पतिले धोका दिएपछि अलपत्र

अन्तर्जातीय विवाहले घर न घाटको बनायो
भीमबहादुर सिंह

जाजरकोट — पतिले धोका दिएपछि एक दलित महिला अलपत्र परेकी छन् । सँगै मर्ने बाँच्ने कसम खाएर १० वर्षअघि अन्तर्जातीय विवाह गरेका पतिले धोका दिएपछि खलंगा ५, पोखराकी जमुना विक चार सन्तानसहित घर न घाटकी भएकी हुन् ।


उनी अबोध लालाबाला साथमा लिएर न्यायको खोजी गर्दै सदरमुकाम आएकी छन् । उनका पति गंगाराम बुढाले ३ महिनाअघि सौता ल्याएपछि अहिले बिचल्लीमा परेको बताउँछिन् । चार छोरीको लालनपालनमा समस्या परेको छ । अन्तर्जातीय विवाहलाई घरपरिवारले स्वीकार नगरेपछि उनीहरू भारतको हिमाञ्चल प्रदेशको किनोर, पांगीमा गएर बस्दै आएका थिए । मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका बुढा परिवारलाई भारतमै छाडेर दसैं मनाउन घर आएका हुन् ।
परिवारसँग दसैं मानेर तिहार मान्न भारत र्फकने सल्लाहमा बुढा यता आएका थिए । बुढालाई घरपरिवारले आफ्नै जातको बिहे गरेर यतै बस्न र भारत नर्फकन दबाब दिएपछि उनले दोस्रो विवाह गरेका हुन् । परिवारले भनेअनुसार उनले चार छोरी र श्रीमतीलाई चटक्कै बिर्सेर रुकुम, गराइलाकी भावना बुढासँग दोस्रो बिहे गरे । आफ्ना पति नफर्किएको र अर्को बिहे गरेको खबर पाएपछि जमुनाका दिन अँध्यारा भए ।
उनी तत्काल आफ्नै जन्मथलो फर्किइन् । तर घर र्फकंदा न पति भेटिन्, न त पाइलै टेक्न पाइन् । जमुना आएको पत्तो पाउनासाथ श्रीमान् दोस्री पत्नी लिएर फरार भए । 'मेरो पति कहाँ हुनुहुन्छ थाहा छैन, कुनै सम्पर्क भएन,' उनले भनिन्, 'भारत हुँदा एकपटक फोन गर्नुभएको थियो । त्यसपछि सम्पर्कमै आउनु भएन ।'
सासूससुराले तल्लो जातको भनेर घरमा बस्न नदिएको उनले सुनाइन् ।
उनीसँग २ वर्षदेखि ८ वर्षका छोरी छन् । जेठी छोरी ३ कक्षामा र माइली छोरी १ कक्षामा पढ्छन् । तर यता पढ्नेसमेत व्यवस्था गर्न नसकेको उनले बताइन् । आफ्नो भन्दा छोरीहरूको चिन्ता लागेको उनी बताउँछिन् ।
'कसरी पढाउने र हुर्काउने भन्ने चिन्ताले सताइरहेको छ,' जमुनाले भनिन् । अहिलेसम्म विवाह दर्ता नगरेकी उनी गाविसमा उजुरी दिन जाँदा श्रीमानले दोस्री श्रीमतीसँग बिहे दर्ता गरेको पाएपछि झनै आपतमा परेकी छन् ।
बुढाले बिहेलगत्तै दर्ता गराएको खलंगा गाविस सचिव शेरबहादुर केसीले बताए । 'पहिलो विवाह भन्ने हामीलाई थाहा भएन । यही नै हो भनेपछि विवाह दर्ता गरेको हो,' केसीले बताए । विवाह दर्ता नहुँदा जमुनालाई श्रीमान्बाट अंश दाबी र कारबाही गराउनसमेत समस्या परेको छ ।
पत्नीको कुटाइबाट गम्भीर
बारा

पत्नीको कुटाइबाट कलैया १२ का विन्देश्वर साह गम्भीर घाइते भएका
छन् । उनको टाउको र हातमा घाउ लागेको छ । घरायसी विवादका कारण पत्नी लालसा देवीले निर्घात कुटेर घाइते बनाएको भन्दै उनी सुरक्षा र पीडक पत्नीलाई कानुनी कारबाही माग गर्दै प्रहरी गुहार्न आएका हुन् । पत्नीको नाममा पुर्खौली सम्पत्ति बेच्न खोजेको पीडितले आरोप लगाएका छन् । पतिलाई पिटेपछि पत्नी बेपत्ता भएकी छन् । घाइते विन्देश्वरको टाउकोमा गम्भीर घाउ लागेको र उनको टाउकोमा कलैया अस्पतालमा उपचार क्रममा नौवटा टाँका लगाएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिए ।




 

प्रकाशित : पुस १६, २०७० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?