कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आई हेट म:म:

कथा
लेनिन बञ्जाडे

काठमाडौ — ट्रक घ्याँच्च रोकियो । म सँगसँगै पछिल्तिर लहरै उभिएका सबै एकैपटक हुत्तिए । एउटो प्याच्च बोल्यो, ‘त्यस्का बाउ, बिस्तारै रोके हुन्न ?’
उसको बोलीमा मिसिएर अर्को सन्कियो, “त्यो घन्टाउके । आज मोर्च त्यो । झर्न दे न ।”

आई हेट म:म:
ट्रक घ्याँच्च रोकियो । म सँगसँगै पछिल्तिर लहरै उभिएका सबै एकैपटक हुत्तिए । एउटो प्याच्च बोल्यो, ‘त्यस्का बाउ, बिस्तारै रोके हुन्न ?’
उसको बोलीमा मिसिएर अर्को सन्कियो, “त्यो घन्टाउके । आज मोर्च त्यो । झर्न दे न ।”
मैले केही प्रतिक्रिया जनाइनँ । दुलोबाट पुलुक्क बाहिर हेरें, साइनबोर्डमा ‘मुग्लिन’ लेखिएको रहेछ । होटलछेवैमा रोकेकोले होला, मगमग बासना आइरहेको थियो ।
केही नखाएको ६ घण्टाभन्दा बढी भइसकेको थियो । बाटोका खाल्डामा बुरूक् बुरूक् उफ्रिएर पनि होला, मसँगसँगै ट्रकभरिका करिब २५ थान यात्रुको शरीर फतक्क गलेको थियो ।
मेरो दाहिने पाखुरामै टाँसिएर बसेकी चनमतीको कानमा सुटुक्क भनें, “ओई, हेर त त्याँ ।”
उसले ढालाको चरबाट एउटा आँखाले हेरी । बडेमानको भाँडो र त्यसबाट निस्किएको बाफ देखेर लख काटी— म:म: पाक्दैछ ।
कुमले घच्याउँदै सोधें, “खाने हो ?”
ऊ बोल्न सकिन । ज्यान फर्फराई । तनक्क तन्की । नाकमा सम्पूर्ण शक्तिले मुजा पारी र भनी, “नाइ यार, आई हेट म:म: ∕”
अनि ऊ फरक्क अर्कोतिर फर्की ।

ड्राइभर र खलाँसी पालैपालो ओर्लिए । होटलअघिको धारोमा मुख धोए । खलाँसीले कपाल भिजाएर लरक्क लर्कायो । गोजीबाट काइँयो झिकेर बडो अन्दाजमा दायाँतिर ढल्कायो ।
जेठको यो तातो रापले म:म: पाकेझैं गुम्सिएको थिएँ । त्यही धारोमा ठडिएर शिरदेखि पैतलासम्म भिजाउन मन लाग्यो । आङ फिँजाएर त्यही पानीमा आहाल बस्न रहर लाग्यो ।
तनक्क तन्किएर उठ्न खोजें, सकिनँ । अनि पो झसंग भएँ— साला, मेरा हात र खुट्टा त घण्टौंदेखि बाँधिएका छन् ।

