कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सह्यार पर्खिंदै भित्तेचित्र

‘आफ्नो गाउँको सम्पदा ठड्याउन हामीले पाँच लाख रुपैयाँ उठाइसकेका छौँ । तर, पुरानो वास्तुकलालाई जस्ताको तस्तै राखेर आधुनिक शैलीमा गुम्बा बनाउन झन्डै एक करोड लाग्ने अनुमान छ । यत्रो पैसा कहाँबाट ल्याउनू ?’

हेलम्बु — सेर्माथाङ गाउँको टुप्पैमा छ, फिन्चोक उर्गेन छ्योलिङ गुम्बा । पाँच शताब्दी पुरानो यो गुम्बाका भित्तामा सजिएका बौद्ध चित्रहरू उत्तिकै पुराना र मूल्यवान् छन्  ।

सह्यार पर्खिंदै भित्तेचित्र

तर, भत्किएको पर्खाल, पानी चुहिने जस्तापाता यी चित्रका लागि चुनौती बनिरहेका छन् । साउनभदौमा झरी पर्दा होस् या फागुनचैतमा हुरीबतास चल्दा, हेलम्बुको यो गाउँका ६८ वर्षीय जङ्बु लामाको मन त्यसैत्यसै चिसो हुन थाल्छ । सोच्छन्, ‘कसरी बचाउने ऐतिहासिक र परम्परागत सम्पदा ?’

उनी तीन दशकदेखि यो गुम्बाका मूल लामा हुन् । हरेक बिहानको प्रार्थनासभा होस् या साँझ निम बत्ती बाल्दाको समय, उनी पुराना दिनहरू सम्झिन्छन्, जति बेला यो गुम्बा भव्य दुई तलासहित उभिएको थियो । ‘अहिले भत्किएर छाप्रोजस्तो बनेको छ,’ हालैको भेटमा उनी गुनासिए, ‘टेकोको भरमा साढे एक तला अडयाइएको छ, झरी र पानी पर्दा डर लाग्छ ।’

गुम्बाभित्र दोस्रो तलाको एकापट्टि ठूलो बुद्धको मूर्ति छ । अर्काेपट्टि बुद्धका त्यस्तै पुराना भित्तेचित्रहरू देखिन्छन् । तर, ती चित्रहरू आधा भत्किएका छन् । जङ्बुका अनुसार, गुम्बाको दोस्रो तला (हाल भत्किएको) वरिपरि पनि बुद्धका त्यस्तै पुराना र मौलिक भित्तेचित्रहरू थिए । अहिले सम्झना मात्रै ।

के हो भित्तेचित्र ?
बौद्ध परम्परामा भित्तेचित्रलाई निकै महत्त्वपूर्ण मानिन्छ । परम्परागत थाङका चित्रका विज्ञ एवं पूर्व प्राज्ञ निमा ग्याम्जो बलका अनुसार, थाङका इतिहास शुरु हुनुभन्दा अघिदेखि नै बौद्ध सम्प्रदायमा भित्तेचित्र प्रचलनमा छ । गुम्बाको इन्टेरियर डिजाइनअन्तर्गत प्रयुक्त यो अहिले बाहिरी सजावटका लागि पनि उत्तिकै प्रचलनमा छ । भारतको अजन्ता गुफादेखि चीनको गान्सु प्रान्तस्थित दुनहाङ गुफासम्म बौद्ध भित्तेचित्र फैलिएका छन्, जुन शताब्दियौं पुराना मानिन्छन् ।

‘धुनहाङ गुफामा त आठौं शताब्दीमा गुरु पद्मसम्भवले तपस्या गरेको समेत मिथ पाइन्छ,’ निमाले भने, ‘नेपालकै पुराना गुम्बाहरूको सौन्दर्य भित्तेचित्रमा आधारित देखिन्छ ।’

फिन्चोक उर्गेन छ्योलिङ गुम्बाको माथिल्ला तलाको भित्तामा भने भूकम्पअघि हजार हात र आँखा भएका अवलोकितेश्वरका चित्रहरू थिए । बौद्ध विश्वासअनुसार, छ वटा लोकका प्राणी र जीवको उद्धारका लागि अवलोकितेश्वरको हरेक हातमा एउटा एउटा आँखा हुन्छ, चित्रमा यही विश्वास वर्णित थियो । अर्काे भित्तामा गुरु पद्मसम्भवका आठ रूपको बृहत् चित्र थियो ।

‘जोगाउनै सकिएन,’ जङबु फेरि उदास भए, ‘प्राकृतिक प्रकोपको अघिल्तिर कसैको केही लागेन ।’

उनका अनुसार ह्योल्मो समुदायको परम्परागत सीप नै हो, भित्तेचित्र कोर्ने कला । कुनै समय ह्योल्मोहरूको परिचय काष्ठकला र चित्रकलामा थियो । अहिले एकाधले गरिरहेकै छन् । ‘नयाँ पुस्ताले भने खासै चासो दिइरहेको छैन,’ उनले भने, ‘सरकारको पनि यतातिर आँखा परेको छैन ।’

