दसैंमा सराएँ नाच

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बस्नेत घटस्थापनाको दिनदेखि दैनिक बिहान उठ्नेबित्तिकै नुहाएर मन्दिर जान्छन् ।

सरसफाइदेखि सराएँ नाचको चाँजोपाँचो मिलाउन व्यस्त हुन्छन् । दसैंको द्वादशीको दिन दुर्गा भगवती मन्दिरबाट भाला, तरबार, थन्कुरी, बाजा, सनाई झिकेर सराएँ नाचिन्छ ।

स्थानीयले दिनभर हातमा तरबार नचाउँछन् । दिनभरिमा सराएँ जात्रा सकिन्छ । ‘म पनि तरबार नचाउँछ । धर्म संस्कृतिको रक्षा, पर्यटन प्रवर्द्धन गर्न सराएँ नाचको बेग्लै महत्त्व छ,’ अध्यक्ष बस्नेतले भने । दुर्गा मन्दिरका हातियार लिएर नाचेपछि वर्ष दिनसम्म शुभ हुने धार्मिक विश्वास रहेको छ । सयौंको संख्यामा आउने भक्तजनले भाकल चढाउने, राँगा बोकाको बलि चढाउने परम्परा छ । नाचकै कारण मन्दिर पर्यटकीय गन्तव्य बन्दै छ । घुम्न आउने पर्यटकलाई गाउँपालिकाले मन्दिरनजिकै बस्नका लागि होमस्टे निर्माण गरिदिएको छ ।

मालारानी गाउँपालिका–३ स्थित पहाडको चुचुरो र जंगलको बीचमा रहेको मन्दिरमा भव्य सराएँ नाच हुन्छ । नाचको उत्पत्ति अर्घा भगवती मन्दिर (अर्घा दरबार) बाट भएको किम्वदन्ती छ । जहाँ उति बेलाका भुरे राजा बस्थे । विसं १३८१ मा भारतको दिल्लीबाट जिल्ला राई भन्ने राजा अर्घामा आएर बसे । साथमा गीत गाउने गन्धर्व, पूजा गर्ने पुरोहित, लुगा सिलाउने परियार लिएर आए । हतियारसहित फौज पनि थियो । अर्घामा त्यतिबेला गुरुङ राजा थिए । उनीसँग लडाइँ जितेर १७ मौजा कब्जा गरे । त्यसैको खुसियालीमा राजाले पूर्णिमाका दिन सराएँ नाच निकाले ।

अर्घाको महत्त्व बेग्लै छ । दरबारमा राजाले वेद पाठ गर्थे । भगवती मन्दिर स्थापना गरेर सराएँ नाच सुरु गरेपछि खाँचीकोट, ठाडा, मालारानी, गोखुंगालगायतका स्थानमा विस्तार भयो । त्यसपछि प्युठान, पाल्पा हुँदै कपिलवस्तुसम्म हुन थालेको छ । युद्धमा हतियारसहित लडेर विजयी प्राप्त गरेको खुसियालीमा नाच सुरु गरिएको किम्वदन्ती छ । अहिले फूलपातीको दिनदेखि पूजा गर्ने र दशमीको टीकापछि एकादशीदेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठमा सराएँ हुन्छ ।

मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जिल्लामा उत्पत्ति भएको सराएँलाई संरक्षण गरेर पर्यटक भित्र्याउन बजेट विनियोजन गरिएको बताए । गाउँपालिकाभित्र मालारानी, राँगा मारेमा भव्य हुन्छ । गाउँगाउँमा दुर्गा भगवतीका मन्दिर स्थापना गरी सराएँ नाच गरिन्छ । उत्पत्ति भएको अर्घामा ऐतिहासिक जात्रा लाग्छ । धेरैले मन्दिरमा फूलपाती, परेवा चढाउने र सराएँ नाचको अलाम एवं दुर्गा भगवतीको डोलीमा फूलपाती, अक्षता, जमरा र भेटी चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सराएँ सुरुवात गर्नुपूर्व पूजापाठ गरेर बाजा बजाइन्छ ।