० ० ०

त्यही बिहान—
४ बजे एक्कासि बडेमानको ट्रकले हर्न बजायो । अरु गाउँघरतिर यतिखेर भाले बासेर मान्छे जगाउँछन्, हाम्रोतिर यस्तै ट्रकले हर्न बजाउँछन् र सारा गाउँलेलाई बिहानीको छनक दिन्छन् ।
कीराले रातभरि टोकेर भर्खर निदाउन खोज्दैथिएँ, झस्किएर जुरूक्क उठें ।
ट्रकबाट २–३ जना तिघ्रे पहलवान ओर्लिए । घरमा पिलिक्क पहेंलो बत्ती बल्यो । भित्रबाट काजी आँखाका कचेरा मिच्दै बाहिर निस्किए । सिंगो ब्रह्माण्ड खान लागेझैं हाई काढे । दुवै हात पुर्पुरोमाथि लगेर समाए अनि कस्सिएर आङ ताने ।
तिघ्रेहरू सरासर ‘नमस्कार काजी सा’प’ भन्दै घरभित्र छिरे । छेवैमा सुतेकी बूढीलाई कोट्याएँ । ऊ पनि रातभरि ज्यान चिलाएर सुत्न सकेकी थिइन, बल्लबल्ल उठी ।
“यिन्ले राम्ररी सुत्न नि दिन्नन्,” च्याँठ्ठिएर बोली, “दबाई खाऊ भन्दा टेरे पो । आफूले त दु:ख पाएपाए, मलाईधरी सुत्न दिन्नन् ।“
उसको अनुहारका धाँजा फाटे । धर्सैधर्सा । जसरी खडेरीमा खेतका छाला चिरिन्छन् ।
मलाई २ दिनदेखि पखालाले सुताएको थियो । काजीले बजारबाट औषधि ल्याइदिएका थिए । औषधि भनेपछि मेरा नौनाडी गल्छन्, घाँटीबाटै बाटो लाग्दैन । बरू सुईं लाइदिए सहन्छु, लामखुट्टेले छुस्स सुइरो घुसाएझैं त हुन्छ । राति २–३ पटक पेट गड्याङगुडुङ गरेको थियो, झरीमा आकाश कराएझैं ।
बूढी उठ्न खोजी । मैले उसको घाँटीको सप्को समातेर तानें ।
“मान्छे आ’छन्, टरक ल्याछन्,” सुस्तरी कानमा फुस्फुसाएँ, “मलाई डर ला’छ ।“
बूढी एकाएक पानी पोखिएको कागजझैं ओइलाई । शीतले भिजेको पातझैं गली । आँखाका नानी तिलको गेडाबाट कागतीका दानाजत्रा भए ।
उसको बोली निस्किएन । शायद बोल्नुपर्ने केही थिएन पनि । अनि छिनमै आँखाबाट तर्रर आँसु झारी ।
उसको आँखाको डिलमै अश्रुकुण्ड छ, जतिखेर पनि फुट्ने, जतिखेर पनि चेपबाट भल बग्ने ।
ऊ हरेक ३ घण्टामा रोइरहन्थी । गुमनाम छोराको विरहले ऊ ३ महिनायता यसैगरी सुँक्सुँकाउँथी । छोराको झल्को दिने हरेक चिज मैले लुकाइदिएको थिएँ । ऊ दिनभरि खोज्थी र भेटाएपछि हेरेर आफ्नै संसारमा टोलाउँथी ।
छोरो मध्यरातमा यसैगरी हर्न बजाउने ट्रकमा कोचिएर अलप भएको थियो कतै । तिघ्रेहरूले जबर्जस्ती तानेर लैजानुअघि उसले भनेको थियो, “आमै, फर्किनँ भने नरोए है । तिमी रोयौ भने मेरा आँसु बग्छन् ।”
ऊ मतिर फर्किनसक्दै तिघ्रेहरूले लतारेर लिएर गए । जबर्जस्ती ट्रकमा हुत्याए । ड्राइभरले घ्यार्रर ट्रक स्टार्ट गर्‍यो । छिनमै ट्रक बेपत्ता हुइँकियो र आँखैअघिबाट अलप भयो । जसरी अस्ताउन लागेको सूर्य पहाडको छेको पार्दै हराउँछ कतै । त्यसपछि बूढीका आँखा कत्तिखेरै पनि सुख्खा छैनन् ।

“नआत्ते डसनी, परेको बेहोरम्ला,” मैले आश्वस्त पार्न खोजें, “हामीमध्ये जो सहर गए पनि छोरो खोज्ने है ?”
हिजो राति काजीले ठूलो ताउलोजस्तो थालमा ल्याइदिएको कुँडोजस्तो खाना जस्ताको तस्तै थियो । हामी दुवैको मुखमा परेन । भोक र तिर्खाले व्याकुल भए पनि डसनीले थालतिर फर्केर हेरिन । त्यो थालमा पनि शायद ऊ छोरोको अनुहार देख्थी । डसनीको अनुहार देखेर मेरो भोक हराएको थियो ।
वरपर भाले बास्न थाले । चराहरू गुँड छाडेर उड्न थाले । मान्छेहरू कम्मरमा गाग्री बोकेर धारातिर हिँड्न थाले । पूर्वतिर अग्लो पहाडमाथि मिर्मिरे उज्यालो देखिन थाल्यो । क्षितिजपारिको उज्यालो हामीसामु नआउँदै काजी र तिघ्रेहरू गलल हाँस्दै ढोकाबाहिर निस्किए । काजीले औंलामा थुक लगाउँदै पैसाको मुठो गन्दै थियो । काजीसँग कानेखुसी गरेझैं एउटाले पुलुक्क हामीतिर हेर्‍यो र सोध्यो, “कुन हो ?”
काजीले चोर औंला मतिर सोझ्याए र भने, “त्यै हो । जब्बर छ ।”
डसनीले च्याप्प मलाई समाई र आफूतिर तानी । मैले उसको खुइलिसकेको तिलहरी सुम्सुम्याएँ । उसले मेरो गर्धननेर ल्याएर ओठ टाँसी र जिब्रोले लपक्कै भिजाई । ऊ हम्मेसि यसैगरी माया दर्साउँछे ।
यो संसारमा हामी दुईबाहेक हाम्रा कोही थिएनन् । अब म पनि उसलाई छाडेर जाने भएँ, ऊ एक्लै हुने भई । छोराको वियोगमा भक्कानिन्थी, मैले सम्हाल्थें । अब त म पनि हुन्न, कसको काँधमा टाउको राखेर भक्कानिओस् ∕
मेरा आँखाबाट तरर आँसु बगे । मानौं साउने भेलको मूल मेरै आँखाबाट बगेर राप्ती नदीमा मिसिएको छ ।

