२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विक्रम लामा : प्लेकार्डदेखि स्वर्णसम्म

विनोद पाण्डे

काठमाडौँ — विक्रम लामा दक्षिण एसियाली खेलकुद (साग) मा तेस्रो अनुभव बटुल्दै छन् । पछिल्ला दुई खेलाडीको भूमिकामा र पहिलो फरक भूमिकामा । सन् १९९९ मा नेपालले आयोजना गरेको पछिल्लो सागमा उनी विद्यार्थीको भूमिकामा थिए । २०१६ मा नेपालले स्वर्ण जित्दाका प्रमुख खेलाडीमा रहेका हालका उपकप्तान विक्रम अहिले दोस्रो स्वर्ण लगाउने दाउमा छन् ।

विक्रम लामा : प्लेकार्डदेखि स्वर्णसम्म

सन् १९९९, ८ औं साग, नेपाल, काठमाडौं


विक्रम ललितपुरको च्यासलस्थित श्रमिक शान्ति स्कुलमा ४ कक्षामा पढ्थे । सो स्कुलका सबै ५/६ कक्षा माथिका विद्यार्थीलाई रंगशालामा आठौं सागको उद्घाटन समारोहमा लगिने भएको थियो । त्यो समूहमा उमेर र उचाई दुवै सानो भए पनि विक्रमलाई स्कुलमा फुटबल खेल्ने भएकाले लगिएको थियो । आठौं सागको उद्घाटनमा प्यारापिटमा बसेर झन्डा हल्लाउनु पर्ने भूमिका विक्रम र उनको स्कुललाई थियो । विद्यार्थीहरुले सातै देशका झन्डा बनाउनु पर्ने थियो । विक्रम र उनको स्कुललाई बंगलादेशको झन्डा बनाउने जिम्मेवारी थियो ।


८/१० दिनको रिहर्शलपछि उनीहरुलाई सागको उद्घाटनमा उभ्याइएको थियो । भिआईपी प्यारापिटको माथिबाट एक जनाले संकेत दिन्थे, त्यसलाई हेरेर विक्रमको लिडरले रातो र हरियो मध्ये एक झन्डा देखाउने र एक लुकाउनु पर्थ्यो । स्पिकरमा म्युजिक बज्दा झन्डा छेउमा राखेर प्लास्टिकका फूल हल्लाउनु पर्थ्यो । २० वर्ष अघिको सागको त्यो क्षण सम्झँदा उनलाई अहिले पनि बाल्यपन सम्झना आउँछ ।


मार्च पासमा झन्डा बोकेर खेलाडी ट्रयाकमा पुग्दा दर्शकको समर्थन र हुटिङ देखेपछि उनको मन छोएको थियो । आफूलाई पनि दशरथ रंगशालाको ट्रयाकमा हिँड्न र खेल्न पाए हुन्थ्यो जस्तो भयो । स्कुलमा भर्खर फुटबल खेल्न थालेका थिए, अब फुटबल खेलाडी नै बनेर रंगशालामा छिर्न पाए हुन्थ्यो भन्ने उनमा थिएन । आठौं सागमा खेलिरहेका नेपाली फुटबल खेलाडी कसैलाई उनी चिन्दैन थिए । श्रमिकबाट अर्को वर्ष कुपण्डोलको रुपक मेमोरियल स्कुलमा आए उनी । नेपाललाई पहिलो सागमा फुटबलको स्वर्ण जिताउने कप्तान रुपकराज शर्माको स्मृतिमा रहेको स्कुलमा विक्रम एक वर्षमात्र रहे । फेरि श्रमिक शान्ति नै फर्किए ।


फुटबलको सबै खेल टिभीमा हेर्दै गए । उनमा पनि फुटबल खेलाडी हुन पाए भन्ने खालको भाव आउन लाग्यो । फुटबलको नशा उनमा छिरिसकेको थियो । आठौं सागमा खेलेका फुटबल खेलाडी उनले टिभीमा हेरेर चिन्न लागेका थिए । बसन्त गौचनलाई उनी कहिल्यै बिर्सन सक्दैनन् । नरेश जोशी, हरि खड्का, उपेन्द्रमानसिंह, दीपक अमात्यको खेल उनलाई निकै मन परेको थियो । भुटानमाथि नेपालले ७–० को विजय हात पार्दा दीपक अमात्यले फ्रिकिकमा गरेको गोल, भारतसँग समूहचरणमा ४ गोलले पराजित भएको, माल्दिभ्सलाई सेमिफाइनलमा २–१ ले पराजित गरेको उनको मस्तिष्कमा ताजै छ । उपेन्द्रमान सिंह दोहोरो पहेँलो कार्ड पाएर फाइनल खेल्न नपाएको विनोद खरेलले नेपाली गोल पोष्ट सम्हालेको पनि उनले टिभीमै हेरे ।


