गोपीचन्दले फिर्ता ल्याएको स्वर्ण

ध्रुव तुलाधर

काठमाडौँ — दशकअघि खोसिएको स्वर्ण पदक फिर्ता ल्याएका गोपीचन्द पार्की दशरथ रंगशालाको ट्र्याकमा निकैबेर रमाए । यसका लागि उनको संकल्प रहेछ, ‘त्यो पदक म जसरी पनि फिर्ता ल्याउँछु ।’ गोपीले त्यो संकल्प शुक्रबार पूरा गरेका छन् । 

गोपीचन्दले फिर्ता ल्याएको स्वर्ण

दक्षिण एसियाली खेलकुदको ५ हजार मिटर दौडमा नेपालले जितेको स्वर्ण खोसिएको थियो । त्यो स्वर्ण कोलम्बो साग (२००६) मा राजेन्द्र भण्डारीले जितेका थिए । त्यतिबेला राजेन्द्र योसँगै ३ हजार मिटर स्टिपलचेजका पनि स्वर्णधारी हुन् । दुर्भाग्य, डोपिङका कारण राजेन्द्रले जितेको त्यो स्वर्ण खोसिएको थियो । ५ हजार मिटर दौडको राष्ट्रिय कीर्तिमान उनै राजेन्द्रको नाममा छ । जुन उनले २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डमा पूरा गरेका थिए ।


गोपीको मनमा केही वर्षदेखि त्यही विषयले जरो गाड्यो, ‘कुनै दिन त्यो पदक अब मैले जित्नुपर्छ ।’ त्यही संकल्पमा उनी अगाडि बढिरहे । ‘आज देशले गुमाएको त्यो पदक फिर्ता ल्याएको छु । मेरो संकल्प पूरा भएको छ । समग्रमा यो मेरो १४ वर्षदेखिको तयारी थियो,’ आफ्नै भूमिमा भइरहेको १३ औं सागमा शुक्रबार ५ हजार मिटरको विजेता भएपछि उनले जितको रहस्य यसरी खोले ।


गोपीचन्दले रंगशालाको ट्र्याकलाई साढे १२ फन्को लगाउँदा १४ मिनेट ५४.२० सेकेन्ड लगाएका थिए । भारतीय सुनील दवारले १४ मिनेट ५५.२१ सेकेन्डसाथ रजत पदक जिते । नेपालकै हरिकुमार रिमाल १४ मिनेट ५७.०५ सेकेन्डसाथ कांस्य जित्न सफल भए । हरिले १२ औं साग (गुवाहाटी, २०१६) मा पनि यो इभेन्टमा कांस्य नै जितेका थिए ।


स्वर्ण जितेपछि कांस्य विजेता हरि रिमालका साथ गोपीचन्द (बायाँ) । तस्बिर : केशव थापा/कान्तिपुर


प्रतिद्वन्द्वीहरूले गोपीलाई धेरैपल्ट अप्ठ्यारोमा पार्ने प्रयास नगरेका होइनन् । ‘इन्डियन र श्रीलंकन पनि टफ थिएँ । उनीहरूमा के थियो भन्दा दौड जित्ने हो । तर यहाँ अल्टिच्युड भएका कारण फास्ट कुदेर हुँदैन भन्ने रणनीतिमा थिए । म पनि के कम । मैले पनि १४ वर्षदेखि तयारी गरिरहेको छु । ५ किमि जित्नु छ । फिनिसिङमा जित्नु छ । उनीहरूलाई टक्कर दिएर जित्नु छ । त्यो कुरा मेरो मनमा खेलिरह्यो । जे जे मैले चाहिरहेको थिएँ, त्यही भइराखेको थियो । लास्ट ल्याप ५२ (सेकेन्ड) मा गर्नुपरे पनि त्यो जित्न सक्छु भन्ने विश्वास थियो,’ उनले दौडको फेहरिस्त सुनाए ।


रणनीति गाह्रो रहेको उनको बुझाइ छ । प्रतिद्वन्द्वीले बाटो छेकिदिने, जिकज्याक गरिदिने, बक्समा पारिदिने पनि गरे । ‘इन्डियनले गोल्डमेडल गुमाउन चाहिरहेका थिएनन् । तर मलाई मेडल खोस्नुपरेको थियो । खोसिएको मेडल फेरि जित्नुपरेको थियो । मेरो मनमा त्यो चलिरहेको थियो । लास्टको ११० मिटर साउथ एसियाका जुनसुकै खेलाडीलाई जित्न सक्छु भन्ने एउटा विश्वास थियो । भलै जित्न नसकुँला तर मेरो विश्वास भने थियो ।’


राष्ट्रले गुमाएको, एथलेटिक्स संघले गुमाएको त्यो पदकलाई आफूले जसरी पनि फिर्ता गर्ने अठोट लिएको उल्लेख गर्दै उनले भने, ‘नेपाली जनता र दर्शकको चित्तदुखाइ म बिर्साउन चाहन्थें त्यो मेडल जितेर ।’