काजी र दुईजना तिघ्रे हामीछेउ आए । एउटाले काजीलाई सोध्यो, “नाम के हो ?”
काजी मुसुक्क हाँसेर भने, “हामीले हर्के भनेर बोलाम्चम् ∕”
अनि उसले मेरो घाँटीको सप्को जोडले समात्यो र तान्यो, “ल हिँड् हर्के भाइ, सहर घुम्न जाने अब ।”
म डेग चलिनँ । आँखा भरिएका थिए । डसनी उसैगरी आँसुको आहालमा डुबेकी थिई । हिँक्कहिँक्क गर्दै ऊ बर्बराइरहेकी थिई । यस्तो लाग्यो— मानौं ऊ आज त्यही आहालमा निसास्सिएर सास फेर्न छाड्छे ।
म जोडले चिच्याएँ । सिंगो गाउँ जाग्नेगरी कराएँ र भनें, “नलैजाऊ न मलाई, डसनी एक्लै मर्छे ... ∕”
कसैले केही सुनेन । सुने पनि शायद कसैले बुझेन ।
म ढिटझैं उभिएँ । दुवैजनाले सकेसम्म बल गरे, सकेनन् । अलि पर गइसकेको काजी हातमा लठ्ठी बोकेर सरासर आयो र आँखा चिम्म गरेर मलाई पछाडि हिर्कायो । पुठ्ठामा करेन्ट लागेझैं सिल्का हान्यो । म अझै डेग चलिनँ । काजीले फेरि हिर्कायो । तिघ्रेहरुले मलाई जोडले तानेर लतारे र ट्रकमा चढाए । ट्रक घ्यार्रर गर्‍यो । त्यसपछि मैले डसनी चिच्याएको सुनिनँ । ट्रक आफ्नै गतिमा हुइँकियो । मेरो घर र डसनी आँखाबाट टाढिँदै गए । धमिलिँदै गए ।

