कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सुटिङ रेन्जमा खेलाडी बेचैन

राजेन्द्र नाथ

काठमाडौँ — श्रेया केसीको निसाना बीचमै चुक्यो । हतियार जाम भएर पड्किएन । प्रतिस्पर्धी देशका खेलाडीसँग माग्दा ‘जुरी’ ले हतियारको फेहरिस्त माग्यो । अपर्झटमा त्यो सम्भव थिएन । फाइनल चरण नजिक पुगेकी श्रेया क्वाँ क्वाँ रुन थालिन् । उनको रुवाई एकाध घण्टासम्मै थामिएन । सातदोबाटोस्थित सुटिङ रेन्जमा नेपाली खेलाडीको पुरानो नियति शुक्रबार फेरि दोहोरिएको छ । 

खेलाडी सुटिङ रेन्जमा जान्छन्, निसाना पनि लगाउँछन् । पुराना हतियार बीचमै जाम हुँदा अंक हासिल गर्न सक्दैनन् । प्रशिक्षकहरू खेलाडीलाई थुमथुम्याउने प्रयास गर्छन् । उनीहरूसँग त्यसबाहेक अरू विकल्प छैन । सुटिङ संघका पदाधिकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दोष दिएर उम्किन खोज्छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सुटिङमा यस्ता दृश्य प्रत्येक दिन दोहोरिरहेका छन् । विदेशी खेलाडीका अगाडि राष्ट्रकै बेइज्जत हुँदा पनि संघ पदाधिकारी भने ‘समस्यालाई टालटुल गरेर साग सफल पारिरहेको’ दाबी गर्छन् । ‘यस्तो अवस्थामा पनि संघ एकजुट भएर समस्या टालटुल पारी साग सफल बनाउन जुटेको छ,’ अध्यक्ष पुष्पदास श्रेष्ठ भन्छन्, ‘नत्र खेल आयोजना हुँदैनथ्यो ।’


चीन सरकारको सहयोगमा निर्माण गरिएको सुटिङ रेन्ज एसियाकै उत्कृष्ट भएको दाबी श्रेष्ठले गरे । तर नेपाली खेलाडीलाई पेस्तोल, राइफल र गोली किन व्यवस्था गर्न नसकेको ? उनको उत्तर छ, ‘राखेपलाई ताकेता गर्दागर्दै थाकिसक्यौं । पूर्व सदस्य–सचिव केशवकुमार विष्टको पालादेखि नै भनसुन गरिरहेका हौं । एउटै माग राखेर महिनामा होइन, १५–१५ दिनमा भेट्न गयौं । आश्वासन मात्र पाइयो । हतियार पाइएन ।’


हतियार नहुँदाको पीडा भने खेलाडीले भोगिरहेका छन् । उनीहरू प्रतिद्वन्द्वी मुलुकसँग हतियार मागेर प्रतिस्पर्धा गर्न बाध्य छन् । सुटिङ रेन्जमा छिर्दादेखि नै खेलाडी तनावमा देखिन्छन् । शुक्रबार १० मिटर एयर पेस्तोलतर्फको खेल चलिरहेको थियो । श्रेयासँगै प्रतिस्पर्धामा थिए अन्य खेलाडी । अंकका आधारमा भारतीय, पाकिस्तानी र बंगलादेशी खेलाडी मात्रै श्रेयाभन्दा माथि थिए । चौथो स्थानमा रहेकी श्रेयाले १४ फायर गर्न बाँकी थियो । १ घण्टासम्म चल्ने १० मिटर एयर पेस्तोलको स्पर्धामा एक जना खेलाडीले ६० पटकसम्म सुट गर्न पाउँछन् । श्रेयाले ४६ फायर गरिसकेकी थिइन् । त्यसपछि पेस्तोल चल्दै चलेन । उनी एरिनामा बसेर आँसु झार्न थालिन् ।


उनलाई १४ गोली हान्न १८ मिनेटको समय थियो । फाइनल चरण नजिक पुगेकी श्रेया खेल छाड्ने अवस्थामा थिइनन् । सायद विदेशी मुख्य जुरी कैशारुल इस्लामलाई नेपाली खेलाडीको त्यस्तो अवस्था देखेर ‘माया’ जाग्यो । उनले चिनियाँ प्रतिनिधिसँग कुरा गरेर श्रेयालाई ३ मिनेट परीक्षण र ७ मिनेट बाँकी १४ गोली सकाउन समय दिए ।


