पौडीका सनसनी गौरिकाले केही इभेन्ट छाड्ने

विनोद पाण्डे

काठमाडौँ — पौडीका सनसनी गौरिका सिंहले लगातार दोस्रो दिन १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी छन् । उनले शुक्रबार सातदोबाटोस्थित हिटिङ सिस्टमको पौडी पोखरीमा २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन् । उनले त्यसक्रममा भारतीय नम्बर एक खेलाडी मन्ना पटेललाई आश्चर्यमा पारेकी थिइन् । 

पौडीका सनसनी गौरिकाले केही इभेन्ट छाड्ने

गौरिकाले स्वर्ण जित्नेक्रममा २ मिनेट १७.७३ सेकेन्ड निकालिन् । सुरुदेखि गौरिकालाई पछाडि पारे पनि अन्तिममा हिस्स भएकी पटेलले २ मिनेट २०.७१ सेकेन्डमा रेस पूरा गरेकी थिइन् । श्रीलंकाकी गंगा मालवाथथागे २ मिनेट २७.२५ सेकेन्डसाथ तेस्रो स्थानमा रहिन् ।


गौरिकाले अघिल्लो दिन २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् । सन् २०१६ भारतमा भएको पछिल्लो सागमा गुवाहाटीमा उनले २०० मिटर ब्याकस्ट्रोकमा कास्य पदक जितेकी थिइन् । त्यसमा मन्नाले रजत जितेकी थिइन्, जसमा उनको टाइमिङ २ मिनेट २२.०६ सेकेन्ड थियो । गौरिकाले गुवाहाटीमा २ मिनेट २६.९३ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । यो सबै लामो कोर्समा थियो । अहिले शर्ट कोर्समा प्रतिस्पर्धा भइरहेको छ ।


गौरिकाको स्वर्णमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलाई कुनै आश्चर्य लागेन । ‘गौरिकाको प्रदर्शन हामीले शतप्रतिशत आस गरेअनुसार नै हो । उनले पनि यही आशा गरेको थिइनँ । आशा भनेको सबैभन्दा ठूलो प्रयास नै हो । उनमा स्पिड छ, जुन स्पिड उनले देखाइरहेको छ, त्यसले हाम्रो आशामा झन भरोसा बढेको छ,’ वज्राचार्यले भने, ‘गौरिकाबाट हामीले कम्तीमा तीन स्वर्ण अपेक्षा गरेका छौं । हाम्रो आशाभन्दा पनि बढी उनले स्वर्ण जितून । योभन्दा पनि राम्रो समय निकाल्ने सक्ने प्रदर्शन उसभित्र छ । २०० मिटर व्यक्तिगत मिड्ले, १ सय मिटर ब्याकस्ट्रोक जस्ता महत्त्वपूर्ण इभेन्टमा उनले खेल्नै बाँकी छ ।’


जारी सागमा २ स्वर्ण जित्ने उनी पछिल्लो खेलाडी हुन् । करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोका आयशा शाक्यले यसअघि २–२ स्वर्ण जितिसकेका छन् । गल्फबाट शुक्रबारै सुवास तामाङले पनि २ स्वर्ण जिते ।


पौडीका मुख्य प्रशिक्षक शंकर कार्की गौरिकाको पछिल्लो सफलतालाई उत्कृष्ट नतिजा मान्छन् । ‘उनले जसलाई हराइन् उनी भारतको मात्र नभएर दक्षिण एसियाकै नम्बर एक खेलाडी हुन् । त्यस्तो खेलाडीलाई गौरिकाले जित्नु एकदमै ठूलो सफलता हो,’ कार्कीले भने, ‘उनले सबै तयारी लन्डनमै बसेर गरेकी थिइन्, त्यसमा कुनै शंका छैन । लामो दूरी र ब्याक उसको मुख्य इभेन्ट हो । त्यसैले उसले ब्याकमै केन्द्रित भएर ब्याकमै पदक दिलाउँछु भनेकी थिइन । उनको सोच, उद्देश्यअनुरुप नै उसले अभ्यास गरिरहेका थिइन । यहाँ आएर हामीसँग उनले केही दिन अभ्यास गरिन् । यसैको परिणाम अहिले आइरहेको छ ।’