० ० ०

ट्रक चढेपछि एकछिन म बेहोसजस्तै भएँ । संसार रिङाएजस्तो भो । मरूभूमिमा पानी नभएर आँत सुकेझैं म डसनी नभएर सुकें छिनभरमै । ट्रक बेपत्ता हुइँकियो । मेरा हात, खुट्टा बाँधिएका थिए । सास फेर्नेबाहेक अरू कुनै अंग फुक्का थिएनन् ।
घर, घरवरपरका अरु घर, गाउँ हुँदै तुलसीपुर बजार आँखाबाट छुट्दै गए ।
अनि मेरा वरपर सल्बलाउनेहरू जाग्दै गए । मजस्तै त्यहाँ करिब २२–२५ बन्धक अरू थिए । सबै एउटै दिशामा उभिएका, ट्रकको पुच्छरतिर फर्किएका । बस्दा १० जना पनि अटाइँदैनथ्यो, लाइनमा उभ्याउँदा २२–२५ जना अटाइएछ ∕
मेरो दायाँतिर छेवैमा केटी थिई । उमेरले मभन्दा त्यस्तै ३–४ वर्ष कान्छीजस्ती । उभिएरै आँखा चिम्लिएकी थिई । ऊभन्दा पर लहरै अरू ४ जना उभिएका थिए । हाम्रा पछाडि त्यस्तै ५ वटा लाइन थिए । यस्तो कोचाकोच थियो कि जोडले भुँडी फुल्लाएर सास पनि फेर्न सकिँदैनथ्यो । सबैले एकैपटक त्यसरी सास फेर्ने हो भने सबै च्यापिएर मरिन्थ्यो झैं ।
“सिठ्ठी हाल्न सक्ने क्वै छ ह्याँ ?” पछाडिबाट कोही करायो ।
कसैले उत्तर फर्काएन । सबैले मुखामुख गरे ।
“गाडी रोकाउन पर्‍यो, भोकले मर्न लागियो,” ऊ फेरि बोल्यो ।
जति चिच्याए पनि फलामको भित्तोपारि बसेका ड्राइभर र खलासीले सुन्दैनथे ।
“साह्रै गाह्रो भयो यार, रोकाम् न । उभिने ताकत नि छैन ∕” ऊ ठसठसी कनेर फेरि बोल्यो ।
जोडले भित्तामा बजाउन पाए ड्राइभरले सुन्थ्यो पनि होला तर सबैका हात बाँधिएका थिए ∕
“हात खोल्दे, म सिठी बजाउँछु,” दोस्रो लहरबाट अर्को कोही बोल्यो ।
“हात खोल्न सक्ने भए यति दु:ख पाइन्थ्यो ?” ऊ झर्कियो, “मैले मात्रै खाने हो र ?”
गाडी हुइँकिएदेखि अहिलेसम्म कतै रोकेको थिएन । ड्राइभरलाई भोक नलागुन्जेल गाडी रोक्दैनथ्यो ।
भोकले त मलाई पनि गलाएको थियो । भोकभन्दा अझै बढी डसनीको सम्झनाले गलाएको थियो । सक्थें त भुईंमा घोप्टो परेर भक्कानिन्थें । तर, अहिले मसँग सम्झनामात्रै थियो, भुईं थिएन ।
अनि, एक्कासि पछाडि लहरका ३–४ जना एकैपटक जोडले उफ्रिए । उनीहरूलाई साथ दिँदै अरु ३–४ जना उफ्रिए । ट्रक जँड्याहाझैं लत्रकलत्रक गर्‍यो र घ्याँच्च रोकियो । कोही कता पछारिए, कोही कता । छेवैमा घुरिरहेकी केटी अत्तालिएर मसँग टाँसिई लपक्कै । पुलुक्क आँखा हेरी र ‘ओ सरी’ भनेर आफूलाई सम्हाली ।
उसको न्यानोले म चिसिएँ ।
“को कुक्कुर हो गाडी हल्लाउने ? झन्डै खाल्डामा गएन त्यसका बाउ,” ड्राइभर तुफानझैं आएर बम्कियो ।
उसको आवेग देखेर सबैको होश उड्यो । अघि उफ्रिनेहरू सब चुपचाप मूर्तिझैं भए ।
“को हो भन्छौ कि यहीँ झारेर सप्को लाऊँ ?” ड्राइभर पाखुरा सुर्किंदै नजिक आयो ।
ढाला आधाभन्दा बढी लगाएको थियो, माथिको भाग खुला थियो । सास फेर्न मिल्ने हावा त्यहीँबाट आपूर्ति हुन्थ्यो । ड्राइभर त्यही आधा भागसम्म चढेर चिच्यायो ।
म ठ्याक्कै उसको सामुन्ने थिएँ । सबैभन्दा पहिले मेरै घाँटी अठ्याएर करायो, “तँ भन् त साला, कसले हल्लायो ?”
उसले अँठ्याउँदा मेरो सास रोकिएलाझैं भयो । प्याकप्याक भयो । उसले जोडले झट्कारेर छाडिदियो ।
म भुईंतिर निहुरिएर बोलें, “भोक लागेर हो ।”
“साला, भोक लाग्यो भन्दैमा गाडी पल्टाउन खोज्ने ?” उसले मेरो देव्रे कन्चटमा मुड्की हानेको मात्रै सम्झन्छु, अरु केही याद छैन ।
रातभरिको अनिँदो, झिसमिसे बिहानको वियोग र भोकले थलिएको थिएँ, त्यसमाथि कन्चटमा बज्रिएको चट्याङले उठ्नै सकिनँ । बुंग ढलेछु । होशमा आउँदा देखें— गाडीभरि सबैले कुरुमकुरुम केही चपाइरहेका थिए ।
मेरो भागमा केही थिएन ।

