१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

‘मलाई थाहा छ, तिमीलाई के चाहिन्छ ?’

कान्तिपुर संवाददाता

पुुल्चोक — ‘मलाई थाहा छ, तिमीलाई के चाहिन्छ ?’ यिनै शब्दहरूसहित कालो प्लेकार्ड बोकेर चित्रकार अस्मिना रञ्जित अघिल्तिर उभिइन् । उनको पर्फमेन्स आर्ट हेर्न भेला भएकाबीच कानेखुसी चल्यो । धेरैले धेरैथरी अड्लबाजी गरे ।

‘मलाई थाहा छ, तिमीलाई के चाहिन्छ ?’

शनिबार बखुन्डोलस्थित नेक्सस सेन्टर नेपाल (लसना) मा अस्मिना भने हाम्रै समाज, राजनीति र संस्कृतिमा व्याप्त एउटा प्रवृत्तिमाथि व्यंग्य कस्दै थिइन् । सम्बन्धित व्यक्ति या समुदायको भावना बुझदै नबुुझी जबर्जस्ती बुुझेको आवास दिलाउने नेता, सरकार र व्यक्ति विशेषको प्रवृत्तिमाथि अस्मिनाले पर्फमेन्स आर्टमार्फत झँटारो हानेकी हुन् ।

एक सातादेखि जारी पर्फमेन्स आर्टअन्तर्गत शनिबार छैटौंं दिन अस्मिनाले ‘भ्वाइस (लेस)’ थिममा करिब एक घण्टा निरन्तर प्रस्तुति दिएकी हुन्, जहाँ थुप्रै रंगीन कागजमा दर्शकले आफ्नो चाहना लेखेरे उनलाई दिने गर्थे । कालै पहिरनमा उजिएकी अस्मिनाले कालो प्लेकार्डमा एउटै वाक्य लेखेर पठाउँथिन्, ‘मलाई थाहा छ, तिमीलाई के चाहिन्छ ?’

‘आर्ट स्पेस अस्ट्रेलिया’, ले साउथ एसिया भरका ५२ कलाकारका ५२ काम पस्किने योजनाअन्तर्गत अस्मिनाले पर्फमेन्स गरेकी हुुन् । यसअन्तर्गत उनले एक हप्ताभर विभिन्न थिममा गतिविधि गरिन् । हरेक दिन देखाएका प्रस्तुतिलाई इन्स्ट्राग्राम र सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय पहुँच पुर्‍याउने गरी प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो । विश्वभरका कलाप्रेमीले एकसाथ उनको कला नियालेका थिए ।

दक्षिण एसियाका ५२ कलाकारका काम हेर्दा प्राय: सबै जनाले आफू केन्द्रित सिर्जना बनाएका छन् । अस्मिनाले भने पर्फमेन्स आर्ट भनेकै सामूहिक रूपमा गरिने कला रहेको दाबी गर्दै यसमा धेरै कलाकार र व्यक्तिहरूलाई सहभागी गराउँदै आएकी छन् । पर्फमेन्स आर्टलाई सामाजिक अभियानहरूमा समेत अर्थपूर्ण रूपमा प्रयोग गर्न सकिने भएकाले सकेसम्म समूहमा हुनुपर्ने उनको धारणा छ ।

पहिलो दिन उनले बालबालिकालाई नाटक प्रस्तुत गर्न लगाउँदै उनीहरूको मनोभावलाई स्थान दिइन् भने दोस्रो दिन फिल्म प्रदर्शनी गरिन् । ‘सुनगाभा’, ‘इन्स्पाइरेसनल पिपुल फ्रम नेपाल’ र ‘सीता सिङस् अफ ब्लुुज’ गरी भिन्नभिन्नै थिमका तीन फिल्म उनले देखाएकी थिइन् । शुक्रबारचाहिँ उनले अहिलेको ताजा विषय बनिरहेको डा. गोविन्द केसीको अनशनका सन्दर्भ जोडेकी थिइन् । सास फेर्न गाह्रो भएको भाव झल्काउन उनले अक्सिजन माक्स प्रयोग गरेकी थिइन् ।

आइतबार एकहप्ते कला यात्राले बिट मार्दै छ । समापनको दिन उनी विभिन्न स्थानबाट आएका महिला एक ठाउँ राखेर गोलमेच सम्मेलन गर्ने योजनामा छिन् । ‘यस्तो गोलमेच कि कुनै पनि मेच पदीय हिसाबले तलमाथि हुने छैन,’ उनले भनिन्, ‘एकै ठाउँ सबै जना समान हैसियतमा बस्नेछन् । र, समान हैसियतमै उनीहरूले आ–आफ्ना मत राख्नेछन् ।’

पर्फमेन्स आर्ट किन ?
शनिबार झन्डै एक घण्टाको पर्फमेन्स आर्टमा सहभागीमध्ये कतिले ध्यान गरेको जस्तै आनन्दको अनुुभूति गरे, कतिले चाहिँ के गरेको हो बुुझ्नै सकेनन् । धेरैले अस्मिनालाई ‘के भन्न खोजेको हो ?’ भन्दै जिज्ञासा राखेका थिए ।

सन् २००० देखि निरन्तर पर्फमेन्स आर्ट देखाउनै आएकी अस्मिनाले यस्तो आर्ट फर्ममा बुुझ्ने र नबुुझ्ने दुवै दर्शक भेटिने बताइन् । ‘पहिलो पटक हेर्ने त झनै ठम्याउँनै सक्दैनन्,’ उनले भनिन्, ‘यो शरीरको हाउभाउ देखेर महसुुस गर्ने दृश्यकला हो ।’ चित्रकलादेखि इन्स्टालेसन आर्ट हुँदै पर्फमेन्स आर्टसम्म अनुवभ बटुुलेकी अस्मिनाले कलाको फराकिलो रूप भनेकै पर्फमेन्स आर्ट भएको दाबी गरिन् । ‘खुलेर भन्न सक्ने क्यानभास नै पर्फमेन्स आर्ट हो,’ उनी भन्छिन् ।

अस्मिनाको पर्फमेन्स आर्टको प्रत्यक्ष दर्शक बनेका चित्रकार कपिलमणि दीक्षित निकै रमाएका थिए । उनले आफ्नी छोरीलाई बारम्बार पर्फमेन्स आर्टका गतिविधिमा संलग्न हुन प्रेरणा पनि दिइरहेका थिए । दर्शकले कलाकारसँगै भावना पस्किन सक्ने रमाइलो प्लेटर्फम पफमेन्स आर्ट हुने हुँदा कपिल यसप्रति प्रभावित भएका हुुुन् । कहिलेकाहीँ कलाकारको विचार अमूर्त चित्र जस्तो भइदिन्छ । त्यति बेला विषय बुुझ्न गाह्रो भएर पर्फमर स्वयंलाई सोध्नुपर्ने स्थिति आउने कपिलले सुनाए ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?