कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'प्रशिक्षकबिनाको खेलाडी'

राजु घिसिङ

काठमाडौँ — १३ औं सागमा स्वर्णपदकको आशा गरिएका खेलाडीहरू पहिलो दिन आइतबार एकपछि अर्को गर्दै चुकिरहेको बेला देविका खड्काले सफलता दिलाइन् । उनले चार खेलाडी रहेको ५२ केजीमुनिको स्पर्धामा राउन्ड रोबिन लिगमा शतप्रतिशत जित हासिल गर्दै यो सागमा नेपाललाई जुडोबाट पहिलो स्वर्ण दिलाएकी हुन् ।

झापाकी २९ वर्षीया देविकाले पहिलो खेलमा श्रीलंकाकी गेदारा हाथुरुसिंगेलाई इप्पोन प्रहार गर्दै पन्छाएकी थिइन् । उनको भेट त्यसपछि भारतकी गायत्री टोकाससँग भयो । दक्षिण एसियाली जुडोको महारथी भारतको यो स्पर्धा नम्बर एक खेलाडीविरुद्ध देविकाको प्रतिस्पर्धा रोमाञ्चक रह्यो । निर्धारित ४ मिनेट बिनाअंक टुंगियो ।

त्यसपछि ‘गोल्डेन स्कोर’ को चौथो मिनेटमा गायत्रीले तेस्रो पहेंलो कार्ड पाएपछि देविकाको स्वर्णपदक लगभग पक्का बनेको थियो । जुडोमा हरेक गल्ती गरेपछि पहेंलो कार्ड दिइन्छ र तीन पहेंलो कार्ड पाउने खेलाडी प्रतिस्पर्धाबाट बाहिरने गर्छन् ।

एपीएफकी देविकाले तेस्रो खेलमा बंगलादेशकी ताबासुम जेरिनलाई पनि तीन पहेंलो कार्डकै आधारमा पराजित गर्दै स्वर्ण चुमेकी हुन् । खेल सकिन ४१ सेकेन्ड बाँकी छंदा जेरिनले तेस्रो गल्ती गर्न पुगेकी थिइन्, जसले नेपाललाई १३ औं सागमा ४४ औं स्वर्णपदक दिलायो । नेपाली सेनाको लगनखेलस्थित शारीरिक तथा खेलकुद केन्द्रको हलको एक किमि नजिकै केहीबेरमै गौरिका सिंहले पौडीमा कीर्तिमान बनाउँदै देशलाई ४५ औं स्वर्ण दिलाएकी थिइन् ।


स्वर्ण जितेपछि देविकासँग गरिएको कुराकानी उनकै शब्दमा :


कुमारखोत, झापामै २०५३ सालदेखि नै जुडो खेल्न थालेकी थिएँ । सुरुमा हरि श्रेष्ठले सिकाउनुहुन्थ्यो । पछि गंगा खड्काले । त्यो बेला झापा च्याम्पियन पनि बनें । छैटौं राष्ट्रिय खेलकुद २०६८ मा कांस्य जितेपछि राष्ट्रिय जुडो टिममा मौका पाउन थालें ।

सातौं राष्ट्रिय खेलकुदमा मैले पाएको अंक नदिएपछि खेल हार्नुपरेको थियो । त्यसपछि झन् मिहिनेत गर्न थालें । साह्रै दुःख (मिहिनेत) गरें । आठौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक जितें । लुम्बिनी च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी भएँ । राखेप च्याम्पियनसिप जिते । एसियाली खेलकुद दुईपल्ट (सन् २०१४ र २०१८) खेलेकी छु तर दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपल्ट सहभागी भएकी हुँ । १२ औं सागको छनोटमा मनिता श्रेष्ठ प्रधानसँग हारेकी थिएँ ।

दक्षिण एसियामा हामीभन्दा बलियो टिम हो भारत । त्यसैले कता–कता डर लागेको थियो । तर, दोस्रो चरणमा भारतीय खेलाडीलाई पराजित गरिसकेपछि शतप्रतिशत स्वर्ण जित्छु भन्नेमा कन्फिडेन्ट भएँ । अन्तिम चरणमा बंगलादेशकी खेलाडीलाई हराएर स्वर्ण जितें । पहिलोपल्टै सागमा स्वर्ण जित्दाको खुसी शब्दमा भन्नै सक्दिनँ ।

यसपालि हामीले मंगोलियामा गएर हिउँ र आइसमा २०–२२ दिन ट्रेनिङ गरेका थियौं । पहिला यस्तो अवसर नेपाली जुडो खेलाडीले पाएको थिएन । त्यसैले यसपालि स्वर्ण जित्छु भन्ने चाहिँ मनमा लागेको थियो । जब यहाँ (स्वदेश) आएँ, हिजो ‘वोइङ’ गर्दा प्रतिद्वन्द्वीहरूलाई देखें, त्यसै बेला भोलि स्वर्ण जित्छु भन्नेमा ढुक्क भएकी थिएँ ।

