिश्रित देखिएको छ । वर्षको सुरुवात नै भारतीय पूर्वप्रम मनमोहन सिंहमाथि बनेको बायोपिक द एक्सिडेन्टल प्राइमिनिस्टर र गुन्डा नाइके बाल ठाकरेमाथि आधारित फिल्म ठाकरे दुवैले आशातीत सफलता पाउन सकेनन् ।

त्यसैगरी पीएम नरेन्द्र मोदी र द स्काई इज पिंक पनि फ्लप बायोपिकको सूचीमा परे । धन्न, मणिकर्णिका : द क्विन अफ झाँसी, सुपर ३०, गल्ली ब्वाई, मिसन मंगल, बाटला हाउस, उरी : द सर्जिकल स्ट्राइक, केशरीले बायोपिकको इज्जतलाई धाने । साँडकी आँख, पानीपत अझै रिलिज क्रममा छन् ।

द डर्टी पिक्चरका निर्देशक मिलन लुथरिया अहिलेका दर्शकले फिल्ममा पनि वास्तविकता हेर्न चाहेको बताउँछन् । भन्छन्, ‘दर्शकहरु त्यस्ता वास्तविक घटना वा चरित्रलाई हेरेर आफैं महसुस गर्न थालेका छन् ।’ तर फिल्म समीक्षक अजय ब्रहात्मज अहिले खासगरी खेल र व्यक्तिमाथि बनिरहेका बायोपिकप्रति खासै खुसी छैनन् ।

उनी भन्छन्, ‘खास अर्थमा बायोपिक बनेकै छैनन् । भीडले जे खोज्छ, त्यसैको पछि लागेर बायोपिकको नाममा मसला फिल्म बनाइरहेका छन् ।’ पुराना पत्रकार जयप्रकाश चौकसी पनि बायोपिक बनाउँदा वास्तविक कथासँग थोरै सम्झौता गरेर मसला हाल्नुपर्ने बाध्यता रहने बताउँछन् ।

उनले राजकुमार हिरानीले पनि सञ्जय दत्तको जीवनी भन्दै बनाएको सञ्जु सही अर्थमा बायोपिक नभई परीकथा भएको टिप्पणी गरे । चौकसीले यसरी फिल्म बनाएर बायोपिकमाथि अन्याय गरेको जिकिर गरे ।

प्रकाशित : कार्तिक २, २०७६ २०:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा फेरि चितुवाको आक्रमणबाट बालिका घाइते

सम्झना रसाइली

तनहुँ — तनहुँको भानु नगरपालिका–२ बज्गाइटारमा शनिबार साँझ चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा सोही स्थानकी १२ वर्षीय सोनिया अछामी रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले जनाएका छन।

आँगनमा खेलिरहेको बेलामा चितुवाले आक्रमण गरी भागेको प्रहरीले जनाएको छ। अछामीलाई डुम्रेस्थित लक्ष्मि हस्पिटलमा सामान्य उपचार गरी चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको इन्चार्ज श्रेष्ठले बताए।

यसअघि भानुमा चितुवाको आक्रमणबाट ५ बालबालिकाको मृत्यु र ३ घाइते भएका थिए। नरभंक्षी बन्दै भएको चितुवा नियन्त्रणका लागि चितुवाबाट प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा पराम्परागत काठको खोर बनाएर बाख्रा सहितको पासो थाप्ने तयारी भैरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए।

प्रकाशित : कार्तिक २, २०७६ १९:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×