‘खेलाडी भएपछि नोटिस हुन्छ भन्ने बुझेँ, सबैले वाह वाही गर्दा रहेछन्,’ भुटानसँगका १३ औं सागको फुटबल खेल्ने तयारीका क्रममा रहेका विक्रम भन्दै थिए, ‘आठौं सागमा प्लेकार्ड बोकेको क्षणले नै मलाई फुटबल खेलाडी बनाएको हो ।’


२०१६, १२ औं साग, भारत, गुवहाटी


ढाकामा बंगबन्धु कप खेल्ने जाने टोलीमा आफ्नो नाम नभएको उनले थाहा पाएका थिए । पछि व्यवस्थापक विराटजंग शाही र प्रशिक्षक बालगोपाल महर्जनले उनलाई राखेका थिए । नेपालले बंगबन्धु जितेर २३ वर्ष देखिको उपाधिको खडेरी तोड्यो । बंगबन्धु विजेता टोलीका प्रायः त्यही खेलाडीलाई लगत्तै साग खेल्न लगिएको थियो । विक्रमलाई मध्यपंक्तिसँगै उपकप्तानको जिम्मेवारी दिइएको थियो ।


भुटानसँग नेपालले ठूलो अन्तरले जितिसकेपछि सेमिफाइनल यात्रा निश्चित भइसकेको थियो । यस समूहको अर्को टोली बंगलादेश थियो । बंगलादेशसँगको खेलले सेमिफाइनलमा भारत वा माल्दिभ्ससँग सेमिफाइनल खेल्ने तय गर्थ्यो । ६/७ जना पहिलो सेट बाहिरका खेलाडीलाई खेलाएर मुख्य खेलाडीलाई फ्रेस बनाउन खोजेको थियो नेपालले । बंगलादेशसँग नेपाल हार्न पुग्यो । ‘भारतसँग खेल्न पर्छ भनेर नेपालले यो खेल जानाजानी हारेको आरोप पनि लगाइएको थियो,’ विक्रमले भने ।


समूहमा उपविजेता भएको नेपालले अर्को समूहको विजेता माल्दिभ्ससँग सेमिफाइनल खेल्नु पर्ने भयो । विक्रमका लागि यो स्मरणीय खेल थियो । सबै एक भएर नतिजा निकाल्न सकेको उनी मान्छन् । नेपालले पहिला २ गोल गर्‍यो । माल्दिभ्सले ३ गोल फर्कायो । नेपालले ३–३ को बराबरीमा ल्यायो । चौथो गोल त उनी जीवनमा कहिल्यै विर्सन सक्दैनन् ।


एउटा यस्तो अवसर आएको थियो, जुन विक्रम आफैंले हानेको भए ६०/७० प्रतिशत गोल हुने सम्भावना थियो । विक्रमले खुला रहेका नवयुगलाई दिए । नवयुगले गोल गरी आफ्नो ह्याट्रिक पुरा गरे । ‘मैले आफ्नो जीवनमा सही समयमा सही निर्णय गरेको क्षण थियो,’ उनी सम्झँदै थिए । विराजको स्थानमा उनले अन्तिम १० मिनेट नेपालको कप्तानी गरेका थिए सो खेल ।


कमल श्रेष्ठले सेमिफाइनलमा रातो कार्ड खाएपछि विक्रमको भूमिका परिवर्तन भयो । फाइनलमा मनबहादुर तामाङले खेल्न पाए । उनले सोचे जस्तो खेल्न सकेनन् । उनकै साइडबाट बल धेरै गइरहेको थियो । पेनाल्टी हुनु अघिको बल पनि त्यही छेउबाट आयो । फाइनलमा विराज महर्जनलाई राइट ब्याक र मनबहादुरलाई लेफ्ट ब्याकमा खेलाइएको थियो । विक्रमले प्रशिक्षक राजुकाजी शाक्यसँग अनुरोध गरे, ‘विराजलाई लेफ्ट, आदित्यलाई राइट ब्याकमा राखेर मैले अनन्तसँगै लास्ट डिफेन्समा खेल्न अनुरोध गरेँ । राजु दाई खेलाडीको भनाई सुन्नु हुन्थ्यो, योजनाहरु सिनियर खेलाडीसँगै बसेर बनाउनु हुन्थ्यो ।’ २५ मिनेटपछि विक्रम लास्ट डिफेन्सको भूमिकामा आए ।