समस्या पेस्तोलकै थियो । अन्य देशका खेलाडीले उपलब्ध गराए पनि त्यसको फेहरिस्त (कोड नम्बर र प्रतिनिधि) नहुँदा त्यो मौका पनि चुक्यो । नेपालकै २५ मिटर र्‍यापिड फायर पेस्तोल स्पर्धाका विपेश खड्काले श्रेयालाई आफ्नो पेस्तोल दिए । २५ मिटरमा खेल्ने पेस्तोलले १० मिटरमा निसाना लगाउनुपर्ने बाध्यता थियो । उनले हतार हतारमा प्रहार गरे पनि अंक बटुल्न सकिनन् । ‘पदक नजिक पुगेकी श्रेया अन्तिम समयमा पेस्तोलले धोका दिएपछि पहिलो चरणबाटै बाहिरिइन्,’ अर्का खेलाडी नरेन्द्र थापाले भने ।


बुधबार पनि त्यस्तै अवस्था आएको थियो । २५ मिटर स्पोर्ट्स पेस्तोलतर्फ खेलिरहेकी सीमा तुलाधरले प्रयोग गरिरहेको हतियार नपड्किएपछि उनी निकैबेर रोएकी थिइन् । मंगलबार २५ मिटर सेन्टर फायर पेस्तोल (पुरुष) तर्फको स्पर्धामा एक जनाले भारतीय खेलाडीसँग गोली र पाकिस्तानीसँग पेस्तोल मागेर खेलेका थिए । सुटिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताप्रति खेलाडी आक्रोशित छन् । तर सुटिङ संघको कारबाहीमा पर्ने त्रासले उनीहरू बोल्न चाहँदैनन् । ‘केही दिनयता सुटिङमा देखिएको अव्यवस्थाबारे समाचार प्रकाशित भएपछि उनीहरूले मिडियामा नबोल्न भनेका छन्,’ एक खेलाडी भन्छन् ।


सुटिङ संघका अध्यक्ष श्रेष्ठले २५ मिटर स्पोर्ट्स पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफलमा खेल्नका लागि हतियार नभएको स्वीकारे । ‘हामीसँग १० मिटरमा खेल्न मिल्ने ८–१० वर्ष पुराना एयर पेस्तोल छन् । तर यी तीनवटा विधाका लागि हतियार छैनन्,’ उनी भन्छन्, ‘हतियार नभए पनि आफ्नै देशमा भइरहेको सागमा सहभागिता जनाएका हौं ।’ यस्तो सहभागिताले देशको प्रतिष्ठाभन्दा बेइज्जत बढी भएको बुझाई संघकै कतिपय पदाधिकारीको छ । ‘तयारी नभएपछि खेल्नु हुँदैन,’ ती पदाधिकारी भन्छन्, ‘विदेशीका अगाडि झुक्ने काम भयो ।’


२५ मिटर स्पोर्ट्स पेस्तोल, सेन्टर फायर पेस्तोल र ५० मिटरको थ्री पोजिसन राइफलमा नेपालले दुई दशकपछि प्रतिस्पर्धा गरेको थियो । नेपालमै सम्पन्न सन् १९९९ को सागपछि यी तीन विधामा खेलाडीले भागै लिएका थिएनन् । संघका सदस्य नीरञ्जन रेग्मीले राखेपलाई १० मिटरतर्फ १८–१८ वटा पेस्तोल र राइफल, २५ मिटरमा २४ पेस्तोल, ५० मिटरमा १२ राइफल र ५०–५० हजार थान गोली माग गरेको जानकारी दिए । उनका अनुसार अहिले पुराना ४ वटा एयर पेस्तोल र ६ वटा राइफल मात्रै छन् । ‘द्वन्द्वकालमा हतियार र गोली सेनाको ब्यारेकमा जम्मा गरेका थियौं । धेरै वर्षसम्म राख्दा तिनमा ढुसी परेको हुनसक्छ । पुछेर चलाउनुपर्छ । गोलीको पनि आफ्नै आयु हुन्छ नि,’

रेग्मी भन्छन् ।


अध्यक्ष श्रेष्ठले इक्युप्मेन्ट कन्ट्रोल मेसिन पनि खेल सुरु भएकै दिन राखेपले पठाएको बताए । बन्दुक, जुत्ता, लुगा, चस्मालगायत खेलाडीले प्रयोग गर्ने सामग्रीको जाँच अनिवार्य मानिन्छ । ‘राखेपले भारतमा निर्मित मेसिन अन्तिम अवस्थामा पठायो । ती पनि सेकेन्डह्यान्ड जस्ता छन्,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीले बुझेको भर्पाई भने गरेका छैनौं ।’ खेल आयोजनाका लागि अहिलेसम्म १ लाख ५० हजार रुपैयाँ मात्र पठाएको पनि उनको भनाइ छ । ‘२४ सैं घण्टा बिजुली चाहिन्छ । खेल्दा भोल्टेज तल–माथि भयो भने सिस्टम नै डाउन हुन्छ । जेनेरेटर चलाउँदा दैनिक २० हजार रुपैयाँको त डिजेल नै जान्छ,’ उनले थपे, ‘यस्तो अवस्थामा खेल गराइरहेका छौं । दोष संघलाई दिनुभएन ।’

प्रकाशित : मंसिर २१, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?