कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

बक्सिङमा नेपाल–भारत स्वर्णका लागि भिड्ने

कुशल तिमल्सिना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको तेस्रो दिन आइतबार थप दुई नेपाली खेलाडीले फाइनलमा स्थान बनाएका छन् । कुल १६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालका ९ खेलाडीले फाइनल खेल्नेछन् । फाइनल खेल सोमबार र मंगलबार हुनेछ । 

बक्सिङमा नेपाल–भारत स्वर्णका लागि भिड्ने

सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगितामा आइतबार महिला ५१ केजीमुनि माला राईले श्रीलंकाकी कोसाला निल्मिनीलाई पराजित गरी कम्तीमा रजत पदक पक्का गरिन् । मालाले स्वर्णका लागि भारतकी पिंकी रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा पिंकीले पाकिस्तानकी अजिज राजिया बानोलाई अंकका आधारमा हराइन् ।

पुरुष ६० केजीमुनि नेपालका सनिल शाहीले श्रीलंकाका जीवान्था निशान्कालाई अंककै आधारमा हराउँदै फाइनलमा भारतका वीरेन्दर सिंहसँगको भेट पक्का गरे । सेमिफाइनलमा वीरेन्दरले बंगलादेशका सुराकृष्ण चाकमालाई अंकका आधारमा हराएका हुन् ।

पुरुष लाइट हेभीवेट ८१ केजीमुनिमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीका आधारमा हराए फाइनलमा स्थान बनाए । उनले स्वर्णका लागि श्रीलंकाका रुमेश सन्दकेलुमसँग खेल्नेछन् । रुमेशले सेमिफाइनलमा पाकिस्तानका अवाइस अली खानलाई अंकका आधारमा ढाले ।

महिला ५७ केजीमुनि चन्द्रकला थापा श्रीलंकाकी कृष्मी अयोमा दुलान्जसँग अंकका आधारमा पराजित भएपछि कांस्यमै सीमित भइन् । दुलान्जले स्वर्णका लागि भारतकी सोनिया लाथरसँग प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा सोनियाले पनि पाकिस्तानकी मेहरिनलाई पराजित गरेकी हुन् । पुरुष ५२ केजीमुनिमा नेपालका तेजबहादुर देउवाले भारतका स्पर्श कुमारसँग अंकका आधारमा पराजय बेहोरे । फाइनलमा स्पर्श र पाकिस्तानका मोहम्मद अफिफ सायेदबीच प्रतिस्पर्धा हुनेछ । अफिफले सेमिफाइनलमा श्रीलंकाका इरान्डा लासिनुलाई पराजित गरेका हुन् ।

पुरुष ६९ केजीमुनि नेपालका विकास लामा पनि भारतका कृशन विकाससँग अंकका आधारमा पराजित हुँदै कांस्यमै सीमित भए ।

बक्सिङका ८ स्पर्धाका फाइनल सोमबार हुनेछ । सोमबार महिला ४८ केजीमुनि ललिता महर्जनले भारतकी कलाइभिनी श्रीनिवासनसँग प्रतिस्पर्धा गर्नेछिन् । ५४ केजीमुनिमा नेपालकी मीनु गुरुङले पनि भारतकी शिक्षासँग स्वर्णका लागि खेल्नेछिन् ।

६० केजीमुनि संगीता सुनारले भारतीय प्रभिनसँग नै खेल्नेछिन् । पुरुष ६९ केजीमुनिमा भूपेन्द्र थापाले भारतका मनीष कौसिकसँग खेल्नेछन् । यसबाहेक सोमबार पुरुष ४९ केजी, ५६ केजी, ७५ केजी र ९१ केजी तौलको फाइनल खेल हुनेछ । बाँकी ८ स्पर्धाको फाइनल १३ औं सागको अन्तिम दिन मंगलबार हुनेछ ।

नेपालका ८१ केजीका गणेश प्रधानबाहेक सबै खेलाडीको फाइनल प्रतिस्पर्धी भारतीय नै छ । नेपाली बक्सिङ टोलीका प्रशिक्षक प्रकाश थापामगरका अनुसार दक्षिण एसियाली क्षेत्रमा निकै बलियो टोली भारतीय बक्सरसामु फाइनलमा चुनौती पस्कन नेपाली बक्सरलाई घरेलु रिङ र समर्थकको हौसलाले थप सहयोग पुग्नेछ ।

‘सत्य कुरा भन्नुपर्दा दक्षिण एसियामा हामीभन्दा भारतको स्तर निकै माथि छ । उनीहरूले एसियाली खेलकुद र विश्व च्याम्पियनसिपमा पदक जितिसकेका छन् । हामीले २ देखि ३ वटासम्म स्वर्णको अपेक्षा गरेका छौं, हाम्रै भूमिमा आयोजना भएको प्रतियोगिता र घरेलु समर्थकले हाम्रा खेलाडीलाई थप हौसला पुर्‍याउने छन्,’ आठौं साफका स्वर्ण विजेता थापामगरले भने ।


प्रकाशित : मंसिर २३, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?