कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फाइदा चिसो र हाइअल्टिच्युडको

विनोद पाण्डे, हिमेश

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुन आउने टोलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै विशेष डेस्क व्यवस्था गरिएको छ । अतिथि सत्कार समितिका सदस्य राजन खत्री यही डेस्कको छेउमा बसेर सागमा आएका खेलाडी तथा अतिथिलाई स्वागत गर्दै गलामा मफलर (गलबन्दी) लगाई स्वागत गर्छन् । 

फाइदा चिसो र हाइअल्टिच्युडको

सागको समापन समारोह आइसक्दा पनि खत्रीको यो दैनिक जारी छ । अतिथिहरू काठमाडौं ओर्लिनेक्रम जारी छ । खत्रीले लगाइदिएको गलबन्दीले भने सहभागी हुन आएका खेलाडी तथा अफिसियलका लागि ज्यान भरेको छ । काठमाडौंमा मंसिरको चिसो छल्न त्यही गलबन्दीले कान र टाउको बेरेर सागमा चुनौती तेर्स्याउन खोजिरहेका छन् ।


सागमा प्रतिस्पर्धामा रहेका ७ मध्ये ५ राष्ट्रसामु एउटा प्रमुख समस्या काठमाडौंको चिसो झेल्नु र हाइअल्टिच्युडमा खेल्नु रह्यो । काठमाडौंको अहिलेको तापक्रम न्यूनतम ७ र अधिकतम १४ डिग्री सेल्सियस छ । भुटानको राजधानी थिम्पुको अहिलेको स्थितिमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस छ । बंगलादेशको ढाकाको न्यूनतम तापक्रम २२, कोलम्बोको २६, भारतको दिल्लीको १६ र माल्दिभ्सको २८ डिग्री सेल्सियस छ ।


समुद्री सतहबाट काठमाडौं १४ सय मिटर उचाइमा छ । श्रीलंका ४ सयदेखि ५ सय मिटर, भारतको दिल्ली २ सय मिटर, ढाका ४ मिटर र माले १.५ मिटर समुद्री सतहबाट माथि छन् । थिम्पु २२ सय मिटर माथि छ । मैदानमा प्रतिस्पर्धा गर्नुअघि नै नेपाल र भुटानबाहेक राष्ट्रका खेलाडीलाई चिसो र हाइअल्टिच्युडले पिरोलिसकेको हुन्छ । नेपालले अहिलेसम्म साग इतिहासमै सबैभन्दा बढी स्वर्ण जित्नुको कारण यही भएको आरोप लगाउने पनि छन् ।


‘अहिले यहाँ चिसोको समय छ, त्यसले हामीलाई केही समस्या भएको छ । हाम्रा खेलाडीलाई यसले समस्या दिएको छ, हामी यसमा अवस्था हेरेर भिज्ने प्रयास गरिरहेका छौं । गर्मीको मौसममा खेलाउनु नै हाम्रा लागि उत्तम हुन्छ । अरू व्यवस्थापन नेपालको ठिकै छ,’ बंगलादेश जुडो महासंघका महासचिव एकेएम सलिमले कान्तिपुरसँग भने । उनी बंगलादेश जुडो टोलीका व्यवस्थापक पनि हुन् । नेपालले यसअघि सन् १९८४ र १९९९ मा गरेको दुवै साफ असोज महिनामा गरिएको थियो । पौडी खुला पोखरीमा भएको थियो । यसपालि सागकै लागि भनेर बनाइएको हिटिङ सिस्टममा पौडी खेल आयोजना भयो ।


एथलेटिक्समा श्रीलंका सागमा धेरै बलियो रहेको छ । यसमा पाएको पदकले श्रीलंकालाई बेलाबखत सागको पदकतालिकामा दोस्रो स्थानमा उभ्याउने गरेको छ । श्रीलंकाली एथलेटिक्स टिमका प्रमुख प्रशिक्षक वाइके कुलरत्नेले हाइअल्टिच्युड र चिसो मौसमले गर्दा आफ्ना खेलाडीको प्रदर्शन प्रभावित भएको बताए । उनले भने, ‘हामीले यस्तो हुने अपेक्षा गरेका पनि थियौं, त्यसैले काठमाडौं आउनु अगाडि श्रीलंकामा हाइअल्टिच्युड अभ्यास गरेका थियौं । तर यही कारण हाम्रो प्रदर्शन सोचेजस्तो हुन सकेन ।’


श्रीलंकाका प्रदीप धाम्मिका २ घण्टा २८ मिनेट ४३ सेकेन्डमा म्याराथन पूरा गरेपछि ट्र्याकमा ढल्न पुगेका थिए । हाइअल्टिच्युड भएपछि दौड पूरा गर्दा उनको शरीर सेतो भएजस्तो देखिन्थ्यो । उनलाई रंगशालाको ट्र्याकमा घाममा राखेर उपचार गरिएको थियो । श्रीलंकाली खेलाडीले यसअघिका सागका १२ मध्ये ६ पटक म्याराथनमा स्वर्ण जितेका थिए । तर १३ औं सागमा न त धाम्मिका न त सिसिरा कुमाराले किरणसिंह बोगटीको स्वर्णमा चुनौती दिन सके । जबकि किरण नेपालको म्याराथनमा तेस्रो रोजाइका धावक हुन् । यससँगै नेपालले पनि साग म्याराथन ६ पटक जित्ने श्रीलंकाको कीर्तिमान बराबरी गरेको छ ।


