महिला फुटबल फाइनल आज : ‘आइस ब्रेक’ को दाउमा नेपाल 

दीपक परियार

पोखरा — लिग चरणमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेर अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएपछि स्ट्राइकर सावित्रा भण्डारीले दुई हत्केला पड्काउँदै हुंकार छाडेकी थिइन्, ‘अब भारतलाई देखाउने बेला आएको छ । उसलाई हाम्रै भूमिमा हराउँछौं ।’

महिला फुटबल फाइनल आज : ‘आइस ब्रेक’ को दाउमा नेपाल 

माल्दिभ्सलाई ३–० ले हराउँदा नेपाली महिला फुटबलका प्रशिक्षक हरि खड्काले भनेका थिए, ‘सबै अवसर सदुपयोग गर्न सकेनौं । केही अवसर भारतसँगको खेललाई साँचेर राखेका छौं ।’ १३ औं सागको लिग चरणमै शनिबार भारतसँग नेपाल १–० ले पराजित भयो ।


पोखराको मैदानमा चार देश महिला फुटबलमा भिडे । श्रीलंका र माल्दिभ्सले एक खेल पनि जित्न नसकेपछि भारत र नेपाल लिग चरण सकिनुअगावै फाइनल पुगेका थिए । समूह विजेता र उपविजेता छुट्याउन शनिबार दुई देशबीच खेल भयो । खचाखच दर्शकबीच भएको खेललाई धेरै ‘प्रिभ्यू म्याच’ को रुपमा हेरे । आत्मविश्वासी देखिएको भारतले जित आफ्नो पक्षमा पार्‍यो । भारतसँग पराजित भएपछि कुनैबेलाका स्टार फुटबलर खड्काले भने, ‘अहिले पनि केही अवसर सदुपयोग गर्न सकिएन, अर्को खेलमा यस्तो गल्ती दोहोरिँदैन ।’


उनले टिम सम्हालेपछिको यो दोस्रो हार थियो । उनी आएपछि शनिबारको खेलसँगै नेपालले भारतसँग चारपल्ट खेल्यो । दुईमा नेपाल पराजित भयो । एकमा भारतलाई हरायो र एकमा बराबरी खेल्यो । भारतमा भएको हिरो महिला गोल्डकपमा भारतलाई २–१ ले हराउँदै नेपाल फाइनल पुगेर म्यान्मारसँग पराजित भएको थियो । त्यसअघि म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेल्यो । गत साफ च्याम्पियनसिपमा घरेलु मैदानमै भारतसँग नेपालले पराजय ब्यहोर्‍यो । साफका ५ संस्करण भारतले जित्दा ४ पल्ट नेपाल फाइनल पुगेको छ । दक्षिण एसियाको महिला फुटबलमा भारत र नेपाल दुई ‘जायन्ट’ टिम हुन् ।


साग सुरुआतको ३२ वर्षे इतिहासमा नेपालले तेस्रोपल्ट महिला फुटबलमा सहभागिता जनाएको छ । बंगलादेशमा भएको ११ औं सागमा पहिलोपल्ट महिला फुटबल समावेश गरिएको थियो । १२ औं साग भारतको सिलोङ र गुहावटीमा भयो । दुवैपल्ट नेपाल र भारत फाइनलमा पुगे । दुवैपल्ट भारतले जित्यो । ढाकामा ३–१ ले भारतसँग पराजित भएको नेपालले सिलोङमा अन्तर कम गर्दै २–१ बनायो । फिफा बरियतामा भारत नेपालभन्दा झण्डै दोब्बरले अगाडि छ । भारत ५७ औं स्थानमा हुँदा नेपाल १ सयौं स्थानमा छ ।


शनिबारको खेलमा तुलनात्मक रुपमा भारतीय खेलाडी बढी आत्मविश्वासी देखिए । धेरै दबाबमा खेलेनन् । नेपालले खेल आफ्नो नियन्त्रणमा लिएपनि स्कोर गर्न सकेन । त्यसो त भारतको डिफेन्स, स्ट्राइकर, गोलकिपर सबै उत्तिकै बलिया छन् । नेपालको स्ट्राइकर केही फितलो भएको महसुस हुन्छ । सावित्रा दक्षिण एसियाकै स्टार स्ट्राइकर हुन् । तर उनको ‘सर्पोटिङ’ मा अर्को स्ट्राइकर नभएको देखिन्छ ।


फुटबल विश्लेषक आनन्द रञ्जित शनिबार नेपालले भारतसँग ६०/४० मा खेलेको बताउँछन् । खेल आफ्नो नियन्त्रणमा हुँदाहुँदै पनि गोल गर्न नसक्नु नेपालको कमजोरी रहेको उनले बताए । ‘भारतीय खेलाडी धेरै बचेर खेले, नेपाल केही आत्तिएको देखिन्थ्यो,’ उनले भने, ‘भारतले फाइनलका लागि साँचेको हुनसक्छ ।’


नेपालको खेल राम्रो रहेको र त्यहीं स्तरमा खेले फाइनलको नतिजा उल्टन सक्नेमा उनी ढुक्क छन् । ‘अघिल्लो खेलकै हिसावले खेल्ने र स्कोरमा ध्यान दिने हो भने नेपाल हाबी हुन सक्छ,’ उनी भन्छन्, ‘जितको सम्भावना ५०/५० कै छ ।’


नेपाली टिम भदौको तेस्रो साता कीर्गिस्तानमा भएको नादेझ्दा कपमा सहभागी भए । त्यसले प्रशिक्षणकै काम गर्‍यो । घरेलु मैदानलाई बुझ्ने अवसर नेपाली टिमले पाएनन् । निर्माण नसकिँदा खेल हुनुभन्दा २ दिन अघि मात्रै नेपाली खेलाडीले पोखराको मैदान टेके । सावित्रा र अनिता बस्नेत पछिल्लो भारतीय आईलिग विजेता सेथु क्लबमा खेलेका थिए । त्यतिबेला भारतीय खेलाडीलाई नजिकबाट नियाले । यसैको फाइदा उनीहरुले फाइनलमा लिन सक्नेछन् । बालादेवी लगायत बलिया स्ट्राइकर बोकेर भारत जितको शृंखला लम्ब्याउँने ध्याउन्नमा छ । निरु थापाको कप्तानीमा नेपाली टिमले भोरतो जितको शृंखलामा ‘आइस ब्रेक’ गरेर इतिहास रच्ने दाउँमा छ ।


भारतकी मुख्य प्रशिक्षक मेमोल रक्की फाइनलमा आफ्नो टिमले आक्रामक नै खेल्ने रणनीति अपनाउने बताउँछिन् । टिमका खेलाडी एकढिक्का हुनुलाई उनी भारतको बलियो पक्ष मान्छिन् । नेपालका प्रशिक्षण हरि खड्का भारतको कमजोरी पत्ता लगाएर त्यसैले खेल्ने तरखरमा छन् । सम्भवतः उनले सोमबारको खेलमा खेलाडी हेरफेर गर्नेछन् । उनी भन्छन्, ‘यसपल्ट अवसर खेर जान दिन्नौं ।’

प्रकाशित : मंसिर २३, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?