पहिलो ५ ल्यापमा मन्नाले अग्रता लिएकी थिइन् । अन्तिम ३ ल्यापमा गौरिकाले अविश्वसनीय रूपमा पुनरागमन गर्दै स्वर्ण जितेकी हुन् । ‘खेलाडीमा हुनुपर्ने एउटा गुण यही नै हो । उनले पेस मेन्टेन्स गर्दै, पेसमा खेली भारतीय खेलाडीलाई अगाडि पठाइन् । पछि चाहिँ उनले हाम्रो योजनाअनुसार नै खेलिन,’ भारतीय खेलाडीलाई सुरुमा अगाडि राख्ने नेपालको रणनीति भएको जनाउँदै कार्कीले भने, ‘तेस्रो ल्यापपछि चाहिँ भारतीय खेलाडीको कम हुँदै गइन् र हाम्रो पेस बढ्दै गयो । गौरिकाले यसरी खेल्छु भनेको थिइन, हाम्रो रणनीति पनि यही थियो ।’


गौरिकाले केही इभेन्ट छाड्ने

गौरिकाले बिहीबार पहिलो स्वर्ण जितेपछि सञ्चारमाध्ययमा आफ्नो १२ इभेन्ट सकिएपछि मात्र प्रतिक्रिया दिने जनाएकी थिइन् । उनले व्यक्तिगत ९ र टिममा ३ गरी १२ इभेन्टमा नाम दर्ता गराएकी थिइन् । शुक्रबार ४ सय मिटर व्यक्तिगत मिड्ले छाडेकी उनले शनिबार पनि एक इभेन्ट नखेल्ने प्रशिक्षक कार्की बताउँछन् । जसका कारण उनले व्यक्तिगत ६–७ इभेन्टमा मात्र खेल्ने सम्भावना छ ।


‘२ सय मिटर ब्याकस्ट्रोकमा खेल्न उनले एउटा इभेन्ट छाडेकी हुन् । त्यसको कारण उनी २०० मिटर ब्याकस्ट्रोकमा उत्कृष्ट नतिजा दिन चाहन्थिन्,’ प्रशिक्षक कार्कीले भने, ‘२ भन्दा बढी स्वर्ण ल्याउने हाम्रो लक्ष्य छ । समय पनि राम्रै आइरहेकाले त्यो लक्ष्यमा हामी पुग्छौं । तर सँगै इभेन्ट पर्न गएकाले उनले केही इभेन्ट छाड्नुपर्ने हुन्छ । भोलि उनको ८ सय मिटर फ्रिस्टाइल छ, त्यसको दुई इभेन्टपछि १०० मिटर ब्याकस्ट्रोक छ । ८ सय मिटर फ्रिस्टाइल खेलेर उनले १ सय मिटरमा राम्रो प्रदर्शन दिन सक्दिनन् ।’


गौरिकाले शनिबार कुन इभेन्ट छाड्नेबारे सल्लाह हुन बाँकी रहेको कार्कीले जनाए । ‘दुवै इभेन्ट खेल्दा हामीले दुवैमा केही नपाउन सक्छौं । त्यसैले एउटा हामी छाड्छौं होला । उसको पनि यही हो भनाइ । धेरै इभेन्टमा खेलेपछि जुध्नु स्वाभाविक नै हो । अझै उसको ६ वटा व्यक्तिगत बाँकी छ । टिम इभेन्ट सबैमा उसले खेल्ने छिन्,’ उनले भने ।



गौरिका र एलेक्जेन्डरले ओलम्पिक खेल्ने

अर्को वर्ष जापानमा हुने ओलम्पिकमा पौडीका गौरिका र एलेक्जेन्डर साहले सहभागिता जनाउने भएको पौडी संघका अध्यक्ष वज्राचार्यले बताए । जुलाईमा दक्षिण कोरियामा १८ औं फिना च्याम्पियनसिपमा नेपालका तर्फबाट महिलामा गौरिका र सोफिया शाह तथा पुरुषमा एलेक्जेन्डर शाह र शुभम श्रेष्ठले सहभागिता जनाएका थिए ।


फिना च्याम्पियनसिपमा देखाएको प्रदर्शनका आधारमा गौरिका र एलेक्जेन्डरले ओलम्पिकमा सहभागिता जनाउने अध्यक्ष वज्राचार्यले बताए । ‘ओलम्पिक छनोटका रूपमा त्यो प्रतियोगिता आयोजना गरिएको थियो । त्यसमा हाम्रा सहभागी ४ मध्ये २ ले ओलम्पिक खेल्ने छन्,’ उनले भने, ‘उनीहरूले जुन प्रदर्शन देखाए त्यसका आधारमा दुबैको ओलम्पिकमा सहभागिता रहने छ । गौरिकाले आउँदो ओलम्पिकमा यो भन्दा धेरै राम्रो गर्नसक्छे ।’

