१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शिल्पीमा ‘सखी’

काठमाडौँ — १० वर्षे सशस्त्र द्वन्द्वको समयमा नागरिकले भोग्नुपरेको पीडा समेटिएको नाटक ‘सखी’ को राजधानीमा मञ्चन सुरु भएको छ । गत हप्ता पोखरामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा मञ्चित यस नाटकलाई दर्शकले मन पराएका थिए ।

शिल्पीमा ‘सखी’

नाटकलाई बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा बुधबारदेखि नियमित मञ्चनमा ल्याइएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामेश रञ्जनको लेखन रहेको नाटकको निर्देशन घिमिरे युवराजले गरेका छन् । एक घण्टा पाँच मिनेट लामो नाटकमा १० वर्षे सशस्त्र द्वन्दको बेलामा राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकको पीडाको चित्रण गर्ने प्रयास गरिएको छ ।

नाटकको कथा सरल रूपमा बगेको छ । कलाकारहरूको अभिनय जीवन्त लाग्छ । नाटकमा प्राय: मैथिली भाषा र केही नेपाली भाषा प्रयोग गरिएको छ । नाटक हेरिसकेपछि दर्शकदीर्घामा बसेकाहरू ‘मैथिली भाषा नबुझे पनि कलाकारहरूको अभिनयले नाटकमा घटेको घटना र परिस्थितिहरू बुझेको’ प्रतिक्रिया दिँदै थिए । मैथिलीमै नाटक पढ्दा आनन्द आएको हुनाले त्यही भाषामै नाटक मञ्चन गर्न मन लागेको निर्देशक घिमिरेले जनाए । ‘मलाई सधैं लाग्छ, रंगमञ्च स्थानीय भाषाहरूमै शक्तिशाली हुन्छ ।

फरक–फरक भाषाले मञ्चमा फरकफरक शिल्प र परिवेश निर्माण गर्छ,’ उनले भने, ‘मैथिली भाषाले मञ्चमा निर्माण गर्ने परिवेश नेपालीभन्दा फरक र नयाँ स्वादको छ । मैले तामाङ भाषाको ‘म्हेन्दोमाया’ वा थारू भाषाको नाटक ‘दहितान ढेंकी’ मञ्चन गर्दा पनि त्यस्तै नयाँपन महसुस गर्न पाएको थिएँ ।’ सैद्धान्तिक रूपमा मात्रै नभई व्यावहारिक रूपमा बहुल समाजको सोचलाई समृद्ध बनाउन काठमाडौंले अनेकौं भाषाका नाट्य प्रस्तुति हेर्ने बानी बसाल्नुपर्नेमा उनले जोड दिए । भने, ‘हरेक समाजले अर्काे समुदायको अस्तित्वलाई स्विकार्ने एउटा अभ्यास रंगमञ्च वा संगीतबाट पनि हुन सक्छ ।’

नाटक ‘सखी’मा कुनै सत्यकथा वा इतिहास लेखनभन्दा पनि आफ्नै क्षेत्र र परिवेशभित्रको कथा लेख्ने प्रयास गरेको नाटककार रमेश रञ्जनले जनाए । ‘नेपालका समकालीन लेखकहरूले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक जीवनलाई सर्वाधिक हस्तक्षेप गरेको द्वन्द्वकाललाई सिर्जनाको माध्यमबाट बोल्नैपर्‍थ्यो । मैले पनि बोलेँ र सखी नाटक मेरो त्यही प्रयत्नको परिणाम हो,’ उनले भने । नाटकमा रामभजन कामत, पवित्रा खड्का, निलेश झा, संगीता उराँउ, प्रियंका झा, सविन कट्टेल, देवेन कार्की, सरेश जीसी, विवेक तिवारी, झकेन्द्र बीसी, सुलभ पाण्डे, नमराज केसी, संगीत पोखरेल, अनुजा अधिकारी लगायतको अभिनय रहेको छ ।

प्रकाशित : चैत्र २९, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?