म उठेपछि छेउकी केटी अलि वर सरी । पीर परेझैं गरी । मलाई झैं आफूलाई पनि दुखेझैं गरी ।
“कस्तो कोरी रै’छ साला,” दाह्रा किट्दै ड्राइभरलाई सरापी, “मर्न नसक्ने कुक्कुर ।”
मेरो मन शीत्तल भो ।
“मलाई त कस्तो डर लागेको अघि,” नजिकै आएर बोली, “साह्रै दुख्यो ?”
मैले तलमाथि मुन्टो हल्लाएँ । आँखामा पनि चोट लागेछ, टनटनी दुख्यो ।
“तपाईंको नाम के हो ?” मुखबाट फ्याट्ट निस्कियो ।
ऊ मुसुक्क हाँसी । लजाएझैं गरी ।
“सुनकेस्रा, मैले आफैं राखेको नाम,” जमिनतिर हेर्दै बोली, “घरमा बोलाउँदा चाइँ चनमती भन्चन् ।”
“म चाहिँ जर्गले,” अलि परबाट एउटा ठिटो प्याच्च बोल्यो, “परिचय गरम् न ।”
म वाल्ल परें । मजस्तै चनमती पनि वाल्ल परी ।
चनमतीकै छेउमा २ घण्टासम्म उभिँदा ऊ चुँक्क बोलेको थिएन । गुँडबाट छुट्टिएको चरोजस्तो थियो ।
“म धनराज, घर प्युठान ।” हाम्रै लहरमा सबैभन्दा बलिष्ट देखिने अर्को कोही बोल्यो । जर्गलेले उसलाई पन्छाउँदै चनमतीतिर आँखा सोझ्याएको थियो । हात र खुट्टाका नङ खुइलिसके पनि चनमतीको अनुहार धपक्क बलेको थियो ।
सबैले क्रमैसँग नाम, ठेगाना भन्न थाले । त्यो क्रम दोस्रो, तेस्रो, चौथो हुँदै पाँचौं लहरसम्म चल्यो । कसैले परिचयसँगै आफ्नो वेदना पनि सुनाए । सुनिदिनेहरूका पनि उस्तै व्यथा र पीडा थिए मनभरि ।
“म हर्क, घर तुलसीपुर । म किन यहाँ आएँ, कहाँ लगिँदैछ, केही थाहा छैन,” मैले एकैसासमा भनें, “घरमा बूढी एक्ली छ, छोरो हराएको ३ महिना भो । सहर गएर छोरो खोजेर फर्किन्छु ।”
गाडीमा खाँदिएका सबैले आँखा फट्टाएर मतिर हेरे । कान ठाडा पारेर एकोहोरिए ।
लाग्थ्यो, मैले शान्त तलाउमा ढुंगा फ्याँकेको छु र त्यसले तलाउमा तरंग ल्याएको छ ।
त्यसपछि मेरा घाँटीबाट शब्द झरेनन् । डसनी र छोरोको अनुहारले परेली ढाकिए । परेलीको डिलबाट मूल फुट्यो ।

० ० ०

लतारेर गाडी चढाएको ४ घण्टासम्म मलाई कहाँ लैजाँदै छन्, किन लैजाँदैछन्, थाहा पाइनँ । ममात्रै होइन, गाडीभरि उभिएका सबै अनुहारमा उस्तै अनिश्चय थियो । हरेकका आफ्नै संसार थिए, अर्कै संसार जाँदै थिए । त्यस्तो संसार, जहाँ आफूबाहेक कोही आफ्नो छैन ।
पछाडि कोही सुँक्कसुँक्क गर्दै थियो । उसलाई कोही सम्झाउँदै थियो । म पछाडि फर्किन सक्दिनथें । ममात्रै होइन, अघिल्लो लहरका कोही पनि सक्दैनथे ।
“नरोऊ दाइ नरोऊ, हाम्ले पनि छाडेर आ’छम् । बाँचिएछ भने फर्किम्ला ।”
“यत्रो भइयो, अहिलेसम्म घर छोड्याथिनँ गोथे,” उसको हिक्का छुट्यो ।
थाहा भो— सम्झाउनेको नाम गोथे रै’छ ।
