गौरिकासँग मन्नाको बदला

राजु घिसिङ

काठमाडौँ — सनसनीपूर्ण प्रदर्शन गरिरहेकी नेपाली स्वीमर गौरिका सिंहसँग २०० मिटर ब्याकस्ट्रोकको अघिल्लो दिन पछाडि परेकी भारतकी मन्ना पटेलले त्यसको बदला १ सय मिटर ब्याकस्ट्रोकमा शनिबार लिएकी छन् ।

गौरिकासँग मन्नाको बदला

सातदोबाटोस्थित हिटिङ सिस्टमको नयाँ इन्डोर स्वीमिङ पुलको भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा गौरिकाले पहिलो दिन भारतकी शिवांगी शर्मालाई २.१३ सेकेन्डले उछिन्दै राष्ट्रिय कीर्तिमान (२ मिनेट ५.०६ सेकेन्ड) सहित २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन्, जुन सागको ३५ वर्षे इतिहासमा पौडीको व्यक्तिगत स्पर्धामा नेपालले जितेको पहिलो स्वर्ण थियो । उनले दोस्रो दिन २०० मिटर ब्याकस्ट्रोकमा मन्नालाई २.९१ सेकेन्डले पछाडि पार्दै सागमा व्यक्तिगत दोस्रो स्वर्ण चुमेकी थिइन् । जसमा २ मिनेट १७.७३ सेकेन्डसाथ उनले आफ्नै नाममा रहेको ‘सर्ट कोर्स’ को राष्ट्रिय कीर्तिमान २३.५२ सेकेन्डले सुधार गरेकी थिइन् ।


१७ वर्षीया गौरिकाले तेस्रो दिन शनिबार भने मन्नाको चुनौती पन्छाउन सकिनन् । मन्नाले १ मिनेट २.०६ सेकेन्डको साथ १३ औं सागमा पहिलो स्वर्ण जितिन् । नेपाली पौडीमा ११ वर्षको छँदै सनसनी मच्चाएकी गौरिकाजस्तै खेलाडी हुन्, भारतकी मन्ना । उनले १३ वर्षको छँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । गुवाहाटीमा भएको १२ औं सागको रिले (टिम स्पर्धा) मा २ स्वर्ण चुमेकी १९ वर्षीया मन्नाले व्यक्तिगत स्पर्धामा ३ रजत र १ कांस्य हात पारेकी थिइन् । तीन वर्षअघिको त्यो सागबाट गौरिकाले १ रजत र ३ कांस्य भित्र्याएकी थिइन् ।


गौरिका र मन्नाको प्रतिस्पर्धा गुवाहाटीबाटै सुरु भएको हो । जहाँ १२ औं सागमा गौरिकाले १ सय र २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य हात पार्दा मन्नाले रजत जितेकी थिइन् । दुवै स्पर्धामा श्रीलंकाकी किमिको रहिमले स्वर्ण चुमेकी थिइन् । १२ औं सागमा स्वर्ण र १ रजत जितेकी यी २० वर्षीया किमिको चोटको कारण यसपालि नेपाल आएकी छैनन् । त्यसैले पनि केहीमा गौरिका र मन्नाबीच तीव्र प्रतिस्पर्धा बन्न पुगेको हो ।


गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा शनिबार रजत हात पार्ने क्रममा निकालेकी १ मिनेट ०३.१५ सेकेन्ड राष्ट्रिय कीर्तिमान पनि हो । उनले आफैंले आठौं राष्ट्रिय खेलकुद (नेपालगन्जमा आठ महिनाअघि) बनाएको १ मिनेट ७.२२ सेकेन्डको कीर्तिमानलाई सागमा सुधारेकी हुन् । उनले दुई महिनाअघि लन्डनमा भएको क्षेत्रीय च्याम्पियनसिपमा १ मिनेट ३.७० सेकेन्डको व्यक्तिगत उत्कृष्ट प्रदर्शनलाई पनि यसैपालि सुधार गरेकी हुन् । ५ देशका आठ खेलाडी सहभागी २०० मिटर ब्याकस्ट्रोकमा भारतकी रिधिमा वीरेन्द्रकुमारले १ मिनेट ५.७२ सेकेन्डसाथ कांस्य हात पारिन् ।


लन्डनस्थित क्याम्देन स्वीस कटेज स्वीमिङ क्लबमा प्रशिक्षक एडम टेयलरसँग ट्रेनिङ गरेर आएकी गौरिकाले उक्त स्पर्धामा केन्द्रित हुनकै लागि ८ सय मिटर व्यक्तिगत मिड्ले त्यागेकी थिइन् । उनले अघिल्लो दिन २ सय मिटर ब्याकस्ट्रोकको स्वर्ण चुम्नेमा ध्यान दिएर ४ सय मिटर व्यक्तिगत मिड्ले पनि छाडेकी थिइन् । व्यक्तिगत नौ र रिले (टिम) मा तीन गरी १२ स्पर्धामा उनको नाम दर्ता गरिएको थियो । उनले पौडीको चौथो दिन आइतबार ५० मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइल तथा चार गुणा २ सय मिटर रिलेमा प्रतिस्पर्धा गर्नेछिन् ।


डुआना र एलेक्सको कीर्तिमान

पहिलो दिन २०० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेकी १३ वर्षीया डुआना लामाले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३५.४६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले आफ्नै नामको ३५.८२ सेकेन्ड (फिना वर्ल्डकप २०१८/सिंगापुर) को कीर्तिमान सुधारेकी हुन् । उनले बिहीबार रजत जित्ने क्रममा पनि २ मिनेट ४४.६८ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।


५० मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान सुधार गरे पनि डुआनाले चौथो स्थानमा रहेपछि पदक हात पार्न सकिनन् । उक्त स्पर्धामा भारतकी अरोरा चाहत (३३.३६ सेकेन्ड) ले स्वर्ण, भारतकै जयाबिना अरकोट विजयकुमार (३३.५० सेकेन्ड) ले रजत र श्रीलंकाकी रमुडी नुराला सामाराकुन (३४.२१ सेकेन्ड) ले कांस्य पदक हात पारे ।


एलेक्स गाडेगार्ड शाहले पनि पुरुषतर्फ १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट २.१० सेकेन्डको समय निकाल्दै नाथन दोर्जे शेर्पाको (१ मिनेट ४.०६ सेकेन्ड/आठौं राष्ट्रिय/नेपालगन्ज) को राष्ट्रिय कीर्तिमान भंग गरे । तर, उनी आठ खेलाडीमध्ये उक्त स्पर्धामा छैटौंमा रहे, जसमा भारतका श्रीहरि नटराजले ५३.६३ सेकेन्डसाथ स्वर्ण जिते । एलेक्सले अघिल्लो दिन ५० मिटर फ्रिस्टाइलमा सातौं भए पनि २३.९० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।


प्रकाशित : मंसिर २२, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?