स्वर्ण जित्ने खेलाडीको रुपमा लिइएकाहरू एकाएक हारेपछि मलाई दबाब त भएको थियो नै । सबैले उनीहरूलाई फोर्स (ऊर्जा) दिइरहँदा मलाई भने म एक्लै छु कि जस्तो महसुस भइरहेको थियो । मलाई चाहिँ फोर्स नगरेको हो कि जस्तो लागिरहेको थियो । तर, त्यो कुरालाई मनमै राखे र आज स्वर्ण जितेर देखाएँ । खुसी लागेको छ ।

मैले स्कुलमा छँदै च्याम्पियनसिपमा जितेर झापामा ३२ वटा म्याट भित्र्याएकी थिएँ । त्यो बेला पनि राम्रो गर्नसक्थें होला । तर, प्रशिक्षकबिना खेलिरहेकी थिएँ । नौ वर्षयता सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा छु । एपीएफमा हामी ६ जना खेलाडी थियौं हालै थपिएर १० जना भएका छौं । राष्ट्रिय टिममा म एक्लै हो । तर, यहाँ म नै सिनियर खेलाडी हुँ । हामी एमएमसी (बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र) र रंगशाला (दशरथ) मा ट्रेनिङ गर्छौं । प्रशिक्षक छैन । प्रशिक्षकबिनाको खेलाडी हुँ म । आफ्नै मिहिनेतले यहाँसम्म आइपुगकी हुँ ।

पूरा हुन्छ, हुँदैन थाहा छैन तर ओलिम्पक खेल्ने धोको छ मेरो । सागलक्षित गरी ६ महिना बन्द प्रशिक्षणमा रहेर तयारी गरेका थियौं । जसरी पनि स्वर्ण जित्नुपर्छ यसपालि भनेर तयारी गरेको थिएँ । गरेर देखाउनुपर्छ भन्ने थियो, त्यो पूरा गरें । किसानकी छोरी हुँ । परिवारले पनि छोरीले केही गरोस्, पदक ल्यओस् भन्ने चाहेको थियो । त्यो चाहना आज पूरा भयो ।

प्रकाशित : मंसिर २३, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

कबड्डीमा चुपचाप इतिहास

फाइनल प्रवेश गरेसँगै नेपाली महिला कबड्डी टोलीले एउटा इतिहास बनाइसकेको छ । भारतलाई पन्छाएर के सागमा अर्को स्वर्णिम इतिहास रच्ला ?
राजेन्द्र नाथ

काठमाडौँ — हल्चोकस्थित सशस्त्र प्रहरीको कभर्डहलमा दशरथ रंगशाला र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा जस्तो तडकभडक छैन । न दर्शकको हल्ला सुनिन्छ । न त त्यहाँ धेरै मिडियाकर्मी नै पुगेका छन् । खेलाडी शान्त माहोलमा खेलिरहेको दृश्य आकर्षक देखिन्छ । कतिपयलाई थाहा नहुन सक्छ त्यही माहोलभित्र महिला कबड्डीले चुपचाप एउटा इतिहास लेखिसक्यो । अर्को स्वर्णिम इतिहास सन्निकट छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को इतिहासमै नेपाली महिला कबड्डी टोली पहिलोपल्ट फाइनल पुगेकोछ । सोमबार हल्चोकमै नेपालले स्वर्णका लागि बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । यसअघिको भेटमा भारतले बाजी मारेको थियो । उसलाई नपन्छाए पनि रजत पदक भने पक्का छ ।

अरू खेलको चर्चाबीच महिला कबड्डीको सफलता भने ओझेलमा परेको छ, यसो हुनुको एउटा कारण खेलस्थल टाढा हुनु र त्यो ठाउँमा एउटै खेल आयोजना गरिनु पनि होला । तर मिडियाहरूले यथोचित स्थान नदिएकामा प्रशिक्षक र खेलाडी भने असन्तुष्ट सुनिए ।

कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट शनिबार चिनारु पत्रकारलाई फोन गरेर फाइनलबारेमा जानकारी र आमन्त्रणको निम्तो दिइरहेका थिए । उनको चित्त दुखाई सामाजिक सञ्जालमा पनि देखियो । फेसबुकमा लेखेका छन्, ‘१३ औं सागमा महिला कबड्डी खेलाडीले नयाँ इतिहास कायम गरेका छन् । भलिबलमा जस्तै इतिहास बनाएर फाइनलका लागि तयार महिला कबड्डीको चर्चा मिडियामा नभएको प्रति खेलाडीमा निराशा छाएको छ ।’

महिला कबड्डी टोलीकी कप्तान कोषमाया बस्नेतको पनि त्यस्तै गुनासो छ । ‘मिडियाले चासो नै दिएनन् । अरू खेलको लाइभ आउँछ । हाम्रोमा समाचारकै लागि पनि पत्रकार पुग्दैनन् । घरबाट बुवाआमाको फोन आउँछ । टीभीमा समाचार हेर्नुस् भन्यो, आउँदैन,’ उनले भनिन्, ‘परिवारका अगाडि पनि लाज हुन्छ । भलिबलले झैं इतिहास बनायौं । तर कतै त्यसको अभिलेखीकरण नहुँदा दुःख लागेको छ ।’