दौडप्रतिको आफ्नो समर्पणलाई उनी पुष्टि गर्दै थिए । ‘म दौडनकै लागि विभागमा भर्ना भएँ,’ सशस्त्र प्रहरी बल (एपीएफ क्लब) का यी धावकले सुनाए । धनगढी गौरीपुरका यी धावक २०६७ सालमा सशस्त्रमा जागिरे भएका थिए ।


०६३ मा काठमाडौं राष्ट्रपति रनिङ सिल्ड खेल्न आउँदाको घटनालाई लिएर गोपीचन्दलाई विभाग छिर्ने हुटहुटी चलेको थियो । उनी कैलालीको भवानी माविबाट रनिङ सिल्ड खेल्न काठमाडौं आए । दौडमा भाग लिए । सफलता हात लागेन । उनलाई लाग्यो, आर्मी, पुलिसका खेलाडीले मात्र सफलता पाउँदा रहेछन्, बाहिरकाले सफलता पाउन गाह्रो देखें । ‘त्यही भएर म पनि त्यसतर्फ आकर्षित भएँ । ०६७ सालतिर सशस्त्रमा भर्ना भएँ । त्यहाँ गएपछि पनि सजिलै कहाँ क्लबमा जान पाइयो र । प्रतियोगिताहरू पनि त्यति हुन्थेनन् । कसरी खेलाडी बन्नु । खप्तडमा थिएँ । काठमाडौं आएपछि मात्र मैले क्लबबाट खेल्न थालें,’ ३० वर्षे धावकले सुनाए ।


गोपीचन्द म्याराथन धावक हुन् । झन्डै आधा दर्जन म्याराथनमा सफलता भेट्टाएका छन् । १८ औं एसियाली खेलकुदमा भाग लिएका उनले मलेसियन च्याम्पियनसिपको १५ सय र ५ हजार मिटरमा रजत पदक जितेका छन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा उनले ५ हजारमै स्वर्ण जितेका थिए । आठौंमा उनको टाइमिङ १४ मिनेट ४४.०३ सेकेन्ड थियो । जबकि अहिले स्वर्ण जितेभन्दा त्यो राम्रो टाइमिङ थियो । तर हाते टाइमिङ हो त्यो । १० हजारमा भने तेस्रो भएका थिए । उनले १२ औं सागमा १० हजार मिटरमा छैटौं स्थान भेटेका थिए ।


गोपीले गुमेको पदक फिर्ता त गरे । अब यी स्वर्णधारी धावकको अर्को लक्ष्य के छ त ? भन्छन्, ‘म्याराथनमै फर्कन्छु ।’

किन त ? कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको इच्छा पूरा गर्न । दक्षिण एसियाली खेलकुदका तेजस्वी धावक हुन् वैकुण्ठ । उनले सन् १९८७ को तेस्रो संस्करणमा राखेको म्याराथनको कीर्तिमान अहिलेसम्म तोडिएको छैन । २ घण्टा १५ मिनेट ०३ सेकेन्डको उक्त कीर्तिमान तोड्ने गोपीचन्दको लक्ष्य छ ।


उनले सुनाए, ‘वैकुण्ठ गुरुको इच्छा भनेको आफ्नै देशका खेलाडीले कीर्तिमान तोड्नुपर्छ भन्ने छ । म त्यो पूरा गर्न चाहन्छु ।’


घरेलु प्रतियोगितामा गोपीचन्द र कांस्य जितेका आर्मीका धावक हरि एकअर्काका शत्रु नै हुन् । शुक्रबार दुवैले एउटै विधाबाट पदक थापे । दुईले पदक जित्दाको अनुभवबारे गोपीले भने, ‘एकअर्कालाई हौसला भयो । हरि ट्रेनिङ पार्टनर हुन् । फिनिसिङका अब्बल केटा पनि । हाम्रो प्रदर्शनले विपक्षीलाई पनि कुन प्रतिद्वन्द्वी पछ्याउने हो भन्ने दुविधा भयो ।’


अपेक्षाअनुसार आफ्ना खेलाडीले मध्यम दूरीमा पदक जितेकामा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ र अर्का प्रशिक्षक धनीराम चौधरी पनि खुसी देखिन्थे । गुरुङले भने, ‘हाम्रो राम्रो भनेको मिडिल डिस्ट्यान्समा हो । त्यसमा हामीले पदक अपेक्षा गरेका थियौं । त्यो पाएका छौं ।’ घरेलु भूमि, अल्टिच्युड र यसपल्टको लामो समयको तयारीले गर्दा पदक जित्न सकेको उनले बताए । मध्यम दूरीका पूर्वकीर्तिमानी धावक रहेका चौधरी दुवैले पदक जित्नेमा आफूहरू विश्वस्त भएको सुनाए । ‘आफ्नो गतिभन्दा अरूको गति हेरेर फलो गर्‍यौं भने सफल भइन्छ भन्ने थियो । फिनिसिङमा जसरी नि डोमिनेट गर्नुपर्छ भनेका थियौं । चुनौती भारत हो । केटाहरूले राम्रो गरे,’ उनले भने ।

प्रकाशित : मंसिर २१, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?