कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सहरमा लेखनाथको सम्झना

काठमाडौं — कविशिरोमणि लेखनाथ पौड्यालले उति बेलै ‘गौंथली बोल्छ चिरीबिरी च्यार्र...’ कवितामार्फत देशलाई ‘गांैथलीको झगडा’ को विम्बमा उतारेका थिए– ‘तिमी भन्छौ यो घर मेरो, म पनि भन्छु यो घर मेरो...।’

 सहरमा लेखनाथको सम्झना

अहिलेको मुलुकको स्थितिसँग ठ्याक्कै मिल्ने यो कविताको चर्चा बुधबार सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा भयो । कविशिरोमणिको १३२ औं जयन्ती मनाउँदै गर्दा लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. राजेन्द्र सुवेदीले भने, ‘साहित्यको ताकत भनेको यही हो ।

उति बेलै लेखिएको त्यो कविताको मर्म अहिले झन् टड्करो बनेर आएको छ ।’ उनले जाति/समुदाय फुटेर भन्दा जुटेर अघि बढ्नुपर्छ भन्ने लेखनाथको सिर्जनाको सार सुनाइरहेकै बेला तराईबाट आएकी स्रष्टा करुणा झाले कविता सुनाइन्–
कि हामी पहाडवासी
कि त हामी मधेसी
जहाँ जे भए पनि
पहिला हामी नेपाली

‘गौंथली बोल्छ...’ कै सार बोकेको यो कविताले राष्ट्रिय एकताको आहान गथ्र्यो, तालीको राम्रै साथ पायो । यसपछि क्रमैसँग कविशिरोमणि सम्झेर ललिता दोषी, यादव भट्टराई, मञ्जु हाडा लगायतले कविता सुनाए ।

कास्कीको अघौं–अर्चलेमा जन्मेर नेपाली काव्यजगत्को शिखर चुमेका पौड्याललाई साहित्य साधनाबापत राजा त्रिभुवनले २००८ असार २९ मा कविशिरोमणिको पदवी र मासिक दुई सय रुपैयाँ आजीवन भक्ता प्रदान गरेका थिए ।

उनै पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा भारतको दार्जिलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा (सर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान) ले पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पदवीसहित सम्मान गरेका थिए ।

यिनै त्रिमूर्तिको सम्मानमा स्थापित त्रिमूर्ति निकेतनले बुधबार राजधानीमा लेखनाथ जयन्ती मनाएको हो ।

‘नेपाली साहित्यमा अध्यात्मलाई आधुनिकतासित फ्युजन गर्ने कार्यमा लेखनाथको योगदान उल्लेखनीय रहेको देखिन्छ,’ लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. ठाकुर पराजुलीले कविशिरोमणिको साहित्यमाथि प्रकाश पार्दै बोले ।

निकेतनकी अध्यक्ष इन्दिरा प्रसार्इं, सदस्यसचिव नरेन्द्रराज प्रसाईं, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ लगायतले पनि पौड्यालले नेपाली भाषा साहित्यको प्रवर्द्धनमा पुर्‍याएको योगदानको चर्चा गरे ।

पौड्यालसहित देवकोटा र समको पूर्णकदको सालिकमा माल्यार्पणसमेत गरिएको कार्यक्रममा यादव भट्टराईले पौड्यालको सम्झनामा आशु मुक्तक सुनाए–

सेता दार्‍ही सेतै कपाल
तिम्रो सम्झना दिलाउँछ हिमाल
‘सत्य सन्देश दिने हे कविशिरोमणि
‘पिँजडाको सुगा’ लेखी गर्‍यौ कमाल

प्रकाशित : पुस १६, २०७२ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?