कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दसैंमा सराएँ नाच

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बस्नेत घटस्थापनाको दिनदेखि दैनिक बिहान उठ्नेबित्तिकै नुहाएर मन्दिर जान्छन् ।

सरसफाइदेखि सराएँ नाचको चाँजोपाँचो मिलाउन व्यस्त हुन्छन् । दसैंको द्वादशीको दिन दुर्गा भगवती मन्दिरबाट भाला, तरबार, थन्कुरी, बाजा, सनाई झिकेर सराएँ नाचिन्छ ।


स्थानीयले दिनभर हातमा तरबार नचाउँछन् । दिनभरिमा सराएँ जात्रा सकिन्छ । ‘म पनि तरबार नचाउँछ । धर्म संस्कृतिको रक्षा, पर्यटन प्रवर्द्धन गर्न सराएँ नाचको बेग्लै महत्त्व छ,’ अध्यक्ष बस्नेतले भने । दुर्गा मन्दिरका हातियार लिएर नाचेपछि वर्ष दिनसम्म शुभ हुने धार्मिक विश्वास रहेको छ । सयौंको संख्यामा आउने भक्तजनले भाकल चढाउने, राँगा बोकाको बलि चढाउने परम्परा छ । नाचकै कारण मन्दिर पर्यटकीय गन्तव्य बन्दै छ । घुम्न आउने पर्यटकलाई गाउँपालिकाले मन्दिरनजिकै बस्नका लागि होमस्टे निर्माण गरिदिएको छ ।


मालारानी गाउँपालिका–३ स्थित पहाडको चुचुरो र जंगलको बीचमा रहेको मन्दिरमा भव्य सराएँ नाच हुन्छ । नाचको उत्पत्ति अर्घा भगवती मन्दिर (अर्घा दरबार) बाट भएको किम्वदन्ती छ । जहाँ उति बेलाका भुरे राजा बस्थे । विसं १३८१ मा भारतको दिल्लीबाट जिल्ला राई भन्ने राजा अर्घामा आएर बसे । साथमा गीत गाउने गन्धर्व, पूजा गर्ने पुरोहित, लुगा सिलाउने परियार लिएर आए । हतियारसहित फौज पनि थियो । अर्घामा त्यतिबेला गुरुङ राजा थिए । उनीसँग लडाइँ जितेर १७ मौजा कब्जा गरे । त्यसैको खुसियालीमा राजाले पूर्णिमाका दिन सराएँ नाच निकाले ।


अर्घाको महत्त्व बेग्लै छ । दरबारमा राजाले वेद पाठ गर्थे । भगवती मन्दिर स्थापना गरेर सराएँ नाच सुरु गरेपछि खाँचीकोट, ठाडा, मालारानी, गोखुंगालगायतका स्थानमा विस्तार भयो । त्यसपछि प्युठान, पाल्पा हुँदै कपिलवस्तुसम्म हुन थालेको छ । युद्धमा हतियारसहित लडेर विजयी प्राप्त गरेको खुसियालीमा नाच सुरु गरिएको किम्वदन्ती छ । अहिले फूलपातीको दिनदेखि पूजा गर्ने र दशमीको टीकापछि एकादशीदेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठमा सराएँ हुन्छ ।


मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जिल्लामा उत्पत्ति भएको सराएँलाई संरक्षण गरेर पर्यटक भित्र्याउन बजेट विनियोजन गरिएको बताए । गाउँपालिकाभित्र मालारानी, राँगा मारेमा भव्य हुन्छ । गाउँगाउँमा दुर्गा भगवतीका मन्दिर स्थापना गरी सराएँ नाच गरिन्छ । उत्पत्ति भएको अर्घामा ऐतिहासिक जात्रा लाग्छ । धेरैले मन्दिरमा फूलपाती, परेवा चढाउने र सराएँ नाचको अलाम एवं दुर्गा भगवतीको डोलीमा फूलपाती, अक्षता, जमरा र भेटी चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सराएँ सुरुवात गर्नुपूर्व पूजापाठ गरेर बाजा बजाइन्छ ।


त्यसपछि आलाम निकालिने ०४३ सालदेखि पूजापाठ गर्दै आएका मन्दिरका मूलपुजारी तेजनाथ भुसालले बताए । ‘डोलीमा दुर्गा भगवतीको मूर्ति सातो कपडाले बेरेर लगिन्छ । डोली र आलामलाई बीचमा राखेर वरिपरि खुँडा, तरबार हातमा लिएर ओख्खै हो, भन्दै नाचिन्छ । सँगै पञ्चेबाजा, सनाई, थङकुरी बजाउँदै नाचिन्छ,’ भुसालले भने । घाँटीमा रातो र सेतो धजो बाँधिन्छ ।


जमरा राख्ने, मसुरे कटासको लिंगो झिक्रीलाई प्रतिपदाकै दिन बाजागाजा, मालश्री र भजनका साथ कालीकला पँधेराबाट काँधमा राखेर ल्याइन्छ र रातो कपडाले सिंगारेर मन्दिरतर्फ अड्याइन्छ । पूजाआजा र चार वेद पाठ सुरु गरिन्छ । चण्डीपाठ र देवी भागवत् पुराणसमेत गरिन्छ । बोका वा पाठोलाई बलि दिइन्छ । तृतीयाको दिन कुभिन्डो र पाठोलाई बलि दिएर साँझ सामूहिक भोजन गरिन्छ । ‘यसरी दैनिक पूजापाठ गरेपछि अष्टमीको दिन बोका, भेडा, राँगो, परेवा चढाइन्छ । टीकाको दिन माटोद्वारा बनाइएका वैरी (शत्रु) फौजहरूलाई अक्षताले हानेर हत्या भयो भनिन्छ, टीकालाई पुजिन्छ र शुभ साइतअनुसार दसैंको टीका लगाइन्छ । मन्दिरमा टीका लगाउनेको भीड हुन्छ,’ उनले भने । यसरी चतुर्दशीको दिनसम्म विधिअनुसार पूजापाठ गरी पूर्णिमाको दिन बलि चढाइने अर्का पुजारी छविलाल भुसालले बताए ।


यस वर्ष भव्य सराएँ जात्रा निकाल्ने तयारी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए । शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले धार्मिक संस्कृति मात्रै नभएर सराएँ नाच ऐतिहासक सम्पत्ति भएको उनले बताए । ‘सराएँ नाच हेर्न अर्घाखाँची आउने पर्यटक बर्सेनि बढेका छन् । स्थानीय सरकारले यस्ता संस्कृति, परम्परालाई संरक्षण गरेको छ,’ उनले भने । यतिबेला सबै दुर्गाभगवती मन्दिरहरूमा पूजापाठ भइरहेको छ । एकदशीदेखि पूर्णिमासम्म नाच हुन्छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?