मिलारेपा र पद्मसम्भव
जङबुका अनुसार, सेर्माथाङ र हेलम्बु क्षेत्र पनि गुरु पद्मसम्भवकै मिथसँग जोडिन्छ । स्थानीय बासिन्दाहरू गौतम बुद्धले भविष्यवाणी गरेको र गुरु पद्मसम्भवले तपस्या गरेको पवित्र थलोका रूपमा लिन्छन् यसलाई । यो गुम्बा बनेको भने पाँच सय वर्षअघि मात्रै हो । ह्योल्मोको ‘दोङवा’ थर हुनेहरूको महत्त्वपूर्ण गुम्बा मानिने यो गुम्बा म्हेम्हे ल्हप्चन धर्पाे गुरुले बनाएका थिए, अहिले म्हेम्हेको एघारौं वंश चलिरहेको छ । स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा साङ फिन्चोक उर्गेन छ्योलिङ गुम्बाका नाममा दर्ता रहेको यो सम्पदा सेर्माथाङ गाउँकै पहिलो गुम्बा हो ।

‘सेर्माथाङ गाउँको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक व्यवस्थापन यही गुम्बाबाट चल्छ,’ जङबुले भने, ‘माघ महिनाको सोनाम ल्होसारदेखि अर्काे ल्होसारसम्मको न्हरक धोन्टुक, मनिबुम, नाह्रालगायत चाडपर्व यही गुम्बामा मनाइन्छ ।’

उनका अनुसार ‘बौद्ध महायानी तान्त्रिक विधिद्वारा यहाँ विभिन्न गुप्त निधिहरू लुकाइएका छन्’ भन्ने पनि विश्वास गरिन्छ । स्थानीयहरू त महायोगी मिलारेपाले यही ठाउँमा बुद्धत्व प्राप्त गरेको विश्वास पनि गर्छन् । सेर्माथाङकै सांस्कृतिक अनुसन्धाता टासी दोङा ह्योल्मोका अनुसार गाउँको प्राकृतिक स्रोतसाधन प्रयोग गर्न र घरमा नयाँ फर्निचर राख्न वा फेरबदल गर्न पनि गुम्बाबाटै मन्जुरी लिनुपर्ने परम्परागत कानुनहरू छन् ।

दसैं र मनिबुम
दसैंको छेकैमा प्राय: बौद्ध गुम्बामा भिन्न पूजा हुन्छ । नियमित प्रार्थनासभाबाहेक । यस्तो पूजामा सयौं शान्तिप्रेमी सहभागी हुन्छन् । लाखौं पटक मन्त्र जप्छन् । केही दिनअघि आसपासका गाउँमा दसैंको रौनकसँगै मासुका अनेक परिकारको स्वादमा मानिस रमाइरहेका बेला यो गुम्बामा भने मनिबुम पूजा भइरहेको थियो । दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले गुम्बामा चारदिने पूजा मात्रै गरेनन्, मनिबुममा १ लाख पटक मन्त्र जपे । यो मन्त्र जप्दै गर्दा जङबुलाई भने चाँपको पुरानो ढ्यांग्रोको याद आयो, जुन भूकम्पपछि उनले बजाएका छैनन् ।

‘यसलाई सुरक्षित राखिएको छ,’ उनले भने, ‘गुम्बा बनेपछि मात्रै बजाउने धोको छ । तर खै कहिले बन्ला ?’

स्थानीय बासिन्दा आफैंले पनि गुम्बा बनाउन प्रयास त गरेकै छन् । आफ्नो गाउँको मौलिक र सांस्कृतिक सम्पदा ठड्याउन उनीहरूले पाँच लाख रुपैयाँ पनि उठाइसकेका छन् । ‘तर, पुरानो वास्तुकलालाई जस्ताको तस्तै राखेर आधुनिक शैलीमा गुम्बा बनाउन झन्डै एक करोड लाग्ने अनुमान छ,’ उनले भने, ‘यत्रो पैसा कहाँबाट ल्याउनु ?’

गुम्बा एक सपना
यतिखेर जङबुलाई नयाँ गुम्बा सपनाजस्तै बनेको छ । भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि उनी जिल्ला सदरमुकाम चौताराका सम्बन्धित कार्यालयहरू र गुठी संस्थानमा पटकपटक धाए । स्थानीय विकास मन्त्रालयमा भग्न गुम्बाको तस्बिरसहित क्षति विवरण पनि बुझाए । तर अहिलेसम्म कहीँकतैबाट सोधीखोजी भएको छैन । आश्वासन पनि मिलेको छैन । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति र पुनर्निर्माण प्राधिकरणबीच कसले काम गर्ने भन्ने विवादको मारमा पनि आफूहरू परेको जङबुको आरोप छ ।

‘दुई निकायबीच द्वन्द्व चर्कियो, त्यसको मारमा हामी परिरहेका छौँ,’ उनको आरोप छ, ‘पुनर्निर्माण प्राधिकरणले घर र स्कुल ठडयाउनतिर मात्रै सोच्यो, सांस्कृतिक सम्पदालाई पाखामा राख्यो ।’

हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले पुनर्निर्माणका लागि पहल गरे पनि काम हुन नसकेको दाबी गरे । गाउँँपालिकाभित्र मात्रै ६० गुम्बा छन् । ‘हेलम्बु गुम्बैगुम्बाको सहरजस्तै लाग्छ,’ उनले भने, ‘तर प्रक्रियागत ढिलाइको कारणले सम्पदा संरक्षणको काम अघि बढ्न सकेको छैन । गुम्बाकै लागि आएको बजेट पनि फ्रिज भएको छ ।’

प्रकाशित : कार्तिक ९, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?