१३ औं साग : गौरिका गौरव- १३औं साग खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ औं साग : गौरिका गौरव

राजु घिसिङ

काठमाडौँ — गुवाहाटीमा तीन वर्षअघि १२ औं सागमा एक रजत र तीन कांस्य पदक जित्दा गौरिका सिंह आफैं चकित परेकी थिइन् । १३ वर्षको छँदै उनले पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी हुने सोचेकी थिइनन् । त्यहाँ ‘बोनस’ का रूपमा चार पदक जितेपछि उनले सपना बुनेकी थिइन्, सागमा स्वर्ण चुम्ने । त्यो सपना उनले स्वदेशमै आएर १३ औं संस्करणमा पूरा गरिन् । त्यो पनि एउटा होइन, चारवटा स्वर्ण जितेर ।

यससँगै उनी दक्षिण एसियाली खेलकुदको महाकुम्भको ३५ वर्षे इतिहासमा एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जित्ने पहिलो नेपाली हुन् । उनले सागमा चार स्वर्णसहित नेपाली खेलकुदमा सर्वाधिक सफल खेलाडी दीपक विष्ट (तेक्वान्दो) को कीर्तिमान सोमबार बराबरी गरिन् । यो सागमा सहभागी नौ स्पर्धामै पदक जित्ने क्रममा ४ स्वर्ण, २ रजत र ३ कांस्य हात पारेकी उनले भनिन्, ‘मलाई निकै सम्मानित महसुस भइरहेको छ । सबै जनाको साथ भएरै रेकर्ड बनाएँ । नयाँ रेकर्डलाई पनि उछिन्दै धेरैले राम्रो गरेको हेर्ने चाहना छ ।’


‘धेरै खुसी छु,’ १७ वर्षीया गौरिकाले आफ्नो कीर्तिमान बराबरी गरेपछि विष्टले भने, ‘हामीले रेकर्ड भनेर रेकर्ड बनाएका होइनौं, खेल्दाखेल्दै आफैं बनेको हो । उनले रेकर्डभन्दा पनि जुन किसिमले मेडल ल्याएकी छन्, त्यसले सुनौली अक्षरले हामी गर्न सक्छौं भनेर झकझक्याएको छ । उनलाई योभन्दा माथि एसियाली खेलकुद र ओलम्पिकमा मेडल ल्याउनका लागि शुभकामना दिन चाहन्छु ।’


चौथो स्वर्ण जित्ने क्रममा गौरिकाको भारतकी शिवांगी शर्मासँग रोमाञ्चक प्रतिस्पर्धा भयो । उनले ५८.१३ सेकेन्डसाथ शिवांगीलाई ०.०२ सेकेन्डले मात्रै पछाडि पारेको सय मिटर फ्रिस्टाइलमा हात पारेको स्वर्णबारे भनिन्, ‘स्वर्ण पाउँछु कि पाउँदिनँ थाहा थिएन । किनभने मेरो मुख्य स्पर्धा यो होइन । तर गोल्ड मेडल पाएपछि मेरा लागि सबभन्दा आकर्षक लाग्यो यो । व्यक्तिगत उत्कृष्ट पनि भयो ।’ चार स्वर्णमध्येको सबभन्दा विशेष भएको उल्लेख गर्दै थपिन्, ‘सबभन्दा फेवरेट जित हो यो । यस्तो अन्तर थियो कि थाहै थिएन । दर्शकले गरिरहेको हुटिङमा यस्तो भयो कि मैले जितें कि उनले थाहै भएन । बोर्डमा नतिजा हेर्नै डर लाग्यो ।’ उनले स्वर्ण हात लागेको थाहा पाएपछि माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई ‘फ्लाइङ किस’ दिएकी थिइन् ।


यसअघि २ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितेकी गौरिका १ सय मिटर ब्याकस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोकमा रजतमा रोकिएकी थिइन् । स्वर्णमा केन्द्रित हुने क्रममा तीन व्यक्तिगत स्पर्धा त्यागेकी उनले डुआना लामा, तिसा शाक्य र अनुसिया तण्डुकारसँगै रिले (टिम स्पर्धा) मा तीन कांस्य पनि हात पारिन् । गुवाहाटीमा जितेको एक रजत र तीन कांस्यसहित कुल १३ पदक बनाएर उनी स्वर्गीय सुनीललाल जोशीको कीर्तिमान (१४ पदक) नजिक पुगेकी छन् । जोशीले भारोत्तोलनका ६ संस्करणमा ५ रजत र ९ कांस्य हात पारेका थिए ।

