१४ औं संस्करण पाकिस्तानमा, मंगलबार समापन समारोहमा प्रधानमन्त्रीबाट भिडियो सम्बोधन हुने

ध्रुव तुलाधर

काठमाडौँ — दक्षिण एसियाली खेलकुदको आगामी संस्करण (१४ औं) पाकिस्तानमा हुने भएको छ । पाकिस्तानले तेस्रोपल्ट साग आयोजनाको जिम्मेवारी लिँदै छ । १३ औं सागको मंगलबार हुने समापन समारोहमा पाकिस्तानले १४ औं साग आयोजनाको झन्डा लिनेछ । साउथ एसियन ओलम्पिक काउन्सिल (एसओएससी) को सोमबार राजधानीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

१४ औं संस्करण पाकिस्तानमा, मंगलबार समापन समारोहमा प्रधानमन्त्रीबाट भिडियो सम्बोधन हुने

बैठक काउन्सिलका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको हो । बैठकमा सातै राष्ट्रका ओलम्पिक कमिटीका प्रतिनिधिको सहभागिता रहेको थियो ।


प्रतियोगिता जुन देशले आयोजना गर्ने हो । काउन्सिलको सचिवालय त्यही देशमा हुने भए पनि हाललाई काउन्सिलको सचिवालय नेपालमै राख्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनका अनुसार ६ महिनाभित्र काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरेर १४ औं सागको मिति र आयोजक सहर तोकिने छ । यसअघि पाकिस्तानले सन् १९८९ (चौथो) र २००४ (नवौं) को साग इस्लामावादमा आयोजना गरेको थियो । पाकिस्तानले १४ औं साग आयोजनाको झन्डा लिए पनि आयोजक राष्ट्रको हैसियतमा दिनुपर्ने प्रस्तुति भने देखाउने छैन ।


‘संस्मरणात्मक आवरण प्रकाशन’

यसैबीच १३ औं सागलाई संस्मरणात्मक बनाउनका लागि नेपाल ओलम्पिक कमिटीले नेपाल फिलाटेलिक सोसाइटीसँग मिलेर ‘संस्मरणात्मक आवरण’ प्रकाशनमा ल्याएको छ । यस्ता आवरण विशेष अवसरहरूमा प्रकाशन गरिन्छ । १३औं सागलाई पनि जीवन्त राख्न आवरण प्रकाशनका गरिएको एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्यले बताए । जारी साग समापनको अघिल्लो दिन सातदोबाटोस्थित एनओसी मुख्यालयमा आयोजित कार्यक्रममा उक्त आवरणमा एनओसी अध्यक्ष श्रेष्ठले प्रथम टाँचा लगाए । आवरणमा सागको लोगो, मस्कटसहित सबै खेलका आइकन (प्रतीक चिन्ह) लाई समावेश गरिएको छ ।


प्रधानमन्त्रीबाट भिडियो सम्बोधन हुने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिँदै छ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सम्बोधन गर्नेछन् । भोलिपल्ट (बुधबार) प्रधानमन्त्री ओलीले खेलाडीकै लागि राष्ट्र नाममा सम्बोधन गर्दै प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको छ ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले समापन समारोहलाई व्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको बताएका छन् । समापन समारोहअघि नेपाल र भुटानले फुटबलको स्वर्णका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि मध्यान्ह १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । साग फुटबलको फाइनललगत्तै समापन समारोह सुरु हुनेछ । प्रमुख अतिथि उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलवालले सम्बोधन गर्ने छन् । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने गरी ड्रोनको माध्यमबाट विशेष कार्यक्रम प्रस्तुत गरिने सदस्यसचिवले जानकारी गराए । साथै मार्चपास, सांस्कृतिक कार्यक्रम र आतिशबाजी गरिने जनाइएको छ ।


कार्यक्रमस्थलका प्यारापिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिने उनको दाबी छ । भीभीआईपी, भीआईपी, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्रमा राखिनेछ । फुटबल फाइनलमा भुटानी र नेपाली समर्थकका लागि छुट्टाछुट्टै जोनमा राखिने सदस्यसचिव सिलवालले बताए । सुरक्षा र पासमा पनि कडाइ गरिने जनाइएको छ ।


प्रकाशित : मंसिर २४, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?