“केन आत्तिन्छौ घने दाइ ? हाम्ले नि छोड्याथिनम् । अब आइइगो, ल्याले त के गर्ने ?” गोथेले कोसिस गर्दै थियो ।
फेरि थाहा भो— रुनेको नाम घने रै’छ ।
“छोरीको न्वारन नि भाथेन गोथे,” घने भक्कानियो, “म यै टरकबाट हामफालेर मर्चु, छाड्दे ।”
उसले चाहे पनि हामफाल्न सक्दैनथ्यो । ढालासम्म आइपुग्न कम्तीमा ३ वटा लहर छिचोल्नुपथ्र्यो । त्यहसमाथि हात र खुट्टा बाँधिएका ।
“यत्रो लाठे भएर नि मर्ने कुरो गर्चौ ? मरे त संसार सक्किगो, बाँचेर हाम्लाई बाँधी लैजाने पशुलाई ठेगान लगाउनुपर्छ,” गोथे बोल्यो ।
सकीनसकी पछाडि फर्किने प्रयास गरें, दायाँतिर चनमती पनि उस्तै सकसले कोल्टे फर्किने प्रयासमा थिई ।
“बाँच्चेला र ?” घने लत्रिएर बोल्यो, “नत्र किन यसरी बाँधेर लैजान्ला’छन् त ?”
“बाँचिन्छ, क्यै उपाय नलागे लडेर भागम्ला,” गोथेले गजब कुरा गर्‍यो, “हरेस चाइनी नखाऊ दाइ ।”
गोथे र घनेको वार्तालापमा बिस्तारै अरु ८–१० नयाँ आवाज सुनिए । बेलाबेला हिँक्क–हिँक्क गर्ने घने नेताझैं चर्का कुरा गर्न थालेको थियो ।
मैले चुपचाप सुनिरहें ।
गाडी बेलाबेला खाल्डामा परेर बुरूक् बुरुक् उफ्रिन्थ्यो । गाडीका त आँखा हुँदैनन, त्यसैले चाहेर–नचाहेर खाल्डामा परिरहन्छ । मान्छेले त आँखा देख्छ, र पनि बारम्बार खाल्डोमा पार्छ । स्टेयरिङ समाउने मान्छेले बतासझैं पत्ताएको गाडी एकाएक खाल्डोमा हाल्दा लहरै उभिएकाहरू भयंकर भूकम्पले हल्लिएझैं आपसमा खप्टिन्थे, कोही भित्तामा ठोक्किन्थे । म सबैभन्दा छेउमा भएकोले हरेक पटक भित्तामा बजारिन्थें । भित्तामा गढेको फलामे काँटीले बारम्बार कोतरिहँदा देव्रे पाखोमा असह्य चहर्‍याएको थियो । शायद रगत चुहिरहेको थियो, फर्केर हेर्न पनि सकिनँ, काँटी हटाउन पनि ।
गाडी आफ्नै गतिमा थियो । गाडीको त निश्चित गन्तव्य थियो, त्यहीँ पुग्थ्यो । ठेगाना नभएका त हामी थियौं । निर्जीव ट्रकले जहाँ लगेर पछाडिको ढाला खोल्छ, त्यहीँबाट हाम्रो गन्तव्यको अर्को बाटो कोरिन्छ ।
जेठको पुत्ताउने गर्मीमा ट्रकभित्र कतैबाट हावा छिर्दैनथ्यो । प्रेसर कुकरभित्र पत्रैपत्र मिलाएर राखिएको हरियो सागझैं थियौं– फतक्क गलेका ।
तर, गोथेको रगत उमाल्ने कुरो सुनेर मेरो मथिंगल एकाएक घुम्यो । ठीक त्यसरी, जसरी बिहानै घरबाट निस्केर गाडी चढ्दा घुमेको थियो । मनमा सिरिरी हरियाली वसन्त नाच्यो । हात–खुट्टाका दाम्ला चुँडिएर कुनै अमुक ग्रन्थको हक्र्युलिसझैं बल चढ्यो । मैलिएको मफलर कतै टुकुचामा मिल्काएर खुला घाँटी बतास निलिरहेझैं लाग्यो ।