नयाँ प्रशिक्षकको प्रभाव


यसपालिको सफलताबारे गौरिकाले भनिन्, ‘नयाँ प्रशिक्षक (एडम टेयलर) सँगको ट्रेनिङले यहाँसम्म आइपुगेँ ।’ ‘ए’ लेबलमा अध्ययनरत उनले करिब एक वर्षयता लन्डनस्थित क्याम्डेन स्वीस कटेज स्वीमिङ क्लबमा टेयलरसँग प्रशिक्षण लिइरहेकी छन् ।


रियो ओलम्पिक २०१६ मा दस हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी खेलाडी रहेर विश्वमै चर्चा पाएकी गौरिकाले १३ औं सागलाई केन्द्रित गरी गत सेप्टेम्बरमा तयारी थालेकी थिइन् । तर एक महिनाअघि उनको बायाँ काँधमा गम्भीर चोट लाग्यो । ‘काँधमा चोट लागेपछि उनले साग खेल्न पाउँला कि नपाउँला भन्ने भएको थियो,’ गौरिकाकी आमा गरिमा राणाले भनिन्, ‘निजी रूपमा एआई जमलसँग फिजियोथेरापी गरायौं । निजी रूपमै स्ट्रेन्थ र कन्डिसनिङका लागि ट्रेनर ओमिद गोलानीसँग काम गर्‍यौं । फिजियो, प्रशिक्षक र ट्रेनरको टिमले नै यसपालि खेल्ने वातावरण बनाइदिएका हुन् । उनले जितिन् पनि । एकदमै खुसी लागेको छ ।’


छोरीको ट्रेनिङ र खेलको व्यवस्थापन पनि गर्दै आएकी गरिमाले नयाँ प्रशिक्षकको टेक्निक, रणनीति र मेन्टल स्ट्रेन्थको कार्यक्रमले छोरीको सफलता मिलेको पनि बताइन् । ‘प्रशिक्षकको कार्यक्रम उनलाई मिलेको र सफल भएकी हो । हामीले अरूका अभिभावकले जस्तै बच्चाको चाहना पूरा गर्नलाई साथ दिएको मात्रै हो,’ उनले बताइन् । १३ औं सागको पौडीको प्रतिस्पर्धा सुरु हुनु चार दिनअघि काठमाडौं आएकी गौरिकाले आफ्नो स्पर्धालाई लिएर हरेक दिन प्रशिक्षक टेयलरसँग सल्लाह गर्थिन् र त्यसैअनुसार रणनीति बनाएर सातदोबाटोस्थित नयाँ स्वीमिङ पुल (सर्ट कोर्स) मा पौडिइन् ।


लन्डनमा हुर्किरहेकी गौरिका स्कुल बिदामा स्वदेश फर्किएका बेला ११ वर्षको छँदै गौरिकाले साउन, २०७१ मा राष्ट्रिय खुला पौडीमा प्रतिस्पर्धा गर्दै आठ राष्ट्रिय कीर्तिमान बनाएर सनसनी मच्चाएकी थिइन् । त्यसयता उनले हरेकपल्ट घरेलु प्रतियोगितामा एकपछि अर्को गर्दै कीर्तिमान बनाइरहेकी छन् । यसबीच उनलाई प्रतियोगितामा सहभागी हुनबाटै रोक्नेसम्मको चलखेल पनि भयो । तर गौरिका रोकिइनन्् । उनले आफ्नो खेलमा आमाले बल गर्ने भन्दा पनि साथ दिएको बताइन् ।