फिना विश्व च्याम्पियनसिपमा गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट ००.६२ सेकेन्डसाथ ९३ राष्ट्रका खेलाडीमा ६९ औं भएकी थिइन् । लामो कोर्समा उनले राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । २ सय मिटर फ्रिस्टाइल २ मिनेट १३.०० सेकेन्डका साथ ६१ राष्ट्रका खेलाडीमा गौरिका ४८ औं भएकी थिइन् । एलेक्जेन्डरले १ सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डसाथ १ सय २९ खेलाडीमा १ सय २ औं स्थानमा थिए । उनले लामो दुरीको कोर्समा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधारेका थिए ।


मुख्य प्रशिक्षक शंकर कार्कीले सोफिया र शुभमले अलिकति घाइते भएका कारण राम्रो गर्न नसकेको तथा गौरिका र एलेक्जेन्डरले निकै राम्रो गरेको जनाए । ‘सागपछि ओलम्पिकलाई विशेष तयारी हामी अगाडि बढाउने छौं । दुवैले ओलम्पिकमा अहिलेभन्दा राम्रो गर्छ भन्ने आशा लिएको छु,’ अध्यक्ष वज्राचार्यले भने ।



‘जिन्दगीमा नबिर्सिने क्षण’

- अशोक वज्राचार्य

अध्यक्ष, पौडी संघ


डुआना लामा भर्खर १३ वर्षकी भइन् । सागजस्तो प्रतियोगितामा उनले रजत पदक जित्नु हाम्रा लागि ठूलो सौभाग्य हो । गौरिकाबाहेक अरु खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । हामीले तयारी गरेअनुरुप, आशा गरेअनुरुप जुन प्रदर्शन आएको छ, त्यसले हामी निकै सन्तुष्ट छौं । बाँकी इभेन्टमा पनि हामीले पदक जित्न सक्छौं ।


गौरिकाको सुविधा जुन ठाउँमा छ, त्यो हामीमा छैन । हामीसँग बाह्रै महिना खेल्ने पूर्वाधार थिएन । अरु खेलाडीमा पनि क्षमता छ । निजी क्षेत्रको पोखरीमा आज हामीले खेलायौं, त्यसको नतिजा अहिले हामीले पाइरहेका छौं । अब पौडीको दिनको शुभारम्भ भयो । हाम्रो पौडी १–२ वर्षभित्रमा भारतको अलावा दक्षिण एसियामा दोस्रो स्थानमा पुग्ने छौं ।


हिटिङ सिस्टमको नयाँ पौडी पोखरीले हामीलाई नयाँ जोश दिएको छ । यो हिटिङ पुल अहिलेको हाम्रो योजना होइन, यो हाम्रो असाध्यै ठुलो ड्रिम प्रोजेक्ट हो । यो ड्रिम प्रोजेक्टलाई हामीले सागका लागि भनेर निकै चुनौतीपूर्ण हिसाबमा सकायौं । मन्त्री, सदस्य–सचिवदेखि नै हामी दिनरात खटियौं । खटेअनुसार नै हामीले साग हुनु ठीक अगाडि सम्पन्न पनि गर्‍यौं । सम्पन्न गरेअनुसारको सन्तुष्टि आज हामीले पाइरहेका छौं । यो असाध्यै खुसीको दिन हो । एउटा भौतिक पूर्वाधर सम्पन्न हुनु र अर्को सागमा नेपालले पहिलो व्यक्तिगत स्वर्ण जित्नु जिन्दगीमा नबिर्सिने क्षण हो । खेलकुदमा मैले जति समय बिताएँ, आजजस्तो खुसीको दिन अरु आउँदैन ।


भौतिक पूर्वाधारको विकासमा पौडीको हिजोभन्दा आज बढी छ । सन् १९९६ को उदाहरण दिउँ, हाम्रो महिलाको ५० मिटरका लागि ०.४२ सेकेन्ड लाग्थ्यो । आज हामी हेर्नुस, २५ देखि २७ सेकेन्डमा आइसक्यौं । हामीले आशा गरे जति प्रगति गर्न सकेनौं होला । खेल्ने ठाउँ नै नहुँदा पनि हाम्रो खेलाडीले जुन मिहिनेतसाथ अगाडि बढी यो आधार बनाएका छन् । हरेक वर्ष २० देखि २५ राष्ट्रिय कीर्तिमानमा सुधार भइरहेको छ । अझ पनि हाम्रो प्रयास जारी छ । अब हिटिङ सिस्टमको पौडीले राम्रो गति लिन्छ । अब हामी दक्षिण एसियाबाहिरको इभेन्ट पनि आयोजना गर्न सक्छौं । दक्षिण एसियाभित्रै पनि आमन्त्रण प्रतियोगिता पनि गर्छौं ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?