१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डिजिटल देवशमशेर

काठमाडौँ — एक हप्ताअघिसम्म दिल्लीको भिजुअल आर्ट ग्यालरी, इन्डिया रिहयाबिटाट सेन्टरमा नेपालका राणा प्रधानमन्त्री देवशमशेर र उनको परिवारका ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएका थिए ।

डिजिटल देवशमशेर

‘निर्वासनमा : पोट्रेट अफ अ लाइफ इन एक्जाइल थ्रु चेन्जिङ भ्युफाइन्डर्स’ शीर्षक प्रदर्शनीमा देवशमशेरका ८० तस्बिर थिए ।

देवशमशेरको पाँचौं पुस्ता जो देहरादूनमा बस्दै आएका छन्, उनीहरूबाट कसरी तस्बिर प्राप्त भए भन्नेबारे स्थानीय पत्रिका ‘इन्डियन एक्सप्रेस’ ले लामै आलेख प्रकाशन गरेको छ । बीसौं शताब्दीका दर्जनौं फोटा भेला पारेर राख्नुपर्दा आफू दिक्क भएको इरा सिंहले पत्रिकालाई बताएकी छन् । इराले आफ्नी हजुरआमा भुवनकुमारी देवी र जिजु हजुरबुबा देवशमशेरका तस्बिर मिल्काउन आँटेकी रहिछन् ।

‘व्यर्थका चीज (रबिस),’ उनी भन्छिन्, ‘जिउँदा मान्छेको तस्बिर भए जति पनि ठाउँ दिन सकिन्थ्यो । तर, मृतकलाई कतिन्जेल सजाउनु !’

भुवनकुमारी देवी ।

लेखकसमेत रहेकी इराकी छोरी ईशा सिंह साहनीले इन्डिया फोटो आर्काइभ फाउन्डेसनका आदित्य आर्यालाई तस्बिरबारे बताएपछि देवशमशेर र भुवनकुमारीका तस्बिरले ‘पुनर्जन्म’ पाएका हुन् । सन् २०१४ मा स्थापित संस्थाले देवशमशेरका तस्बिर रेस्क्यु गरेको ‘इन्डियन एक्सप्रेस’ मा उल्लेख छ । विश्व फोटोग्राफी दिवसको सन्दर्भ पारी अगस्ट १९ मा देवशमशेरका समेत गरी अन्य आठ सय तस्बिर प्रदर्शनीमा राखिएका थिए ।

जम्मा ११४ दिन मात्र पदमा रहेका देवलाई राणा प्रधानमन्त्रीमध्ये सबैभन्दा उदार र प्रजातान्त्रिक मानिन्छ । समाज रूपान्तरणमा संलग्न उनलाई पदच्युत गरेर निर्वासित गराइएको थियो । उनी आफ्ना सात सन्तानसहित देहरादूनको मसुरीस्थित फेयरलाउन दरबारमा बसेका थिए । उनका सन्ततिहरू अहिले आफूलाई ‘रोयल्टी’ भनेर सम्बोधन गर्दा हाँस्दै निधार खुम्च्याउने गरेको तनुश्री घोषले उक्त लेखमा आर्टिकलमा उल्लेख गरेकी छन् ।

तस्बिर मर्म
देवशमशेर आफ्ना कुनै पनि तस्बिरमा मुस्कुराएका छैनन् । पत्नी र भाइ चन्द्रशमशेरसमेत हँसिलो अनुहारमा छैनन् । बरु, देवका सात भाइ छोरा हयाप्पी मुडमा देखिका छन् । टाउकामा सारीको सप्को ओढेर घैलाजस्तो देखिने भाँडो बोक्दै गरेकी भुवनकुमारीको तस्बिरलाई ‘इन्डियन एक्सप्रेस’ ले सत्यजित रेका हिरोइनसँग तुलना गरेको छ ।

हातैले सफा गरेर हाई रेजोलुसनमा स्क्यान गरिएका तस्बिरको मूल प्रति जस्ताको तस्तै राखिएको फोटो आर्काइभका आदित्यले बताएका छन् । ‘पोलिस्टरको आर्काइभल ब्यागमा राख्नेछौं,’ उनले भनेका छन्, ‘डिजिटल कपी प्रदर्शनीमा राखिएको हो । यसमा सुधार गरिएको छ । तर, म्यानिपुलेसन छैन ।’ सेता धब्बा, दाग र खुइलिएको रङ जस्ताको तस्तै राखिएको छ । एनालग युगको प्रमाण मेटाउन नखोजेको आदित्यले जनाए ।

देवशमशेरले नै प्रकाशन सुरु गरेको ‘गोरखापत्र’ का केही प्रति पनि आदित्यहरूले रेस्टोर गरेका छन् । ‘यो १९०१ को फोटो हो,’ राजकीय पोशाकमा सजिएका देवशमशेरको तस्बिरबारे आदित्यले भनेका छन्, ‘हेर्नुस्, कति भव्य छ !’ तस्बिरमा देव श्रीमतीसँगै देखिएका छन् जो भिक्टोरियन गाउनमा छिन् । देवको श्रीपेच आकर्षक लाग्छ ।

शमशेर परिवार आफ्नो हास्यचेतका लागि नामुद रहेको ईशाकी काकी मञ्जेश्री राज्यलक्ष्मी राणाले बताएकी छन् । ‘केटाहरू जम्मा भएका बेला केटीको र केटीहरू केटाको पोसाक लगाएर ठट्टा गर्थे,’ श्री ३ महाराज देवशमशेर जंगबहादुर राणा प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी मञ्जेश्रीले भनेकी छन्, ‘तिनको सेन्स अफ हयुमर गजब मानिन्थ्यो ।’ प्रदर्शनीका लागि दिल्ली पुगेकी उनले देवशमशेरको तस्बिर समाविष्ट हुलाक टिकट साथ लगेकी थिइन् ।

‘आदित्यले हाम्रो संग्रहलाई नयाँ जीवन दिए,’ देवशमशेरकी पाँचांै पुस्ताकी नातिनी इरा सिंह भन्छिन्, ‘तर, यी फेरि फर्किएर मेरो घरमा आए म यिनलाई रबिस नै मान्छु ।’

प्रकाशित : भाद्र १६, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?