महिला कबड्डीमा नेपाललाई रजत

राजेन्द्र नाथ

काठमाडौँ — १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ । 

महिला कबड्डीमा नेपाललाई रजत

मध्यान्तरअघि भारतलाई राम्रो टक्कर दिए पनि त्यसपछि लय गुमाउँदा नेपाली महिला कबड्डी टोलीको घरेलु मैदानमा स्वर्ण पदक जित्ने इच्छा अधुरै रह्यो । सोमबार हल्चोकस्थित सशस्त्र प्रहरीको कभर्डहलमा रजतमै चित्त बुझाउन बाध्य भयो नेपाल । भारतसँग ५०–१३ अंकको पीडादायी हारपछि कप्तान कोषमाया बस्नेत सम्हालिन सकिनन् । उनी धेरैबेर भक्कानिइन् । ‘यस्तो चान्स अब आउँदैन,’ उनले भनिन्, ‘डिफेन्समा धेरै कमजोरी भए, टोलीमा समन्वयसमेत अभाव देखियो ।’


मध्यान्तरअघि (१५ मिनेट) सम्म ४ अंकले मात्र पछाडि थियो नेपाल । कबड्डीमा दक्षिण एसियाकै ‘सुप्रिम पावर’ मानिने भारतले १४ अंक बटुल्दा नेपालले १० अंकसाथ चुनौती दिइरहेको थियो । घरेलु दर्शकको चर्को हुटिङले उत्साही नेपाली टोलीले मध्यान्तरअघि सुधारिएको खेल प्रदर्शन गर्‍यो । त्यसपछि भने दर्शकलाई निराश पार्दै नेपालले बिर्सनलायक खेल खेल्यो । १५ मिनेट अवधिमा टोलीले ३ अंकमात्र बटुल्न सक्यो । उसको प्रतिस्पर्धी भारतले भने ३६ अंक जम्मा गर्‍यो । नेपाली डिफेन्सलाई भारतीय खेलाडीले चकनाचुर पारे । चार पटकसम्म नेपाल लोना भोग्न बाध्य भयो । हारसँगै दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको ऐतिहासिक स्वर्ण पदक जित्ने चाहनामा तत्कालका लागि पूर्णविराम लागेको छ ।


रजतमै सीमित भए पनि नेपाली महिला कबड्डीका लागि यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । बलियो आँकिएका श्रीलंका र बंगलादेशलाई हराएर साग इतिहासमा पहिलोपल्ट नेपालले फाइनलसम्म यात्रा तय गरेको थियो । ‘भारतका जुन खेलाडीका लागि हामीले जस्तो रणनीति बुनेका थियौं । त्यसको विपरीत उसले आज छुट्टै टोली मैदानमा उतार्‍यो,’ मुख्य प्रशिक्षक तारासिंह भाटले भने, ‘हाम्रो रणनीति काम लागेन । उनीहरूले हाम्रो डिफेन्स तहननहस पारिदिए ।’


यसअघि भारतलाई लिग चरणमा भेटेको थियो नेपालले । त्यसमा पनि भारतले ४१–१९ को नतिजा निकालेको थियो । बंगलादेशलाई भने नेपालले ३६–२५ र श्रीलंकालाई २८–२४ अंकसाथ पछाडि पार्दै फाइनल पक्का गरेको थियो । केही दिनअघि महिला भलिबलमा पनि यस्तै रोचक दृश्य दोहोरिएको थियो ।


पुरुषमा पनि भारत

भारतले पुरुषतर्फ पनि आफ्नो पक्षमा पारेको छ । हल्चोकस्थित कभर्डहलमा भएको फाइनलमा श्रीलंकाविरुद्ध ५१–१८ को नतिजा निकाल्दै भारतले स्वर्णमाथि कब्जा जमाएको हो ।



प्रकाशित : मंसिर २३, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?