पिकासोको नक्कल

काठमाडौँ — चित्र कोर्नेहरू हरेकको सपना हुन्छ, पाब्लो पिकासो जस्तै प्रख्यात बन्ने । १८ औं शताब्दीका यी विश्वविख्यात चित्रकारलाई पच्छयाउने आधुनिक पुस्ताका नेपाली चित्रकाहरू थुप्रै छन् ।

पिकासोको नक्कल

तीमध्ये एक हुन्, ललितकलामा स्नातकोत्तर गरेका उपकार घमाल । उनी पिकासोका जबर्जस्त फयान हुन् । कलेज अध्ययनकै क्रममा पढ्नुपर्ने विषयमा परे पनि उनी पिकासोका हरेक आनीबानी गुगल सर्च गरेर हेर्छन् । ‘पिकासोको रंग संयोजन निकै गहिराइका साथ अध्ययन गर्न मन लाग्छ,’ उनले भने । यतिसम्म कि केही चित्र त क्यानभासमै कपीसमेत गरेका छन् उनले ।

केही साताअघि भने उपकार लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा पिकासोले बनाएका चित्र क्यानभासमा उतार्दै थिए । ग्यालरीका प्रमुख तथा कला समीक्षक रमेश खनालले अमेरिकाबाट पिकासोका स्टिकर साइजका चित्रका प्रतिलिपि ल्याएका थिए, जसलाई उपकार लगायत सात युवा चित्रकारहरूले नक्कल गरे ।

एक साइडमा बसिरहेकी युवतीको आकृतिलाई उपकारले दुइटा हात एकैचोटि चलाएर दुवै साइडमा आकृति बनाए । ‘पिकासो एउटै हातले काम गर्थे, मचाहिँ दुवै हातले कुची चलाउँछु,’ उनले भने, ‘तर, उनको नक्कल उतार्नु पनि निकै गार्‍हो काम रहेछ ।’ पिकासोले कस्तो रंग चलाउँथेभन्दा पनि उनको सोचबाट आफू प्रभावित भएको उपकारले बताए । अरूले जे गरेका छन्, त्यसको ठीक विपरीत कलाकर्म गर्ने पिकासोको स्वभाव पनि उपकारलाई मन पर्छ ।

ब्याचलर्स अफ आर्ट (बीएफए) दोस्रो वर्ष अध्ययनरत प्रज्ञा नकर्मी पनि पिकासोका फयान हुन् । हालैको दिन उनी पनि पिकासोको चित्रको नक्कल गर्ने क्रममा थिइन् । तर, चित्र हेरेर क्यानभासमा उतार्न उनलाई झन्डै ६ घण्टा लाग्यो । पिकासोका चित्र हेर्दा जति सजिलो र सरल देखिन्छ बनाउँदा उति नै कठिन भएको प्रज्ञाको अनुभव छ । ‘सायद, यही नै पिकासोको कामको विशेषता होला,’ उनले भनिन्, ‘उनको आफ्नै शैली छ, त्यसलाई कपी गर्नै सकिँदैन ।’

बीएफए दोस्रो वर्षकै विद्यार्थी मनीषा डंगोल भने पिकासोबारे सुनेकी मात्रै थिइन् । उनको काम कस्तो छ ? गुगल सर्च गरेरसम्म उनले हेर्न भ्याएकी थिइन् । तर, जब ग्यालरीमा पिकासोका चित्र हेरिन्, त्यसपछि उनलाई अनौठो लाग्यो । ‘सधैं देखिरहेको भन्दा निकै बेग्लै चित्र देखेझैं लाग्यो,’ उनले भनिन्, ‘पिकासोबारे सुन्नु र उनका काम प्रत्यक्ष हेर्नुमा धेरै फरक रहेछ ।’

उनले पिकासोको चित्रबाट कुर्सीमा बस्दै गरेकी महिलाको आकृति आफ्नो क्यानभासमा उतारिन् । चित्र बनाइसकेपछि पिकासोको प्रिन्ट चित्र र आफूले बनाएको वास्तविक चित्र दाँजिन् । ‘रंग संयोजन र स्केचको रेखामा निकै मिहिनेत गर्नुपर्ने रहेछ,’ उनले भनिन् ।

यसरी पिकासोका चित्र बनाउनेमा सुजिता चौधरी, शर्मिला तामाङ, तीर्थकुमारी सुनुवार, चिरञ्जीवी श्रेष्ठ लगायत थिए । रमेशका अनुसार पिकासोका चित्र हेरेर क्यानभासमा उतार्न सक्नु भनेको आफैंमा ठूलो साधना हो ।

ललितकलाका विद्यार्थीले कलाको इतिहास अध्ययन गर्न आवश्यक रहेको जनाउँदै उनले ग्यालरीमा पिकासोको चित्रमाथि कार्यशाला गरेका थिए ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?