एक गोलले पछाडि भएको अवस्थामा डिफेन्सबाटै बल मिलाएर अगाडि बढाउनु पर्थ्यो । गोलको मुभ बनाउनु पर्ने थियो । ‘त्यत्तिखेरको टिमको उत्कृष्ट पक्ष भनेको नयाँ खेलाडीहरु सबै भनेको सुन्थे,’ विक्रमले भने, ‘हामीले उनीहरुको गोल पोष्ट अगाडि बल राख्न खोजेका थियौं, त्यस्तै भयो । हामीले निरन्तर आक्रमण गरिरहयौं ।' तर जसरी फाइनलमा नवयुग र प्रकाश (बुढाथोकी) ले गोल गरे, त्यो हाम्रो कल्पना बाहिरको थियो । विश्वस्तरीय गोल थियो त्यो ।


नेपाली टोली र विक्रमका लागि त्यो स्वर्ण विशेष थियो । ‘एक त नाकाबन्दीको समय, त्यसमा भारतसँग १ गोलले पछाडि परेको अवस्था । एक किसिमको दबाब थियो । अनि स्वर्णको खुशी मनाउने धेरै बहाना पनि चाहिएको थियो । भनौं- एउटा थ्रीलर मुभी हेरे जस्तै भइरहेको थियो खेल्दा,’ विक्रमले गलामा स्वर्ण लगाएको क्षण सम्झिए, ‘स्वर्ण लगाई पोडिएमबाट राष्ट्रिय गान गाउने पालो थियो, स्पिकरमा बजेको राष्ट्रिय गान बज्दा बज्दै रोकियो । त्यसपछि त बाँकी गीत हामी आफैंले गाइदियौं । त्यो अझै स्मरणीय थियो । फुटबल खेलेर केही पाइएको रहेछु भन्ने माहोल त्यो स्वर्णले दियो । धेरै खेलाडी लामो समयसम्म रोएका थिए ।’


त्यो खुशी त्यही कहाँ रोकियो । उनले भने, ‘मेची पुल देखिको स्वागतको लस्कर भद्रपुर एयरपोर्टसम्म । काठमाडौंको एयरपोर्ट स्वागतले गर्दा पुरै अस्तव्यस्त भएको देखेको थिएँ । त्यो देख्दा विश्व युद्ध जितेर आएको सिपाही जस्तो लाग्यो ।’ एयरपोर्टमा नेपाली टोलीलाई लिन मणि शाह लगायत पूर्व खेलाडी पुगेका थिए । मणि र विक्रमको साग संयोग उस्तै थियो । १९८४ को काठमाडौंको पहिलो सागमा बल ब्वाई रहेका मणिले नेपाललाई १९९३ को सागमा फुटबलमा स्वर्ण दिलाउन प्रमुख भूमिका खेलेका थिए ।


२०१९, तेह्रौं साग, काठमाडौं


पहिलो सागमा विद्यार्थी बनेर प्लेकार्ड बोक्दै गरेको क्षणले विक्रमलाई झन रोमाञ्चित त्यत्ति बेला बनायो, जति खेर उनी तेह्रौं साग उद्घाटन समारोहमा दौरा, सुरुवाल र भादगाउले टोपी लगाएर मार्च पासका लागि दशरथ रंगशालाको ट्रयाकमा उत्रिएका थिए । यस्तो सपना उनले १९९९ को सागमा देखेका थिए, जुन २० वर्षपछि पुरा हुँदै थियो ।


उनको एउटा अर्को सपना मंगलबारको साग फुटबल फाइनलले पुरा गर्नेछ । उनी यो संस्करणको साग फुटबलमा उपकप्तान र अन्तिम डिफेन्डरको भूमिकामा छन् । फाइनल खेल्नु पर्ने हुनाले समापनमा मार्च पासमा त हुने छैनन् । तर त्यसअघिको फुटबलको समापन समारोहमा उनले दोस्रो पटक सागको स्वर्ण थाप्ने छन्, जब आशा गरिए अनुरुप नेपालले भुटानसँगको फाइनलमा नतिजा निकालेमा ।


राजु शाक्य र उमेश प्रधानले मात्र फुटबलबाट सागमा दुई स्वर्ण जितेका छन् । फाइनलमा भुटानलाई पराजित गरेमा विक्रमसहित, अनन्त तामाङ, विकेश कुथु, सुनिल बल पनि यही सूचीमा दर्ज हुनेछन् ।


प्रकाशित : मंसिर २४, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?