‘स्वीमिङ अभ्यास गर्न भनेपछि छोरीले कहिल्यै पनि गाह्रो मानिनन्,’ सातामा १८ घण्टासम्म ट्रेनिङ गर्ने गौरिकाको पौडी प्रेमबारे गरिमा भन्छिन्, ‘सागमा नेपालका लागि स्वर्ण जित्ने उनको सपना थियो त्यो पूरा भयो ।’ नेपालले तेस्रोपल्ट आयोजना गरेको साग (पहिला साफ गेम्स) को समापनको मार्चपासमा राष्ट्रिय झन्डा बोक्ने जिम्मेवारीसमेत पाएकी गौरिकाले भने अर्को सपना देख्न थालिसकेकी छन् । ‘पहिला ओलम्पिक २०२० लाई छनोट हुनुपर्छ । अनि (अरू) हेर्नुपर्छ,’ उनले भनिन्, ‘सपना न हो हेर्नुपर्छ, गर्नुपर्छ ।’ नौ महिनापछि हुने ओलम्पिकको छनोटमै ध्यान केन्द्रित गर्ने उनले बताइन् ।


लन्डनमा कार्यरत सर्जन पारस सिंहकी छोरी गौरिकालाई यसपालि रिलेमा हात पारेको तीन कांस्य विशेष लागेको छ । ‘रिले टिमसँग एकदम राम्रो भयो किनभने हामीले १२ औं सागमा रिलेबाट मेडल जितेका थिएनौं । यसपालि हामीसँग अपेक्षा पनि थिएन । तीन कांस्य जित्यौं । यसले हामी अब अरू देशका लागि प्रतिस्पर्धी बनेका छौं ।’ उनलाई पछ्याउँदै भाइ सौरेन पनि राष्ट्रियस्तरको प्रतिस्पर्धामा ओर्लन थालिसकेका छन् ।

प्रकाशित : मंसिर २४, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा चुनाव माघ ९ मा

नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादीका १ सांसदको पदावधि फागुन २० बाट सकिँदै छ
राजेश मिश्र

काठमाडौँ — राष्ट्रिय सभाका रिक्त हुने एक तिहाइ सदस्यको चुनाव आगामी माघ ९ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले सोमबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मिति प्रस्ताव गरेका हुन् ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको २ वर्षे पदावधि आगामी फागुन २० मा सकिँदै छ । तीमध्ये अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुन् । उनको स्थानमा सोही प्रक्रियाबाट र बाँकी १८ जना निर्वाचनबाट चुनिने छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यले ०७४ फागुन २१ गते शपथग्रहण गरेका थिए ।

०७४ माघ २४ गते भएको निर्वाचनबाट चुनिएका र पछि राष्ट्रपतिबाट मनोनीत भएका तीन जनासहित राष्ट्रिय सभाका सांसदको पदावधि निर्धारण ०७५ असार ४ गते भएको गोलाप्रथाबाट गरिएको थियो । राष्ट्रिय सभाको पदावधि ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था छ ।

नेकपाका ९ जना युवराज खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटीको २ वर्षे पदावधि सकिन लागेको छ । त्यस्तै, कांग्रेसका ७ जना दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, बद्रिप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, विन्दादेवी आले राना, सरिता प्रसाईं र सुरेन्द्रराज पाण्डेको पद रिक्त हुँदै छ । राष्ट्रिय सभामा रहेका राजपाका २ जना रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि सकिन लागेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेकाले सोहीअनुसार मिति सिफारिस गरिएको बताए । प्रधानमन्त्रीलाई भेट्नुअघि आयोगले राजनीतिक दलका प्रतिनिधिसँग राष्ट्रिय सभा चुनाव सन्दर्भमा छलफल गरेको थियो । राष्ट्रिय सभाको चुनावका लागि दल दर्ता, निर्देशिका, मतदाता नामावली अद्यावधिक गर्नुपर्ने, प्रदेश स्तरमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याउनुपर्नेलगायत तयारी आवश्यक भएकाले आयोगले सोमबारकै मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका छन् । त्यसबाहेक प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना गरी ८/८ जना निर्वाचित भएका छन् । पहिलो चुनावमा २४ सिट निर्विरोध भएपछि ३२ सिटमा मात्रै चुनाव भएको थियो । सभामा मनोनीतबाहेक नेकपाका ३९, कांग्रेसका १३ तथा समाजवादी र राजपाका २/२ सदस्य छन् ।

मतदान एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट भएको थियो । एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३/३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट भएको थियो । यसपटक प्रदेशगत रूपमा क्लस्टरबाट एक/एक जनाको मात्रै छानिने भएकाले चुनाव बहुमतीय प्रणालीबाटै हुने प्रमुख आयुक्त थपलियाले बताए ।

राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।

प्रकाशित : मंसिर २३, २०७६ २२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×