२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रेरणालाई टेनिसमा तीन कांस्य

राजेन्द्र नाथ

काठमाडौँ — शनिबारको घमाइलो दिन प्रेरणा कोइरालाको स्मरणमा सधैं ताजा रहनेछ । सातदोबाटोस्थित टेनिस संघको कोर्टमा उनले महिला एकल, मिक्स डबल्स र महिला डबल्समा गरी तीन कांस्य पदक हात पारिन् । नेपाललाई ऐतिहासिक पदक दिलाउँदा दक्षिण एसियाली खेलकुदमा लनटेनिसतर्फ महिला एकलमा पदक जित्ने पहिलो खेलाडीमा दरिइन् प्रेरणा । उनले आफूले जितेका पदक सम्पूर्ण प्रशिक्षक र परिवारलाई समर्पण गर्न चाहेको बताएकी छन् । 

प्रेरणालाई टेनिसमा तीन कांस्य

एकलमा प्रेरणा दोस्रो वरीयताकी भारतीय सात्विका समासँग ६–०, ६–० ले पराजित भइन् । क्वाटरफाइनलमा उनले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७–५, ६–३ को सेटमा हराएकी थिइन् । यस इभेन्टमा नेपालका अन्य खेलाडी क्वाटरफाइनलमै रोकिए । सलोनी तामाङ भारतकी सौजन्या भाबी सेटीसँग ६–२, ६–३ ले पराजित भएकी थिइन् ।


पुरुष एकलतर्फ नेपालका संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल क्वाटरफाइनलमै रोकिए । प्रणव पाकिस्तानका मोहम्मद मुर्तजासँग ६–०, ६–१ ले पराजित भए भने संरक्षक भारतका मनीष सुरेश कुमारसँग ६–०, ६–० ले निराश भए ।


प्रेरणाले यसअघि महिला टिम इभेन्टमा पनि कांस्य जितेकी थिइन् । नेपाललाई टेनिसमा तीन कांस्य जिताउन सफल प्रेरणाले भनिन्, ‘म यो सफलता मेरा प्रशिक्षक र परिवारप्रति समर्पण गर्न चाहन्छु ।’ भारतीय प्रतिद्वन्द्वी बलियो भए पनि ‘एक्सपोजर’ पाएको खण्डमा आफूले उनीहरूलाई जित्नसक्ने आत्मविश्वास प्रेरणाले प्रकट गरिन् ।


उनको जितमा परिवारका सदस्य निकै खुसी छन् । खेल अवधिभर प्यारापिट वरिपरि बसेर हौसला प्रदान गरिरहेकी उनकी आमा रुक्मणिले छोरीको सफलतामा निकै हर्षित भएको प्रतिक्रिया दिइन् । बुवा पुरुषोत्तमले छोरीकै टेनिसप्रतिको उत्साहले आफूहरूलाई पनि यो खेलतर्फ डोर्‍याएको बताए । ‘हाम्रो परिवारमा यो खेलबारेमा कसैलाई जानकारी थिएन । छोरीले खेल्न थालेपछि हामी जिज्ञासु बन्यौं,’ पुरुषोत्तमले भने, ‘लामो मिहिनेतपछि छोरीले पदक जितेकी छन् ।’ टेनिसमा नेपालले ५ कांस्य जितेको छ । भारतले सातमध्ये ६ स्वर्ण पक्का गरिसकेको छ । शनिबार तीन विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कांस्यमा सीमित भएका हुन् । यसअघि नेपालले टिम इभेन्टको महिला र पुरुषतर्फको विधामा कांस्य पदक जितेको थियो ।


शनिबारै महिला डबल्समा नेपालका दुई जोडी सेमिफाइनलमा पराजित भए । प्रेरणा र सलोनीको जोडी भारतका श्रव्या सिभानी चिलकलापुडीसँग ६–४, ६–३ को सेटमा पराजित हुँदै कांस्यमै सीमित भयो । अर्को सेमिफाइनलमा अभिलाषा विष्ट र आईएम रावतको जोडी भारतका प्रेरणा भाम्ब्री र प्रार्थना गुलाबराओ थोम्ब्रेको जोडीसँग ६–०, ६–० ले हार्न पुग्यो ।

प्रकाशित : मंसिर २२, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?