मार्सल आर्ट्स र व्यक्तिगत स्पर्धाको कुरा बेग्लै । टिम गेममा फाइनलमा पुग्नुको अर्थ र महत्त्व धेरै छ । महिला कबड्डीले पनि आफ्नो घरेलु भूमिमा त्यही इतिहास कोरेको छ । साग सुरु हुनुभन्दा केही दिनअगाडि मात्रै महाराष्ट्रको कोलापुरबाट स्वदेश फिरेको कबड्डी टोलीको फाइनल प्रवेशलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । ‘यसअघि भारतसँग हारे पनि उसका कमजोरी पत्ता लगाएका छौं । दिमाग लगाएर खेल्नेछौं । इतिहास लेख्ने अवसर आएको छ । त्यो हातबाट फुत्किन दिनेछैनौं,’ कप्तान बस्नेतले भनिन् ।

पुरुष कबड्डीमा उल्लेख्य केही गर्न नसके पनि महिलाले भने आशा देखाएको मुख्य प्रशिक्षक भाटले बताए । टोलीको प्रदर्शनले सन्तुष्ट देखिएका भाटले भने, ‘भारतविरुद्ध जितका लागि त्यहीअनुरूप तयारी, रणनीति र योजना बनाएका छौं । हामी जिते नजिक पुगेका छौं ।’ भाट महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिँदै आएका छन् ।

भारत कबड्डीमा बलियो मानिन्छ । दक्षिण एसियाका अन्य मुलुकको तुलनामा उसको स्तर धेरै माथि छ । बंगलादेश र श्रीलंकालगायत देशको पनि स्तर नेपालको भन्दा उच्च थियो । यसपटक भने नेपाली टोलीले बंगलादेशलाई ३६–२५ र श्रीलंकालाई २८–२४ अंकले पन्छाएको थियो । भारतसँगको खेल भने गुमाएको थियो । केही दिनअघि भलिबलमा पनि यस्तै दृश्य दोहोरिएको थियो । बंगलादेश र श्रीलंकालाई जिते पनि भारतसँग हारेको महिला भलिबल टोली अंकका आधारमा फाइनलमा फेरि भारतसँगै भिडेको थियो । कबड्डीमा पनि त्यही परिदृश्य दोहोरिएको छ ।

दक्षिण एसियामा कबड्डीको ‘सुप्रिम पावर’ नै मानिन्छ भारत । बंगलादेशको राष्ट्रिय खेल नै कबड्डी भएबाटै बुझ्न सकिन्छ उसले यो खेललाई दिएको प्राथमिकता । भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र नेपालले यसपटकको सागमा भाग लिएका थिए ।

कबड्डीमा नेपालको अन्तर्राष्ट्रिय सहभागिताको इतिहास लामो भए पनि जितको संयोग भने बिरलै जुरेको छ । परम्परागत शक्ति भारतसँगको फाइनल प्रतिस्पर्धालाई निकै संघर्षपूर्ण आँकिएको छ । तर घरेलु मैदान र समर्थकमाझ परिणाम आफ्नो पक्षमा पार्ने ठूलो दबाबबीच महिला कबड्डी टोली गुज्रिरहेको छ । ‘मैदान र समर्थक हाम्रो साथमा छन्, खेलाडीले पनि त्यहीअनुरूप निकै मिहिनेत गरिरहेका छन्,’ मुख्य प्रशिक्षक भाटले भने, ‘महिला टोलीलाई फाइनलसम्म पुर्‍याउने सुरुआती लक्ष्य थियो । त्यो लक्ष्य पूरा भइसकेको छ । अब स्वर्ण हात पार्ने दाउमा छौं ।’

महिला खेलाडीलाई साउनदेखि नै मुख्य प्रशिक्षक भाट, सहायक प्रशिक्षकद्वय पार्वती राई र विष्णुदत्त भट्टले प्रशिक्षण दिँदै आएका छन् । बंगलादेशमा सम्पन्न ११ औं सागमा पुरुष खेलाडीले कांस्य पदक हात पारेका थिए ।
महिला खेलाडीले पनि बंगलादेश र तीन वर्षअघि भारतको गुवाहाटी–सिलोङमा सम्पन्न १२ औं सागमा देशका लागि कांस्य भित्र्याएका थिए । यसपल्ट पुरुषमा राम्रो नतिजा नआए पनि महिलामा भने नेपाल फाइनलमा पुगेको छ । गुवाहाटी सागमा महिलाले कांस्य जित्दाका खेलाडी कोषमाया र मेनुका राजवंशी टोलीका मेरुदण्ड बनेर मैदानमा छन् ।

महिला टिम
कोषमाया बस्नेत, मेनुका राजवंशी, अनुजा कुलुङ राई, मानमती विष्ट, गंगा धामी, कमला थापा, हरिना थापा, जयन्ती बडू, रविना चौधरी, इसुदा गिरी, पुस्तिका चौधरी र सरिता भुजेल

प्रकाशित : मंसिर २३, २०७६ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×