किराती मोनालिसा

प्रदीप मेन्याङबो

सुनसरी — मोनालिसालाई पूर्वेली युवतीले लगाउने गरगहना लगाइदिँदा कस्तो देखिएला ? यहाँका चित्रकार धीरज राईले चित्रकार लियोनार्दो दा भिन्चीका त्यही विख्यात सिर्जनालाई त्यही परिकल्पनामा उतारेर नयाँ प्रयोग गरेका छन् ।

चित्रकला प्रदर्शनी अवलोकन गर्दै विद्यार्थीलगायत । तस्बिर : प्रदीप/कान्तिपुर

धरानको बुद्धचोकस्थित कवि विमल स्मृति पुस्तकालयको सभाहलमा बुधबार सम्पन्न तीनदिने कला प्रदर्शनीमा चित्रकार राईले भिन्चीकी मोनालिसालाई कानमा सुनको चेप्टे सुन, शिरबन्दी र शिरफूल, नाकमा ढुंग्री र बुलाकी, गलामा कण्ठलेसजाइदिएका हुन् । एक्रेलिक माध्यमको यो पोट्रेटमा उनले मोनालिसालाई पूर्वेली युवतीका रूपमा उतारेका हुन् । झट्ट हेर्दा लिम्बुनी जस्तै देखिने ।

‘यो एउटा कल्पना हो । धेरैले मन पनि पराए,’ प्रदर्शनी समापन क्रममा राईलेभने । उनले उक्त पोट्रेटलाई बिक्रीका लागि भने राखेनन् ।

पूर्वका चित्रकारहरूको संस्था युवा कलाकेन्द्र पूर्वाञ्चलको सहयोगमा धरान प्रज्ञा प्रतिष्ठानले चित्रकारहरूलाई थप जागरुक र प्रोत्साहित गर्ने उद्देश्यले गरेको प्रदर्शनीमा २४ कलाकारका ५५ भन्दा बढी चित्र थिए । अर्का चित्रकार सञ्जय पाण्डेले जीवित देवी मानिने कुमारीको पोट्रेट प्रदर्शनीमा राखे ।

स्वयंप्रकाश श्रेष्ठले सामाजिक एकता देखाउन एक्रेलिक पेन्टिङ प्रदर्शनी गरे । युवा कला केन्द्र पूर्वाञ्चलका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘प्रदर्शनीमा राखिएका सबै चित्र कुनै न कुनै थिममा तयार पारिएका हुन् । काठमाडौंपछि सबैभन्दा बढी चित्रकार सक्रिय भएको थलो धरान भएकाले पुराना र नयाँ चित्रकार एकसाथ जुटेका हौं ।’

लेख मगरले एक्रेलिक माध्यमबाट ल्यान्डस्केपमा प्रकृतिलाई उतारेका थिए भने प्रनोद दत्तले सहरको अद्र्ध अमूर्त भीडभाड । चित्रकार महेन्द्र राईले पनि एक्रेलिक माध्यममा चित्र बनाए । उनका समकालीन जीवन पौडेल ‘शिव’ ले सिटिस्केप थिममा धरानको घण्टाघर र आसपासलाई क्यानभासमा उतारे । मूर्तिकारसमेत रहेका पौडेलको उक्त चित्र एक्रेलिक माध्यममा थियो । आइस्था राई र पूजा श्रेष्ठलेआ–आफ्ना क्यानभासमा वाटर कलर खेलाएका थिए । श्रद्धा श्रेष्ठले बलात्कार पीडित महिलाको मानसिक अवस्थालाई पेन्टिङमा उतारेकी थिइन् ।

देवलकुमार राई, दिलकृष्ण आले, युमेनहाङ राई, भिषण परियार, सुधीर सुनुवार, शुक्रराज राई, हरिलाल उदास, मिलन तामाङ, विगेन राई, पवन राई, यशोदा सिंह लम्साल, अनुपम राई, मनीष राई, हेमन्त थापालगायतले बनाएका चित्रहरूले प्रदर्शनीलाई अर्थपुर्ण बनाएको थियो ।

