१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पोखरामा ‘जिउँदो आकाश’

दीपक परियार

लेखनाथ — पोखराका कलापारखीले गतिलो नाटक हेर्ने अवसर बल्ल जुर्दै छ । गएको फागुनबाट गैह्रापाटनमा पोखरा थिएटर सञ्चालनमा आएदेखि एकपछि अर्को उत्कृष्ट नाटक मञ्चन भइरहेका छन् ।

पोखरामा ‘जिउँदो आकाश’

त्यही मेसोमा थपिएको छ ‘जिउँदो आकाश’ । काठमाडौंमा लोकप्रियता पाइसकेको नाटकको मञ्चन शनिबारदेखि थिएटरको गन्धर्व नाटकघरमा सुरु भएको छ । नाटकलाई काठमाडौंको साइलेन्ट एक्टले प्रस्तुत गरेको हो । आरके मेहता रोशनको परिकल्पना र निर्देशन रहेको नाटक चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् ।

यौनिक अल्पसंख्यकको विषयवस्तुमा बनेको नाटकमा अनिल सुब्बाले एकल अभिनय गरेका छन् । जन्मले पुरुष भए पनि महिला मन बोकेर हुर्केको पात्रका रूपमा उनको अभिनय अब्बल छ । तेस्रोलिंगीको बालापनदेखि युवाअवस्थासम्मका आरोहअवरोहलाई एक घण्टाको नाटकमा उनले जीवन्त रूपमा उतारेका छन् ।

तेस्रोलिंगीलाई परिवार, समाज, साथीसंगी, इष्टमित्रले हेर्ने नजर, पाइला–पाइलामा उनीहरूले भोग्ने पीडालाई नाटकमा प्रस्तुत गरिएको छ । २०७३ जेठमा नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको आयोजनामा दोलखामा भएको नाटक महोत्सवमा यो नाटक पहिलोपल्ट मञ्चन भएको थियो । निर्देशक आफैं कलाकार बनेका थिए । पछि काठमाडौंमा नियमित मञ्चन गर्ने टिमको योजना बन्यो । मञ्चमा अनिल सुब्बा पक्का भए । फलस्वरूप २०७४ साउन १३ देखि २१ र पुन: फागुन ११ देखि २० सम्म सर्वनाम थिएटरमा मञ्चन भयो । भारतको सांस्कृतिक मन्त्रालयले गरेको आठौं अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा सहभागी हुने अवसर पनि यो नाटकले पायो । फागुन २८ मा भारतको गुवाहाटी र ३० मा दिल्लीको राष्ट्रिय नाटय विद्यालयको अभिमञ्चमा पनि यो नाटक मञ्चन भएको थियो ।

प्रिमियर सो पछि प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले नाटकले जीवनको विशिष्ट एउटा कोणलाई उजागर गरेको बताए । ‘धेरै प्रयोगवादी सामाजिक नाटकमा एकल अभिनयको परम्परा अहिले पनि बस्न सकेको छैन,’ उनले भने, ‘नेपाली रंगमञ्च र साहित्यमा तेस्रोलिंगीका विषय अझै लेखिन जरुरी छ ।’ गहन विषयलाई बुझाउँदै दर्शकलाई स्तब्ध पार्न कलाकारले गरेको प्रयास उत्कृष्ट रहेको उनको भनाइ थियो । प्रदेश ४ का सांसद दीपक कोइरालाले पोखरा थिएटरको स्थापनासँगै पोखरामा नाटक संस्कृतिको विकास हुन थालेको बताए । नाटककार चन्द्रप्रसाद पाण्डेयले तेस्रोलिंगीको बारेमा समाजलाई वास्तविकता बुझाउने प्रयासस्वरूप नाटक तयार भएको बताए । नाटक हेर्न पुगेका दर्शकमाझ पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले वर्ष २०७५ मा लगातार नाटक मञ्चन गर्ने योजनाअनुसार नाटक मञ्चन गरिएको जनाए ।

रेनुका कार्कीको सहनिर्देशन रहेको नाटकमा संगीत संयोजन किरण चाम्लिङ, संगीत परिचालन युनिक, मञ्च व्यवस्थापन सम्भ्रान्त थापा, कोरियोग्राफी कमल राई, वेशभूषा सुनीता मोते, प्रकाश परिकल्पना मिलन नेपाली र पोस्टर चित्र डिजाइन काजी रानाले गरेका हुन् । नाटक वैशाख १५ सम्म मञ्चन हुनेछ । शनिबार अतिरिक्त सो हुने थिएटरले जनाएको छ । यो नाटक सकिए पश्चात् पोखरा थिएटरको प्रस्तुतिमा नाटक ‘बितेका कुरा’ मञ्चन गरिने बताइएको छ । रूपनारायण सिंहको लेखनमा परिवर्तन कार्कीले निर्देशन गर्ने उक्त नाटकका लागि अभ्यास सुरु भइसकेको छ । पोखरा थिएटरमा खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा नाटक ‘अटलबहादुरको आतंक’ समेत मञ्चन गर्ने तयारी गरेको थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए ।

प्रकाशित : वैशाख २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?