१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महिला फुटबलमा भएन ‘क्रमभंग’

दीपक परियार

(पोखरा) — महिला फुटबलमा भारतको निरन्तर जितमाथि नेपालले क्रमभंग गर्न सकेन । भारतलाई स्वर्ण जित्ने नेपालको सपनामाथि फेरि एकपल्ट तुसारापात भयो । आयोजक नेपाललाई हराउँदै भारतले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्यो । 

महिला फुटबलमा भएन ‘क्रमभंग’

पोखरा रंगशालामा सोमबार भारतले फाइनलमा नेपाललाई २–० ले पराजित गर्‍यो । भारतको जितमा स्ट्राइकर एनजी बाला देवीले दुवै गोल गरिन् । उपाधि आफ्नो पक्षमा पार्न बाला देवीले नायकत्व प्रदर्शन गरिन् । उनले खेलको १८ औं मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपाली डिफेन्सको खुट्टाबाट फुत्किएको बल समात्न पुगेकी गोलकिपर एन्जिला तुम्बापो अगाडि बढ्दा बालादेवीलाई गोल गर्न सहज भयो । नेपाली डिफेन्डर र गोलकिपरबीचको आपसी समन्वय नमिल्दाको फाइदा उनले उठाइन् ।


खेलको ५५ औं मिनेटमा उनै बालादेवीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् । गोलकिपर बिट भएको फाइदा उठाउँदै उनले गोल गरिन् । फाइनलमा पनि नेपालले पाएका राम्रा अवसर गुमायो । खेलको छैटौं मिनेटमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले विपक्षीको गोल एरियाभित्रै वान भर्सेस वान हुँदाको अवसर सदुपयोग गर्न सकिनन् । उनले आफैंले प्रहार नगरी अर्को खेलाडीलाई पास दिन खोज्दा बल विपक्षी डिफेन्सको पोल्टामा पुग्यो ।

लिग चरणमा भारतसँग खेल्दाको अवस्थामा भन्दा फाइनलमा नेपाल केही फितलो देखियो । घरेलु मैदानमा दर्शकको साथ पाएको नेपालले खेलमा जादु देखाउन सकेन ।


खेलको २१ औं मिनेटमा नेपालकी मिडफिल्डर अनिता बस्नेतले सेन्टर नजिकबाट गरेको प्रहार क्रसबारबाट बाहिरिएको थियो । डिफेन्स र मिडफिल्टमा राम्रो खेल्दाखेल्दै पनि नेपालले स्कोरमा चामत्कारिक प्रदर्शन गर्न सकेन । सावित्राको भरमा नेपालले पूरा खेल खेलेको स्पष्ट देखिन्थ्यो ।


आयोजक राष्ट्र नेपालले घरेलु दर्शक, मैदान र हावापानी सबैको साथ पाए पनि खेलमा गोल गर्न नसक्दा भारतलाई उपाधि सुम्पन्न बाध्य भयो । नेपालले रजतमा चित्त बुझाउनुपर्‍यो । त्यसो त, घरेलु मैदानलाई बुझ्ने अवसर नेपाली टिमले पाएनन् । निर्माण नसकिँदा खेल हुनुभन्दा २ दिनअघि मात्रै नेपाली खेलाडीले पोखराको मैदान टेकेका थिए ।


फाइनल खेलमा तुलनात्मक रूपमा भारतीय खेलाडी बढी आत्मविश्वासी देखिए । धेरै दबाबमा खेलेनन् । नेपालले खेल आफ्नो नियन्त्रणमा लिए पनि स्कोर गर्न सकेन । त्यसो त भारतको डिफेन्स, स्ट्राइकर, गोलकिपर सबै उत्तिकै बलिया छन् । नेपालको स्कोर लाइन केही फितलो भएको महसुस हुन्छ । सावित्रा दक्षिण एसियाकै स्टार स्ट्राइकर हुन् । तर उनको ‘सर्पोटिङ’ मा अर्को स्ट्राइकर देखिएनन् ।


खेलको अन्तिमसम्म रंगशालामा भरिएका दर्शकले लगातार नेपालको हौसला बढाइरहेका थिए । तर नतिजाले उनीहरूलाई निराश तुल्यायो । शनिबार पनि लिग चरणको खेलमा भारतले नेपाललाई १–० ले हराएर दुई टिम समूह विजेता र उपविजता बनेका थिए । शनिबार नै माल्दिभ्सले श्रीलंकालाई हराएर कांस्य पाएको थियो ।


भारतीय राष्ट्रिय टिमकी प्रशिक्षक म्यामल रक्कीले इतिहास दोहोर्‍याउन पाएकामा खुसी व्यक्त गरिन् । ‘जसरी हामीले सोचेका थियौं, खेल त्यहीअनुसार भयो । हामी अत्यन्तै खुसी छौं,’ उनले भनिन्, ‘नेपाल पनि धेरै राम्रो देश हो । तर फाइनलमा जित निकाल्न पाउँदा खुसी छौं ।’

दुई खेलाडीको संन्यास, प्रशिक्षकको राजीनामा

साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार व्यहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । साग सुरु हुनुअघि भारतलाई हराएर इतिहास रच्ने दाबी गरेका उनले फाइनलमा फितलो प्रदर्शन गरेपछि नैतिकताका आधारमा राजीनामा घोषणा गरेको बताए ।


