लन्डनमा मनाइयो बुद्ध जयन्ती

लन्डन — लन्डनको मुटु ट्राफलगर स्क्वायर अचेल ब्रेक्जिट विरोध अनि समर्थन र्यालीले भरिरहन्छ । प्रदर्शनकारीले बेलायत र ईयूका झण्डा फहराइरहने उक्त स्थान आइतबार साँझ भने नेपाली झण्डा, ध्वजा पतका र बुद्धका पोस्टरले भरियो ।

लन्डनमा मनाइयो बुद्ध जयन्ती

नेपाली गीत संगीत घन्किए अनि मौलिक नेपाली नाचमा कलाकारले विदेशीको ध्यान खिचे । भैरव, लाखे नाच देखि कुमारी परम्पराको एउटा प्रदर्शन विदेशी आकर्षित गर्ने थप आइटम थिए । फूलको आँखामा, रेशम फिरिरी... पनि घन्किए त्यहाँ ।


अवसर थियो बुद्धजयन्ती । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ बेलायत लगायतको सहकार्यमा बुद्धजयन्ती मनाएका हुन् ।


'जहाँ छन् बुद्धका आँखा...' गायिका शर्मिला बर्देवाको सुमधुर स्वरले माहोल एकाएक तात्यो । बर्देवासहित शर्मिला सिंह र सोनम उनेमको अर्को गीत 'यो नेपाली शीर उचाली...' ले एकपटक फेरि विदेशी भूमिमा नेपाली भावना जागृत गराएको महशुस दर्शकले गरे ।


करिब ५ सय हाराहारी नेपाली र केही विदेशी सहभागी उक्त कार्यक्रममा धार्मिक पूजा, शान्तिदीप प्रज्वलन, गौतम बुद्ध र लुम्बिनीसम्बन्धी प्रिजेन्टेसन साथै पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरियो ।


समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले भगवान बुद्धको जन्मस्थान लुम्बिनीबाट शान्ति, अहिंसा र मैत्रीको संदेश लिएर आफू बेलायत आएको बताए।


उनले सन् २००४ मा स्थापित विश्वविद्यालयले विश्व शान्ति, सामन्जस्य र बुद्धको संदेशको प्राज्ञिक प्रवर्धनका लागि काम गरिरहेको बताए। उनले अक्सफोर्ड लगायत बेलायतका विभिन्न विश्वविद्यालयहरुमा बौद्ध धर्म र दर्शनका विषयमा पढाई भैरहेको थाहा पाउंदा आफूलाई खुसी लागेको बताउंदै ती विश्वविद्यालयहरुसंग सहकार्य गर्न आफुहरु तयार रहेको पनि बताए।


आफ्नो स्वागत मन्तव्यमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने विषयमा अब कुनै शंका नरहेको बताउंदै लुम्बिनीको योजनावद्ध विकासका लागि संयुक्त राष्ट्र संघले सघांउदै आएको जनाए।


उनले युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई विश्वकै शान्ति, अहिंसा र सहअस्तित्वको केन्द्रको रुपमा विकास गर्न नेपाल सरकारले काम गरिरहेको जनाए। उनले आउंदो वर्ष बेलायतबाट एक लाख पर्यटकहरु भित्राएर नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आव्हान पनि गरे।


लुम्बिनी क्षेत्रमा पुरातात्विक खोज गरेका ब्रिटेनको डरहम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङ्गघमले आज भन्दा १२३ वर्ष अघि सन् १८९६ मा जनरल खड्ग शमशेर तथा एलोइस एन्टन फुहररले नेतृत्व गरेको टोलीले लुम्बिनीमा सम्राट अशोकले गाडेको अशोक स्तम्भ पत्ता लगाएको बताए।

प्रकाशित : वैशाख ३०, २०७६ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?