० ० ०

कुनै एक ठाउँमा गाडी रोकियो । यसपालि हामीले रोकेका थिएनौं । र, पनि सब चुपचाप मूर्तिझैं सतर्क भए ।
ढाला पन्छाउँदै खलासी उक्लियो । एकटक पुछारदेखि अघिल्लो लहरसम्म नबिराई हेर्‍यो र बीचतिर आँखा पुर्‍याएर सन्तोषले मन्टो हल्लायो ।
फेरि वरपर घुरेर हेर्‍यो र बाहिर मन्टो फर्काउँदै चिच्यायो, “गुरुजी तानम् ?”
नेपथ्यबाट ‘तान् तान्’ भनेको सुनियो । सबैको मुटुमा जोडले तुफान चल्यो । अनुहारमा अनिष्टको कालो बादल मडारियो ।
“एक्लै सक्दैन, तपैं नि आउनुस्,” खलासी फेरि चिच्यायो, “म फुकाल्छु, तपैं तान्नुस् ।”
त्यहाँ के हुँदैछ, कसैले अनुमान लगाउन सकेनन् । एउटा कुरा पक्का थियो– खलासीले हामीमध्ये कसैलाई ट्रकबाट झारेर लैजान खोज्दैछ । करेन्टले हुत्याएझैं पूरै तरंगित भयो मन– झननन्न ∕
ड्राइभरसँगै अर्को १ जना मान्छे पनि आयो । यो मैले देखेको भन्दा फरक अनुहार थियो । बिहान मलाई उठाएर ल्याउने मान्छेभन्दा बिल्कुल फरक ।
खलासीले सबै ढाला निकालेपछि देखें— हामी जंगल र गाउँको दोभानमा थियौं । मान्छेको खासै आउजाउ नहुने अनकन्टारजस्तो ।
एउटा बाइक दायाँबायाँ कुखुरा झुन्ड्याएर पश्चिमबाट भुर्रर आयो । ठ्याक्कै हाम्रै अघि रोक्यो र ड्राइभरसँग अदवले हात मिलायो । मेरा आँखा भने बाइकमा तुर्लुंग उल्टो झुन्डिएका कुखुरामा गएर अडिए टक्क । मार हान्न पानी छम्किएको खसीझैं सेकेन्ड–सेकेन्डमा टाउको फट्कार्ने कुखुरा देखेर मन बाउँडियो । मान्छे भएर जन्मिएपछि यो जगत्का हरेक प्राणीलाई जसरी चाह्यो, त्यसरी भोग्ने अधिकार कसले दिँदो हो ? मान्छेजति चेतनशील नहुँदैमा निम्छरा जनावरको बाँच्ने अधिकारै हुन्न ?
एकमन आफूलाई हेरें । आफूसँगै ट्रकभरि खाँदिएका २ दर्जन अनुहार सम्झिएँ । हामी पनि बाइकमा झुन्डिएका ती कुखुराजस्तै त थियौं— एकदम एक्लो र निरीह ।
खलासीले एउटा फल्याक जमिनमा तेर्सो गरी अड्याएर बाटो बनायो । ड्राइभर र ऊ पालैपालो चढे । मेरो छेवैकी चनमतीको डोरी फुकाए र जोडले ताने । मेरो मनमा भयंकर सन्नाटा छायो । तर, चनमती प्रतिक्रियाविहीन चुपचाप फल्याकबाट ओर्लिई । ऊ झरेपछि खलासी फेरि चढ्यो र दोस्रो लहरबाट अर्कोलाई तानेर भुईंमा झार्‍यो अनि चनमतीलाई ठेल्दै फेरि गाडी चढायो । पहिलेझैं उसलाई टमक्क बाँध्यो र ढाला खाप्यो– १, २, ३ ... ∕
कुखुरा बोकेर आएको मान्छेले गोजीबाट मोटो गड्डी निकालेर ड्राइभरको हातमा थमाइथियो । मैले फल्याकको चरबाट देखें । र, निमेषमै गाडी उही गतिमा हुइँकियो ।
यी दृश्यले मेरो मनमा नफुकिने गाँठो पारे ।
“तिम्लाई किन झारेको ?” सुटुक्क कानैमा गएर सोधें, “मेरो त सासै अड्केला झैं भो एकछिन ।”
उसले आँखा चिम्लिएर लामो सास तानी र उस्तै वेगमा फाली । २–३ पटक त्यसै गरी र पुलुक्क मतिर फर्की । एकटकले हेरी । हेरीरही । मैले पनि उसैगरी हेरें, हेरिरहें । बिस्तारै बिस्तारै उसका आँखा भरिँदै गए । चुलीभरि भएपछि तरर खसे भुइँमा, धागो चुँडिएर खसेका मोतीझैं । सक्थें त अञ्जुली थापेर मोती टिप्थें र उनेर घाँटीमा लगाइदिन्थें ।
न ऊ बोल्न सकी, न मैले दोहोराएर सोध्न सकें ।
“गोथेलाई लगे,” एकछिनपछि ऊ भक्कानिई । थचक्क बस्न खोजी तर सकिन । मलाई नांगै पारेर सिस्नु हानेझैं पोल्यो । ऊ त्यही गोथे थियो, जसले केही बेरअघि विद्रोहको कुरा गर्दै थियो । मुटुका चारैवटा कोठामा रगत भरिएर पोखियो ।
धेरै बेरसम्म ऊ हिँक्कहिँक्क मात्रै गरिरही । पल्तिरकोले उसलाई सान्त्वना दिँदै भन्यो, “नरोऊ नानी, हामी फर्केर गोथेलाई खोजौंला । तिम्रो सिउँदो त्यसै बलि चढ्दैन ।”
‘सिउँदो’ सुनेपछि मेरा हातमा जिरिंग काँडा उम्रिए ∕ घाँटीमा क्याप्प सास अड्कियो ।

० ० ०

गाडीले मुग्लिन छाड्यो । त्यसपछि कहीँ कतै रोकिएन । करिब ४ घण्टा घुम्दै, उकालो चढ्दै एकठाउँमा गएर झ्याप्प ब्रेक लाग्यो । टम्म लागेका ढाला पालैपालो खोलिए । देखें— बाहिर झिसमिसे भइसकेको रहेछ ।
ड्राइभर, खलाँसी र बिहानका दुवै तिघ्रे गुनगुन गर्दै हाँस्दै थिए । उनीहरूले बोलेको बुझिनँ । एउटाले बलेको टर्च सोझ्यायो र गोजीबाट कागज निकालेर पढ्यो अनि टर्च हामीतिर सोझ्यायो ।
“कलंकीमा ५ अनि टेकुमा १० रै’छ,” ड्राइभरले हिसाब सुनायो ।
त्यसपछि ३ जना क्रमैसँग ट्रकमा चढे र पालैपालो ५ जनालाई लतारेर ताने । मेरा पैतला डरले चिसा भए । कसैलाई चिन्दिनथें र पनि मनमा अथाहा माया जागेर आयो ।
एकछिनमा गाडी हुइँयय गयो र अर्को ठाउँमा झ्याप्प रोकियो । ठीक त्यसैगरी १० जनालाई क्रमैसँग झारे । अनि फेरि गाडी हुइँयय गयो ।
ट्रक आधा खाली भइसकेको थियो । अघि गाडी भरिँदा मन एक्लै थियो, अहिले गाडी खाली हुँदा मन भरिएको छ । मैले चिन्ने चनमतीबाहेक कोही थिएन ।
यतिबेलासम्म बाहिर चकमन्न भइसकेको थियो । गाडीभित्र म कसैको अनुहार ठम्याउन सक्दिनथें । कोही कसैसँग बोलिरहेका पनि थिएनन् । सबैको मनमा एउटै डर थियो— अब कसको पालो ?
त्यो डर निमेषमै वायुपंखी घोडाझैं उडेर अलप भयो, जतिखेर तिनै तिघ्रेले टर्च बाल्दै ढालाका पत्र खोले । अनि हामी प्रत्येकको ज्यानमा टाइलको फोकस फाल्दै गने, ‘१, २, ३, ४, ५, ६, ७, ८, ९ । ल ठीक छ, झारम् ।’