धरान प्रज्ञा प्रतिष्ठानले गत असोज ६ गते गरेको चित्रकला कार्यशालामा तयार गरिएका पेन्टिङमा अन्य पनि समेटेर यो अयोजना गरेको थियो । ‘प्रदर्शनीबाट पक्कै पनि नयाँ कलाकार प्रोत्साहित हुन्छन्,’ प्रतिष्ठान अध्यक्ष अम्बिकाकुमार सम्बाहाम्फेले भने, ‘हाम्रो उद्देश्य पूरा भयो ।’

प्रकाशित : मंसिर ६, २०७५ ०८:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लिम्बू फिल्ममा ख्याली र पालाम

प्रदीप मेन्याङबो

सुनसरी — लिम्बू समुदायका लागि ख्याली र पालाम भावना व्यक्त गर्ने सांस्कृतिक माध्यम हुन् । युवायुवतीहरू ख्याली र पालामकै माध्यमबाट विपरीतलिंगीलाई फकाउने, घुक्र्याउनेदेखि आकाशका जूनतारा झारिदिनेसम्मका वाचा गर्छन् ।

लिम्बू भाषाको लघु फिल्म ‘ख्याली नु पालाम’ मा नायिका पुष्पा तिलिङ मादेन । 

सात पुस्तासम्म कुनै साइनो नलाग्ने युवायुवतीले दह्रोसँग एकअर्काका हात समाएर यालाङ गर्दै धान नाच्दा सुरिलो स्वरमा प्रेमगीत पालाम गाउँदै एकअर्कालाई फकाउने कसरत गर्छन् ।

यही लिम्बू संस्कृतिलाई आधार बनाएर फिल्म निर्देशक लोकेनसाँवाले गीतकार तथा गायिका रीता फोम्बो ठूलीको कथामा लघु लिम्बू फिल्म ‘ख्याली नु पालाम’ तयार पारेका छन् ।

फिल्ममा लिम्बू समुदायको सांस्कृतिक विरासतसँग जोडिएका पूर्वका ऐतिहासिक स्थलहरू तेह्रथुमको पोक्लाबाङ, सिम्ले, जलजले तोक्मा, आठराई संक्रान्ति बजार, म्याङलुङ, वसन्तपुर, लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्क र तीनजुरे मिल्के जलजले लगायतलाई देख्न पाइन्छ ।

‘ख्याली नु पालाम’ १५ मिनेटको छोटो फिल्म भए पनि छायांकन गर्न दुई साता लागेको निर्देशक साँवाले बताए । ‘यो फिल्म पूर्वेली लिम्बू समुदायको जीवनशैलीसँग जोडिएको सांस्कृतिक संस्कार भएकाले निकै मिहिनेत गर्नुपर्‍यो,’ उनले भने, ‘आधुनिकताले ख्याली र पालामलाई निले पनि पहाडका कुनाकाप्चामा अझै जीवित छ । ख्याली र पालाम लिम्बूले जन्मँदै लिएर आएको हुन्छ ।’

कथा र पालाम गायनमा रीता र भक्ति आङदेम्बेको स्वर सुन्न सकिन्छ । पुष्पा तिलिङ मादेन लिम्बू र दीपेन्द्र लिम्बूको मुख्य भूमिका रहेको फिल्ममा गीता फोम्बो (माइली), ओझाहाङ चेम्जोङ, युनिशा निङलेकु, निशा माङ्युङ, भावना निङ्लेकु, विमला सिङगक, आँसु सिङगक, उषा सिङगक, अभिषेक लिम्बू, विवेक लिम्बू, रोसन लिम्बू, सुदेश तुम्बाहाङफे, लीलाप्रसाद पयाङगु, रामरोति लिम्बूको पनि अभिनय छ ।
फिल्मलाई मंसिरपछि विभिन्न फेस्टिभलमा प्रदर्शन गर्ने निर्देशक साँवाले जनाए ।

प्रकाशित : कार्तिक २६, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT