कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

धुलिखेलबाट जेसुम यात्रा

काठमाडौँ — क्षिजितमा हल्का हुस्सु, हरिया डाँडाकाँडा अनि हुस्सुमुनि झुरुप्प बस्ती । धुलिखेलको देवीस्थान डाँडाबाट चित्रकार केशवराज खनालले ड्रइङ पेपरमा वाटर कलर पोत्दै भने, ‘हुस्सुमुनिको यी घरहरूमा अझ रंग पोत्न बाँकी छ, काठमाडौं फर्केपछि थप चम्काउँछु ।’

धुलिखेलबाट जेसुम यात्रा

यसपछि उनले दृश्यको फ्रन्टल पार्टमा केही हरिया रूख उभ्याए । अब जंगलको बीच एउटा सुन्दर गाउँ देखियो । ‘मुलुकको समृद्धि गाउँबाट आउनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले ब्रस थन्काउँदै भने, ‘किन भने गाउँमै नेपालीपन छ, संस्कृति र लोकसाहित्य छन्, गीत र संगीत सबै सबै छन् ।’ मौलिकता जोगाएर आधुनिक विकासतिर लम्किन पाए ‘आफ्नोपनसहितको समृद्धि’ आउने तर्क थियो उनको ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) को अध्यक्षसमेत रहेका खनालले यसो भन्दै गर्दा छेवैमा कवि अनिता लामा ‘समृद्धि’ थिममै कविता सुनाउँदै थिइन् । ‘बिर्खबहादुर माझी’ शीर्षकको कवितामा उनले मुलुकको समृद्धिका सर्तहरू औंल्याइन्–

बनाम्ला नि रेल गुड्ने बाटो चील कहिल्यै नठोक्ने एयरपोर्ट मिथिन ग्यासको पाइपलाइन तर पहिले निभोस् न टुकी, बलोस् न चुल्हो धेरै बिर्खबहादुर र बिर्खबहादुरहरूको
अनितासँगै स्रष्टाहरू दिनमान गुर्माछान, नरेन्द्रकुमार नगरकोटी, बाबु साइँलालगायतले कविता सुनाए । यही बेला हतार–हतार ड्रइङ पेपर निकाले चित्रकार लालकाजी लामाले ।

जुगल हिमाललाई पछाडि पार्दै उनी महाभारत पर्वत शृंखलातिर फर्के, जहाँ बादल मडारिरहेको थियो । पेन्सिल निकालेर उनले ल्यान्डस्केपका लागि स्केच कोरे । अचम्म † उनको फ्रेमभित्र मडारिरहेको बादल आठौं शताब्दीको गुरु पद्मसम्भवको समयको जस्तै थियो, जुन प्रभाव अहिले पनि परम्परागत थाङका चित्रले ग्रहण गर्दै आइरहेको छ ।

‘थाङका पौभा त नेपाली कलाको गहना नै हो नि,’ उनले भने, ‘यसको प्रवद्र्धन पनि त आखिर समृद्धिकै एउटा पाटो हो ।’ पछिल्लो समय आधुनिक चित्रमा थाङका प्रभावलाई फयुजन गर्दै आएका लालकाजीलाई समर्थन जनाए चित्रकार देवेन्द्र थुम्केली र एनबी गुरुङले । वाटर कलर सोसाइटीका नेपाल च्याप्टर अध्यक्षसमेत रहेका एनबी भने दृश्यपानमै रमाए ।

शनिबार बिहानै धुलिखेलस्थित हजार सिँढी उक्लेर हाइकिङ गर्दै पुगेका साहित्यकार र चित्रकारहरूको टोली खासमा अनौपचारिक मुडमै थिए । कवि अनिताले केही औपचारिक घोषणा गर्न चाहिन् । ‘पछिल्लो समय समाजमा गाली संस्कृति र नकारात्मक भावको मात्रै बढोत्तरी भइरहेको पाउँछौं,’ उनले भनिन्, ‘अरूले जेसुकै गरून्, तर हामी केही सकारात्मक सोचौं । सहकार्य र सद्भावको मनोविज्ञान विकास गर्न कला, साहित्य र रंगमञ्चको क्षेत्रबाट सघाऔंँ ।’ हिमाल, तेमालदेखि महाभारत पर्वत शृंखलासम्मको दृश्यपान भइरहेको बेला उनले एउटा शब्द उचारण गरिन्, ‘जेसुम’ ।

जेसुम अर्थात् तामाङ भाषामा शोभा, गहना, सौन्दर्य या पहिचान । चित्रकार, साहित्यकार र युवा रंगकर्मी समेटेर महिनामा एकपटक हाइकिङ गर्दै सिर्जना गर्ने यो स्वतन्त्र अभियानलाई सबैले ताली बजाए । त्यसपछि धुलिखेलका मेयर अशोक व्याञ्जुलाई सम्झे । बिहानको भेटघाटमा उनले भनेका थिए, ‘यही थलोमा कथाकार गुरुप्रसाद मैनालीको सालिकसहित सिर्जना कुञ्ज बनाउँदै छौं ।’

यसपछि स्रष्टाहरू धुलिखेल डाँडालाई एकफन्को मारेर भट्टेडाँडा झरे । बाटैमा थियो, तामाङको होमस्टे । होमस्टेको गुन्द्री र सुकुलमा पलेँटी मोरेर दाल, भात, तरकारी खाएपछि समूहबीचमै घोषणा भयो, ‘अर्को यात्राचाहिँ सुन्दरीजल ।’

प्रकाशित : भाद्र १७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?