सबैभन्दा पहिले चनमतीलाई ताने अनि मलाई । म १२ घण्टापछि पहिलोपटक ट्रकबाट जमिनमा झर्दै थिएँ । सधै महत्ताहीन लाग्ने चिसो जमिन आज पहिलोपटक यस्तो प्यारो लागिरहेको थियो ∕
बाँधिएका खुट्टा र हात फुकाइदिए । डोरीलाई बाटुलो बनाएर सुर्के गाँठो पारे र घाँटीमा ख्याप्प लगाइदिए । दासयुगका मान्छेझैं हामीलाई डोर्‍याए र एउटा किलोमा लगेरर बाँधिदिए । मेरो सम्मुखमा अरू २ जना थिए । त्यसपछि भित्ताको टेको लगाएर चनमतीलाई बाँधिदिए ।
बाहिर केटाकेटी ‘बत्ती आयोऽऽऽ’ भन्दै चिच्याए अनि उत्तिखेरै आँखै तिर्मिराउने गरी कोठाभरि झलमल्ल बत्ती बल्यो । आँखाले भ्याएसम्म हेरें । वारि कुनादेखि पारि कुनासम्म हेरें । हरेकका अनुहार हेरें । तर, छोरोको अनुहार कतै देखिनँ ।
मलाई एकाबिहानै घिसारेर ल्याउने दुई तिघ्रेहरू लुंगी र गन्जी लगाएर आए । सरासर मेरोसामु आएर आपसमा कानेखुसी गरे । उत्तिखेरै एउटाले मेरो घाँटीमा अर्को डोरी छिराएर अँठ्यायो । म फत्रेफत्रे गरें । लाग्यो— म डरलाग्दो ग्रहको संघारमा छु ।
२ महिनाअघि अलप भएको छोरो र आज बिहान सखारै आँखाबाट ओझेल भएकी डसनी एकैसासमा आँखाभरि आए र पानी बनेर बगे ।
अँठ्याइरहेको पहलवानले आफ्ना दुइटा खुट्टा फट्टायो र जोडले डोरी आफूतिर तान्यो । मैले आफ्नो भएभरको बल लगाएर आफूतिर तानें । सँगै उभिएको अर्को पहलवानले एक्कासि छेउको घन उठायो र मेरो टाउकोमा ड्याम्म बजार्‍यो । म डरलाग्दो गरी चिच्याएँ । उसले अर्कोपटक घन बजार्‍यो र घोप्टो परेर मेरा आँखामा हेर्‍यो । म झनै छटपटिएँ, खुट्टा आफैं तनक्क तन्किए । आँखाका नानी सर्दै परेलीमाथि गए । वरपरका सबै दृश्य औंशीको रातझैं एकाएक अँध्यारा भए ।
पहलवानले तेस्रो पटक टाउकोमा बज्र हान्यो । म अझै ठिंग उभिएको थिएँ ।
“त्यस्का बाउ, जब्बर राँगो परेछ, काजी सा’पले जतनले पालेका रै’छन्,” दुईमध्ये एक बोल्यो, “कसको म:म:मा पर्ने भो, हाहा ।”
“फेरि हान्दे, अब ढल्छ,” उक्साउँदै अर्को बोल्यो, “मलाई त यस्तै घिनलाग्ने देखेर नि बफ म:म: मन पर्दैन यार ∕”
उसको आवाज मेरा कानसम्म आइनपुग्दै टाउकोमा अर्को बज्र पर्‍यो । अनि म बुंग भुईंमा पछारिएँ । आँखाबाट सबै दृश्य धमिला हुँदै गए र आँखाका ढकनी ठ्याप्प बन्द भए ।

अलि बेरपछि घाँटीमा केही छ्याक्क गर्‍यो । चसक्क भयो ।
तधष्ततभचस् २भिलमबबष्

प्रकाशित : श्रावण १६, २०७२ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?