२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नाटकमा राजनीति खोई ?

काठमाडौँ — पछिल्लो समय नेपाली रंगमञ्चमा विचारतत्त्व कमजोर बन्दै गएको युवा रंगकर्मीहरूले औंल्याएका छन् ।

नाटकमा राजनीति खोई ?

मण्डला थिएटरमा बुधबार आयोजित अन्तरक्रियाका क्रममा युवा रंगकर्मी केदार श्रेष्ठले अहिले नेपाली नाटकहरूमा विचारकै पक्ष खड्कने गरेको बताए । ‘हामी राजनीति भन्ने बित्तिकै राजनीतिक पार्टी बुझ्छौँ,’ उनले भने, ‘यो त विचार हो, सिद्धान्त हो । जुन नाटकमा छैन ।’

कला विचारबाटै निर्देशित हुने हुँदा कुनै निश्चित विचारप्रति निर्देशक स्पष्ट हुनुपर्ने र त्यसलाई नाटकमा उतार्नुपर्ने उनको भनाइ थियो । ‘निर्देशकको विचारमा सबै सहमत हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘यो एउटा चुनौती हो । तर यसले गर्दा नाटकमा उठाएका विषय र विचारमाथि बहस हुने अवस्था सिर्जना हुन्छ ।’

अन्तरक्रियामा युवा रंगकर्मीहरू पशुपति राई, आकांक्षा कार्की र चेतन आङयुपो सहभागी थिए । उनीहरू मण्डलाले गतवर्ष भदौमा गरेको तीनहप्ते कार्यशाला र हालै पोखरामा सम्पन्न त्यसको दोस्रो संस्करणमा समेत सहभागी थिए ।

कार्यशालापछि दर्जन निर्देशक मिलेर नाटक ‘खबर हराएको चिठी’ तयार पारेका थिए, जुन यति बेला मण्डलामा नियमित मञ्चन भइरहेको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका नागरिकहरू तथा तीनको परिवारले भोगिरहेका चार फरक कथा जोडेर नाटक तयार पारिएको हो ।

अन्तरक्रियाका क्रममा पशुपतिले नाटक देखाउनुभन्दा पहिले निर्देशक आफैंले पनि राजनीतिक, सामाजिक विषयवस्तुहरू खोज्नुपर्नेमा जोड दिइन् । ‘हामी जे देखाउँदै छौँ, पहिले हामी आफैं त्यसमा पूर्ण ज्ञान हुनुपर्छ,’ उनले भनिन् ।

पशुपतिको भनाइमा सहमत हुँदै श्रीजन दाहालले अहिलेका नाटककार र निर्देशकहरू आत्मरतिमा रमाइरहेको आरोप लाए । ‘बाहिर के भइरहेको छ हामीलाई थाहै हुन्न,’ उनले नाटक खबर हराएको चिठी तयार पार्दाका क्षणहरू सम्झिँदै भने, ‘यो नाटकको लागि जब बेपत्ता नागरिकको बारेमा खोज्न थाल्यौँ, हामीलाई त केही नै थाहा रहेनछ भन्ने भयो ।’ रंगकर्मी आकांक्षाका अनुसार कुनै पनि गहन विषयवस्तुलाई उठाउँदा त्यसमा संघर्षका साथसाथै लुकेका भित्री कुरालाई पनि ल्याउनुपर्नेहुन्छ ।

उनले १७ वर्षअघि पति बेपत्ता भएकी महिलाको उदाहरण दिँदै भनिन्, ‘उहाँले पति बेपत्ता भएपछि संघर्ष गरेर छोरीहरूलाई पढाउनुभयो, अहिले आफु पनि काम गर्दै हुनुहुन्छ । तर जहिले पनि सञ्चारमाध्यम र अन्य क्षेत्रमा उनीहरूले भोगेको दु:ख र पीडा मात्रै आयो, उनीहरूको सामथ्र्य, संघर्ष आएन ।’

नाटक ‘खबर हराएको चिठी’ मा केदार, पशुपति, सिजन, चेतन, आंकाक्षालगायत सामुहिक काम गर्नेमा चे शंकर, सुदाम सिके, किरण चाम्लिङ राई, परिवर्तन, पत्रिका घिमिरे, रेनुका कार्की, र सोनाम लामा छन् । नाटक २४ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?