‘हाम्रो टार्गेट नै गोल्ड थियो । तर आफ्नै टार्गेट पूरा गर्न सकिनँ,’ खेलपछि उनले भने, ‘अब यो भूमिकामा रहँदिनँ ।’ उनले खेलाडीले राम्रो खेलेको भन्दै हारको सम्पूर्ण जिम्मा आफूले लिने बताए । फाइनलका सबै गोल आफ्नै कमजोरीले भएको पनि उनले स्वीकारेका छन् । उनले भनेका छन्, ‘गोलकिपरलाई जुन इन्स्ट्रक्ट गरेको थिएँ, पहिलो गोलमा डिफेन्स र गोलकिपरबीच केही कम्युनिकेसन ग्याप हुन पुग्यो,’ उनले भने, ‘दोस्रो गोल पनि आफ्नै कारणले हुन पुगेको हो ।’


उनले टिम सम्हालेपछिको यो तेस्रो हार थियो । उनी आएपछि १३ औं सागको फाइनलसम्म नेपालले भारतसँग पाँचपल्ट खेल्यो । तीनमा नेपाल पराजित भयो । एकमा भारतलाई हरायो र एकमा बराबरी खेल्यो । भारतमा भएको हिरो महिला गोल्डकपमा भारतलाई २–१ ले हराउँदै नेपाल फाइनल पुगेर म्यानमारसँग पराजित भएको थियो । त्यसअघि म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेल्यो । गत साफ च्याम्पियनसिपमा घरेलु मैदानमै भारतसँग नेपालले पराजय व्यहोर्‍यो । साफका ५ संस्करण भारतले जित्दा ४ पल्ट नेपाल फाइनल पुगेको छ ।


साग सुरुआतको ३२ वर्षे इतिहासमा नेपालले तेस्रोपल्ट महिला फुटबलमा सहभागिता जनाएको हो । बंगलादेशमा भएको ११ औं सागमा पहिलोपल्ट महिला फुटबल समावेश गरिएको थियो । १२ औं साग भारतको सिलोङ र गुवाहाटीमा भयो । दुवैपल्ट नेपाल र भारत फाइनलमा पुगे । दुवैपल्ट भारतले जित्यो । ढाकामा ३–१ ले भारतसँग पराजित नेपालले सिलोङमा अन्तर कम गर्दै २–१ बनायो । फिफा वरीयतामा भारत नेपालभन्दा झन्डै दोब्बरले अगाडि छ । भारत ५७ औं स्थानमा हुँदा नेपाल १ सय स्थानमा छ ।


सागमा हार बेहोरेसँगै टिम कप्तान एवं फरवार्ड नीरु थापा र डिफेन्डर मनमाया लिम्बूले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका छन् । नेपाल प्रहरीमा आबद्ध नीरुले मैत्रीपूर्ण खेलका लागि गत वर्ष नेपाली महिला फुटबल टोली चीन जाँदा पहिलोपल्ट कप्तानी जिम्मेवारी सम्हालेकी थिइन् । उनीहरूलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आधा तोला सुन र चार तोला चाँदीजडित पदक प्रदान गरेको छ ।

खेलाडीले संन्यास लिँदा पोखरा रंगशालाको माहोल भावुक बन्यो । नीरु भक्कानिइन् । टिमका साथीलाई गर्लम्म अँगालो हालिन् । उनको बिदाइमा आएकी गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले पनि आँसु थाम्न सकिनन् ।

अबको बाटो प्रशिक्षक : नीरु

साग गेम भएपछि संन्यास लिन्छु भनेर पहिलेदेखि नै भनिरहेकी थिएँ । एकपल्ट गोल्ड मेडल ल्याएर देशका लागि केही गर्छु भन्ने सोचेकी थिएँ । त्यो हुन सकेन । सागमा धेरै कोसिस गर्‍यौं । मेरो टिमलाई एकपल्ट जिताउनै पर्छ, मेरो देशलाई मैले केही दिएर नै अब संन्यास लिनुपर्छ भनेर साथी, प्रशिक्षकसँग पनि कुरा गर्थें । दिन सकिनँ । यही कुरा खड्किरहनेछ । आगामी दिनमा कप्तान बन्नेले देशलाई स्वर्ण ल्याएर इतिहास बनाउनुपर्छ । म आफ्नो क्लब (पुलिस) बाट निरन्तर खेल्छु । मैले आफू कप्तान हुँदासम्म कुनै खेलमा स्वर्ण मेडल ल्याउँछु भन्ने सोचेको थिएँ तर हुन सकेन । कुनै गल्ती भएको थियो होला, टिममा मिस्टेक भयो होला । अब प्रशिक्षक र रेफ्रीको ट्रेनिङ गर्नेछु ।

फुटबलमै लाग्छु : मनमाया

विराटनगरमा भएको साफ च्याम्पियनसिपपछि मैले संन्यास लिने योजना बनाएकी थिएँ । अब एक वर्षभित्र अन्तर्राष्ट्रिय खेल भयो भने छोड्छु भनेर मेरो प्लानिङ नै थियो । टिममा लगभग सबैलाई थाहा थियो । म सबै कुरा सेयर गर्थें । प्रशिक्षकसँग आइतबार भनेकी थिएँ । आफ्नो मिहिनेत, लगनले जति देशलाई योगदान दिन पाएँ त्यसमा खुसी छु । अब पनि देशको फुटबल विकासमै लाग्ने योजना छ ।

प्रकाशित : मंसिर २४, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?