कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल अन्ततः फाइनलमा

हिमेश

काठमाडौँ — अन्ततः नेपालले आइतबार फुटबलको फाइनल यात्रा तय गरेको छ । भन्न सक्ने स्थितिमा पुगेको छ, हामी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा सम्मिलित पाँच टिममध्ये शीर्षस्थानमा रह्यौं । अझ राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगितमा नेपाल नै एकमात्र यस्तो टिम रह्यो, जसले कुनै पनि खेल गुमाएन ।

नेपाल अन्ततः फाइनलमा

यस्तोमा नेपाल फाइनल प्रवेशको पूर्णतः हकदार रह्यो । अब फाइनलमा नेपालले स्वर्ण पदकका लागि भुटानको सामना गर्नेछ ।

फाइनल मंगलबार हुनेछ । दशरथ रंगशालामा भएको लिग चरणको खेलअगाडि नेपाललाई फाइनल पुग्नका लागि हार टार्नु थियो, त्यसैले टिम दबाबमा देखियो । नेपालले अघिल्लो दिनमात्र माल्दिभ्सविरुद्ध उत्तिकै तनावपूर्ण खेल खेलेको थियो । त्यसैले पनि खेलाडी मानसिक र शारीरिक रूपमा थाकेका देखिए । त्यसैले नेपालले परिस्कृत खेल पस्कने सकेन । बंगलादेशविरुद्ध दबाबमा खेल्न बाध्य रह्यो ।


बंगलादेशले नेपाललाई दबाबमा राख्ने लगातार प्रयास गरेको थियो । जतिबेला टिमलाई हारबाट जोगिन मात्र आवश्यक हुन्छ, त्यति उसको प्रदर्शन यस्तै हुन्छ । केही न केही नपुगेको जस्तो । तर खेलको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा नेपाल निर्णायक गोल निकाल्न भने सफल रह्यो । नेपालका लागि नायक रहे सुनील बल । कप्तान सुजल श्रेष्ठले निकालेको सुझबुझपूर्ण पासमा सुनीलले उत्तिकै चलाखीपूर्ण प्रहार गरे । त्यसमा बल ज्यामितीय कोण तयार पारेर ११ औं मिनेटमा गोलमा परिणत भएको थियो ।


नेपालको ५ खेलपछि १० अंक भएको छ । फाइनल पुगेको अर्को टिम भुटान ९ अंकसहित दोस्रो स्थानमा

रह्यो । बंगलादेश भने ४ अंकमा तेस्रो स्थानमै रह्यो र उसको नाममा कांस्य पदक रह्यो ।


‘हामी यहाँ स्वर्ण पदक जित्न आएका थियौं, तर कांस्यमै सीमित रह्यौं । कम्तीमा हामी खाली हात फर्कनुपरेन । हामी आफ्नो पहिलो खेलमा पराजित रह्यौं र यही कारणले हाम्रो स्थिति कमजोर रह्यो । रेफ्रीको निर्णय अत्यधिक कमजोर रह्यो, त्यसैले पनि हामी भाग्यशाली रहेनौं,’ बंगलादेशी प्रशिक्षक जेम्स डेले भने ।


राम्रो टिमले जितेन

डेले खेलको विश्लेषण गर्दै यस्तो भने, ‘आज राम्रो खेल्ने टिमले जितेन । आज हामीले राम्रो खेल्यौं, तर गोल निकाल्न सकेनौं । फुटबलमा जित्न गोल गर्नुपर्ने हुन्छ र हामी यसमा चुक्यौं ।’ उनको यो भनाइ व्यावसायिक प्रशिक्षकको दाबी जस्तै थियो ।


त्यसको जवाफमा नेपाली प्रशिक्षक बालगोपाल महर्जनले फर्काएको उत्तर भने गैरव्यावसायिक पाराको थियो । उनले भने, ‘हामीले साँच्चै आज राम्रो खेल्न सकेनौं, दबाबमा रह्यौं । लगातार खेल्नुपरेकाले त्यस्तो भएको हो ।’


विशेषतः खेलले एक घण्टाको समय छोएयता नेपाली खेलाडी पूर्णतः थाकेका देखिए । त्यसको फाइदा उठाएर बंगलादेशी खेलाडीले ‘फिजिकल गेम’ खेल्ने प्रयास गरे । यसैक्रममा खेलले तनावपूर्ण रूप लिन थालेको थियो र बंगलादेश अन्त्यतिर १० खेलाडीमा सीमित हुन बाध्य रह्यो ।


बंगलादेशी कप्तान जमल भुयनले नेपालका सब्स्टिच्युट खेलाडी राजेश परियारमाथि हातले प्रहार गरे । उनी मैदान छाडेर बाहिर मात्र के पुगेका थिए, खेलमा पनि पूर्णविराम लागेको थियो ।


कीर्तिमान बन्ने क्रम

जतिबेला नेपाली टिम मंगलबार फाइनलमा उत्रनेछ, त्यो प्रशिक्षक महर्जनसँगै उनका सहयोगी राजेश मानन्धर र मृगेन्द्र मिश्रका लागि खेलाडी र प्रशिक्षक दुवैका रूपमा स्वर्ण जित्ने अवसर हुनेछ । सन् १९९३ मा नेपालले स्वर्ण जित्दाको टिमका सदस्य थिए, उनीहरू तीनै जना । सन् १९९९ मा नेपालले रजत जित्दाको टिमका सदस्य थिए, बालगोपाल । सन् २०१६ मा नेपालले स्वर्ण जित्दा पनि गोलकिपर प्रशिक्षक मिश्र नै थिए ।


नेपाल दक्षिण एसियाली खेलकुद इतिहासमा पुरुष फुटबलको फाइनल पुगेको यो छैटौंपल्ट हो । काठमाडौंमा भएका प्रत्येक संस्करणमा नेपाल फाइनल पुग्न सफल हुँदै आएको छ ।


नेपालले भुटानलाई हराएर स्वर्ण जित्ने हो भने त्यो चौथो हुनेछ । यसक्रममा पाकिस्तानको कीर्तिमान बराबरी गर्नेछ । पाकिस्तानले यसअघि चारपल्ट स्वर्ण जितेको छ । भारतसँगै नेपालले तीनपल्ट स्वर्ण जितेको छ भने बंगलादेश दुईपल्ट च्याम्पियन बनेको छ ।


प्रकाशित : मंसिर २२, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?