पदकधारीलाई आज सहर परिक्रमा गराइने

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइने भएको छ । 

बिहान ११ बजे त्रिपुरेश्वरबाट सुरु भई न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ ।


बुधबार सकिएको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेका थिए । प्रकाशित : मंसिर २७, २०७६ ०९:२३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टोल–टोलमा ‘त्यो सिं त्यो’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाटनका ४० टोलमा योमरी माग्ने कार्यक्रम तय गरिएको छ 

प्रशान्त माली (काठमाडौं)
य:मरी च्वामु, उकी दुने हाकु
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिचा
छिमि नं चिकु, जिमि नं चिकु
पियाच्वने थाकु, याकनं बी हिँ
त्य:छिंत्य:, बक:छिंत्य:
लातापाता कुलिंचा जुछिंत्य:’
योमरी पूर्णिमाको अवसरमा योमरी माग्न जाँदा गाइने गीत हो यो । जसको अर्थ हुन्छ, ‘चुच्चो योमरीभित्र चाकु । दिने सुन्दरी, नदिने बूढी । तपाईंलाई पनि जाडो, हामीलाई पनि जाडो । पर्खिरहन गाह्रो, छिटो दिन ल्याउनुस् । ६ माना ३ माना होइन, एक माना भरिदेऊ ।’

नेवारहरूको चाड योमरी पूर्णिमाको अवसरमा अहिले यो गीत काठमाडौंका टोलटोलमा गुञ्जिइरहेको छ । नेवार बस्तीमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । ज्यापू समाज यलले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पाटनका ४० टोलमा योमरी माग्ने कार्यक्रम तय गरेको छ । बिहीबार यो गीत गाएर पाटनका ४५ वर्षीय श्रवण महर्जन साथीभाइसँग मिलेर च्यासल, लोँल, खपिन्छेँसहित नौ टोल पुगेका छन् । उनीहरू बुधबार गुइट, पिन्छेँ, पिलाछेँ गरेर १० वटा टोलमा पुगेका थिए । योमरी माग्न जाने कार्यक्रम शनिबारसम्म चल्नेछ ।

ज्यापू संस्कृति विकास कोष काठमाडौंले भने योमरी पूर्णिमाको अवसरमा राजधानीमा झाँकीसहितको र्‍याली आयोजना गर्‍यो । योमरी माग्न जानेलाई नेपाल भाषामा ‘त्यो सिं त्यो’ भनिन्छ । ‘यो तिहारमा देउसीभैलो खेलेजस्तै योमरी माग्दै खेलिने खेल हो,’ श्रवणले भने । नेपाल भाषामा य: भनेको मनपर्ने र मरी भनेको रोटी हो । योमरी स्त्री र पुरुष गरी दुईथरीका हुन्छन् । योमरी बनाउन चामलको पिठोमा तातोपानी हालेर मुछिन्छ । डल्लो बनाई एक छेउ चुच्चो पारी औंलाको सहायताले खाल्डोजस्तो पारिन्छ । अन्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र चाकु, तिल र खुवाको मिश्रण राखिन्छ । र, बाफले पकाइन्छ ।

श्रवणका अनुसार योमरी संस्कृति जगेर्ना गर्न समाजले मंगलबार पाटन दरबार क्षेत्रमा योमरी प्रदर्शनी गरेको थियो । जसमा ४० टोलको प्रतिनिधित्व थियो । ज्यापू समाजका उपाध्यक्ष सन्तमान महर्जनले योमरी पूर्णिमालाई पर्यटनसँग जोडेर आम्दानीको बाटो बनाउन खोजेको बताए । ‘योमरी नेवारको पहिचान हो,’ उनले भने, ‘संस्कृतिलाई समयानुकूल परिमार्जन गर्दै लगेका छौं ।’

योमरी संस्कृति लिच्छविकालीन राजा अंशुवर्माका छोरा बालार्चनको पालादेखि चलनचल्तीमा आएको विश्वास छ । त्यसबेला बालार्चनले राज्य सम्हालेको बेला व्यापार व्यवसायबाट मनग्य आम्दानी थियो । उनले बलबल भन्ने एक बलवान् व्यक्तिलाई खेत खन्न लगाई खेतीपाती सुरु गरे । अन्न उत्पादन निकै राम्रो भयो । त्यसपछि राजाले बलबलको शिलामूर्ति बनाई योमरीपुन्हीमा योमरी चढाई जात्रा गर्ने परम्परा बसालेको महर्जन बताउँछन् ।

जहाँ बन्दैन योमरी
पाटन न:बहिल टोलवासीले भने योमरी पूर्णिमामा योमरी बनाउँदैनन् । योमरी खाँदा अड्केर मृत्यु भएको कथन छ । उनीहरूले योमरीको सट्टा बा:मरी (छुट्टै खालको रोटी) बनाउने गर्छन् । कीर्तिपुर, पाँगा, नगाउँ, मच्छेगाउँलगायत सात गाउँमा पनि योमरी पकाइँदैन । यसदिन पाटनको धलाछेँ, सर्को, सुवाह, पिन्छेँ, पिलाछेँ, दुपात, ट्यागल, ह:खा, लुखुसीलगायत ११ टोलवासीले देवाली पूजा गर्छन् ।

हरिसिद्धिमा देवी नाच
योमरीको अवसरमा ललितपुरको हरिसिद्धिमा हरिसिद्धि भवानी देवी नाच (जल प्याँख) देखाइएको छ । नाच हरेक फागु पूर्णिमा र योमरी पूर्णिमाको अवसरमा देखाइन्छ । रामायणको अरण्यकाण्ड र किष्किन्धाकाण्डमा आधारित नाच देखाउन हरिसिद्धिका गुठीयारले साताअघिदेखि तयारी थालेका थिए । अष्टमातृकाको चार र राजा विक्रमादित्यको एक गरी पाँच जोडीले नृत्य प्रदर्शन गर्ने हरिसिद्धि नाचका नाइके राइटर महर्जनले बताए । नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाक: (ढाल) हुन्छ । एकले अर्कालाई खड्गले त्वाक:मा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन् ।

अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ । पहिलो चरणको तेस्रोपटकको विश्राममा सन्तान नहुने भक्तजनमध्ये पहिलोपटक देवता ढोग्ने पुत्रलाभ हुने जनविश्वास छ । त्यसपछि गुरु वाल्मीकि र शिष्य भारद्वाजद्वारा नृत्य प्रस्तुत गरिन्छ । ब्राह्मणले दाँत माझेको र नुहाएको अभिनय गर्छन् । त्यसलगत्तै महादेव अवतरण हुन्छन् ।

प्रकाशित : मंसिर २७, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×