त्यसपछि आलाम निकालिने ०४३ सालदेखि पूजापाठ गर्दै आएका मन्दिरका मूलपुजारी तेजनाथ भुसालले बताए । ‘डोलीमा दुर्गा भगवतीको मूर्ति सातो कपडाले बेरेर लगिन्छ । डोली र आलामलाई बीचमा राखेर वरिपरि खुँडा, तरबार हातमा लिएर ओख्खै हो, भन्दै नाचिन्छ । सँगै पञ्चेबाजा, सनाई, थङकुरी बजाउँदैनाचिन्छ,’ भुसालले भने । घाँटीमा रातो र सेतो धजो बाँधिन्छ ।

जमरा राख्ने, मसुरे कटासको लिंगो झिक्रीलाई प्रतिपदाकै दिन बाजागाजा, मालश्री र भजनका साथ कालीकला पँधेराबाट काँधमा राखेर ल्याइन्छ र रातो कपडाले सिंगारेर मन्दिरतर्फ अड्याइन्छ । पूजाआजा र चार वेद पाठ सुरु गरिन्छ । चण्डीपाठ र देवी भागवत् पुराणसमेत गरिन्छ । बोका वा पाठोलाई बलि दिइन्छ । तृतीयाको दिन कुभिन्डो र पाठोलाई बलि दिएर साँझ सामूहिक भोजन गरिन्छ । ‘यसरी दैनिक पूजापाठ गरेपछि अष्टमीको दिन बोका, भेडा, राँगो, परेवा चढाइन्छ । टीकाको दिन माटोद्वारा बनाइएका वैरी (शत्रु) फौजहरूलाई अक्षताले हानेर हत्या भयो भनिन्छ, टीकालाई पुजिन्छ र शुभ साइतअनुसार दसैंको टीका लगाइन्छ । मन्दिरमा टीका लगाउनेको भीड हुन्छ,’ उनले भने । यसरी चतुर्दशीको दिनसम्म विधिअनुसार पूजापाठ गरी पूर्णिमाको दिन बलि चढाइने अर्का पुजारी छविलाल भुसालले बताए ।

यस वर्ष भव्य सराएँ जात्रा निकाल्ने तयारी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए । शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले धार्मिक संस्कृति मात्रै नभएर सराएँ नाच ऐतिहासक सम्पत्ति भएको उनले बताए । ‘सराएँ नाच हेर्न अर्घाखाँची आउने पर्यटक बर्सेनि बढेका छन् । स्थानीय सरकारले यस्ता संस्कृति, परम्परालाई संरक्षण गरेको छ,’ उनले भने । यतिबेला सबै दुर्गाभगवती मन्दिरहरूमा पूजापाठ भइरहेको छ । एकदशीदेखि पूर्णिमासम्म नाच हुन्छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

शिविरमा चित्रकला

कान्तिपुर संवाददाता

काठमाडौँ — इस्ट इन्डिया कम्पनीका फौजलाई १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खालीले परास्त गरेको दिनको सम्झनामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले सिन्धुलीगढीमा कला शिविर गरेको छ ।

शिविरअन्तर्गत भएको चित्रकला कार्यशाला र गोष्ठीलाई प्रदेशसभा सदस्य विनोदकुमार खड्काले क्यान्भासमा चित्र बनाएर उद्घाटन गरेका थिए ।

नेकपाका केन्द्रीय सदस्य कमलजंग राई र कलाकार विश्वम्भर लामिछानेले पनि क्यान्भासमा चित्र बनाएका थिए । असोज १३ देखि १७ गतेसम्म आयोजित शिविरमा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले कलाकारलाई क्यानभास, रंग प्रदान गरेकी थिइन् ।

प्राज्ञ राजभण्डारी स्वयंले पनि चित्र बनाउनुका साथै कला शिविरमा सुदर्शनविक्रम राणा, सुनीता राणा, अश्रुराम खाइजू,सुरेम देशार, अनिल खड्का, सञ्जु थापा मगर, सुदिप विशंखेको सहभागिता रहेको छ । कार्यक्रममा जराबुट्टा कलाकार विश्वम्भर लामिछानेको पनि उपस्थितिरहेको थियो ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्