थाङ्का–पौभामा संस्कृति

सुनीता साखकर्मी

काठमाडौँ — नेपालमा पौभा र थाङ्का कला कहिले सुरु भयो भन्ने ठयाक्कै प्रमाण छैन । तर सयौं वर्षदेखि बुद्धको जीवन र उनका उपदेशहरूलाई विम्ब र प्रतीकमा उतार्दै विशेष कपडामा पौभा र थाङ्का लेख्ने गरिन्छ ।

थाङ्का–पौभामा संस्कृति

पुस्तान्तरणको माध्यमबाट हस्तान्तरण हुँदै आएका पौभा चित्रकला अहिले धार्मिक रूपमा मात्रै नभई व्यावसायिक रूपमा पनि महत्त्वपूर्ण बन्दै गइरहेका छन् । एक हप्तादेखि परम्परागत शैलीमा बनाइएका पौभा चित्रहरू ‘सेक्रेड सर्भाइभल’ शीर्षकमा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका छन् ।

कलाकार एवं फुलब्राइट अनुसन्धाता माइकल गोर्डनको व्यवस्थापनमा कलाकारहरू लोक चित्रकार, मुना मोक्तान, तेन्जिन नोर्बु, भीम थापा, सोनाम डोल्मा तामाङ, तुलाराम लामा र कर्मा रिन्छेन गुरुङले बनाएका दस पौभा चित्रहरू प्रदर्शनीमा राखिएका हुन् । पछिल्लो समय पौभा चित्रको नाममा मानिस ठगिने गरेकाले कसरी परम्परागत रूपमा पौभा चित्र बनाइन्छ भनेर थाहा दिन प्रदर्शनी गरेको माइकलले बताए ।

‘ठमेलमा पौभा चित्र किन्न गयो भने पसलेले यो चित्र तिब्बतका भिक्षुहरूले हिमालका बहुमूल्य पत्थर पिसेर बनाएका रंगको प्रयोगले बनाएको भनेर महँगोमा बेच्छन्,’ उनले भने, ‘खासमा त्यो पौभा र थाङ्का चित्र सस्ता पोस्टर कलर प्रयोग गरेर बौद्ध र भक्तपुरमा तामाङ, गुरुङ र नेवारहरूले बनाउने गरेका छन् ।’ ती पेन्टिङ फयाक्ट्री पनि मान्यता प्राप्त नहुने उनले दाबी गरे । परम्परागत शैलीमै पौभा बनाइरहेका तुलारामको उदाहरण दिँदै भने, ‘तुलारामले पसलेलाई ६ हजार ४ सयमा थाङ्का चित्र बेचे, पसलेले विदेशीलाई ७८ हजारमा त्यही चित्र बेचे । तर तुलारामले नाफा पनि पाएनन् ।’ यस्तो प्रक्रियाले गर्दा बनाउनेसँगै किन्ने पनि ठगिने गरेको माइकलको निष्कर्ष छ ।

कतिपय चित्रकारले असंवेदनशील रूपमा चित्र बनाएर सस्तोमा बिक्री गर्दै आएको उनको आरोप छ । कलाकारले चित्र आफ्नो लागि कि समाजका लागि बनाएका हुन् भन्नेबारे ध्यान दिएर सोच्नुपर्नेमा उनले जोड दिए । चित्र प्रदर्शनीमा राख्नुका साथै माइकलले ती कलाकारको परिचय र उनीहरूले बाँच्नका लागि गरिरहेको संघर्ष समेटेर पुस्तक पनि निकालेका छन्, जुन ग्यालरीमा बिक्रीमा राखिएका छन् । पुस्तकमा कलाकारहरूले कसरी पौभा चित्र कोरेर जीविकोपार्जन गरिरहेका छन् भन्ने देख्न सकिन्छ । प्रदर्शित चित्र कसरी बनेका हुन् भन्ने त्यति हेर्न पाइँदैन । तर ग्यालरीमा प्रदर्शित पौभा चित्र कसरी बनेका हुन् भन्ने हेर्न पनि पाइन्छ । ग्यालरीको भुइँतल्लामा चित्र प्रदर्शित छन् भने पहिलो तल्लामा चारवटा प्रोजेक्टरमार्फत ती चित्र चित्रकारले कसरी बनाएका हुन् भनेर भिडियोमै देखाइएको छ ।

थाङ्का र पौभाचित्र नेपालमा खास गरेर तामाङ, नेवार, शेर्पा, गुरुङ आदि समुदायले बनाउँदै आएका छन् । पछिल्लो समय पौभामा इम्प्रोभाइजेसनसमेत हुन थालेको चित्रकार एवं कला समीक्षक मदन चित्रकारले बताए । तर पौभा चित्रको बदलिरहेको टेस्ट र स्टाइलले पौभा चित्रकारितालाई अनुत्तरित प्रश्नतिर धकेलिरहेको उनले दाबी गरे । ‘पौभा चित्रको भविष्यमा विषयगत क्षेत्र कस्ता हुनेछन् ?, यसको सम्भावित मार्केट कहाँकहाँ हुनेछन् ? र कसरी कलाकारले आफ्नो आर्थिक अवस्था सुधार गर्न सक्छ ? भन्ने प्रश्नबारे सोच्न जरुरी छ,’ उनले भने, ‘यसका लागि गहिराइमा गएर शैक्षिक रूपमा पौभा चित्रको सामाजिक र आर्थिक प्रभावबारे अध्ययन गर्न जरुरी छ ।’

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?