सार्क राष्ट्रको अरू देशभन्दा नेपाल र भुटानमा आएर खेल्नु निकै फरक रहेको राष्ट्रिय टिम तयारीमा प्राविधिक विशेषज्ञ सुशील नरसिंह राणा बताउँछन् । ‘हाइअल्टिच्युड र चिसो मौसमा खेल्दा इन्डोरेन्स इभेन्टमा धेरै फरक पर्छ, लामो दौडमा विशेषगरी । मार्सल आर्ट्समा ३ मिनेट खेल्नु भनेको ८ सयदेखि १५ सय मिटर दौडिएबराबर हो,’ राणाले भने, ‘चिसोमा खेल्न झनै गाह्रो हुन्छ । राम्रोसँग वार्मअप पनि भइसकेको हुँदैन । फुल इफोर्ट दिएर खेल्दा ल्याकटिक एसिड ह्वात्तै माथि जान्छ । त्यो हुँदा मसल्स भारी हुने र स्वाँ–स्वाँ बढी हुन्छ ।’


उनले सन्तोषी श्रेष्ठको १० हजार मिटर दौडको सफलता र भुटानको फुटबल फाइनल यात्रालाई चिसो मौसम र हाइअल्टिच्युडसँग जोडे । सन्तोषीको स्वर्ण नेपालको ट्र्याक एन्ड फिल्डमा पहिलो थियो । नेपालसँग ४–० ले पराजित भएको भुटानले बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई पराजित गर्दै दुर्लभ नतिजा निकालेको थियो । श्रीलंकालाई अन्तिम खेलमा ३–० ले पराजित गरेपछि भुटानले पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेर धेरैलाई आश्चर्यमा पारेको छ । नेपालले ४९ स्वर्ण जितिसकेको छ । साग इतिहासमै नेपालले एकै संस्करणमा अहिलेसम्मकै बढी स्वर्ण जितेको हो ।


‘सन्तोषीसँग श्रीलंकाली खेलाडी सँगसँगै रहेर खेल्न खोजिन् । उनीहरू हामीभन्दा राम्रो हुन् । श्रीलंकाको समस्या त्यही भयो । सन्तोषी घरेलु स्थितिमा जस्तै पनि खेल्न सक्थिन्, तर श्रीलंकाली खेलाडी सक्दिन थिइन् । त्यसैले श्रीलंकाले बिस्तारै मात्र खेल्न थाल्यो । शरीर तातेपछि मात्र आफ्नो पूर्ण स्पिडमा खेल्यो । तर यो म्याराथनमा लागू हुँदैनथ्यो । किरणले सुरुआतमै उनलाई डेढ किलोमिटर जस्तो पछाडि पारेका थिए,’ राखेपका एथलेटिक्सका पूर्वमुख्य प्रशिक्षक राणाले भने, ‘फुटबलमा पनि यो लागू हुन्छ । भुटानको सफलताको एउटा कारण यो पनि हो । यहाँको चिसोले उनीहरूलाई असर गरेको छैन, थिम्पुको भन्दा तलको अल्टिच्युडमा खेल्न पाएका छन् ।’ चिसो र हाइअल्टिच्युड दुवैको फाइदा नेपालले उठाइरहेको र त्यो पदक तालिकामा देखिएको उनी स्वीकार्छन् ।


माल्दिभ्सका फुटबल प्रशिक्षक पिटर सेरगटले आफ्ना खेलाडी व्यावसायिक भएको र तिनको प्रदर्शन खराब हुनुमा हाइअल्टिच्युड र चिसो मौसमलाई दोष दिन नमिल्ने बताएका थिए । उनले भने, ‘कसैले पनि खेल क्षेत्रमा राम्रो, नराम्रो प्रदर्शनका लागि यसलाई कारण मान्न हुन्न । खेलाडीले आफूलाई त्यही अनुकूल ढाल्नुपर्छ ।’


चार दिनमा आफ्नो टोलीले तीन खेल खेल्नुपरेकाले टाइसिटलाई लिएर उनी आयोजकप्रति रोष प्रकट गरिरहेका थिए । राउन्ड रोबिनमा अन्तिम खेल खेल्नुअगाडि माल्दिभ्सले कुनै खेल जित्न सकिरहेको थिएन । नेपालसँग अन्तिम खेलमा २–१ ले हारेर पदकविहीन भएपछि सेरगट बर्खास्तगीमा परिसकेका थिए ।

प्रकाशित : मंसिर २४, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?