२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

तेक्वान्दोमा सबैले जिते पदक

कुशल तिमल्सिना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोतर्फ नेपालले १२ स्वर्ण पदक जितेको छ । यो २० वर्षअघि नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदयता सबैभन्दा उत्कृष्ट नतिजा हो । २९ स्वर्णका लागि भएको स्पर्धामा नेपालका कुनै पनि खेलाडी पदकविहीन रहेनन् ।

तेक्वान्दोमा सबैले जिते पदक

सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीको हलमा प्रतियोगिताको चौथो तथा अन्तिम दिन बिहीबार ६ स्वर्णको छिनोफानो हुँदा ३ नेपाली खेलाडी फाइनलमा पराजित हुन पुगे । प्रतियोगिताको अन्तिम स्पर्धाको रूपमा पुरुष ८७ केजीमुनि भूपेन श्रेष्ठले नेपालका लागि १२ औं स्वर्ण दिलाएका हुन् । आठौं साफमा १६ स्वर्णमध्ये नेपालले १४ स्वर्ण र २ रजत जितेको थियो । यसपल्ट २९ स्वर्णका लागि भएको स्पर्धामा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको छ । यसमध्ये पहिलोपल्ट समावेश भएको पुम्सेबाट ७ स्वर्ण, १ रजत र ५ कांस्य तथा ग्योरोगीतर्फ नेपालले ५ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेको छ ।


बिहीबार भूपेनले भारतका अक्षय हुडालाई २९–२७ अंकको प्रतिस्पर्धात्मक खेलमा पराजित गरी स्वर्ण जितेका हुन् । पहिलो राउन्डमा ८–७ को अग्रता बनाएका भूपेनले दोस्रो चरणमा १४–१२ को जितसहित १९–२० को झिनो अग्रता बनाए । तेस्रो चरणमा लगातार दुई ब्याक किक प्वाइन्टसँगै भूपेनले खेल आफ्नो पक्षमा पारेका हुन् । ‘अगाडि हाम्रा साथीहरू लगातार पराजित हुँदा दबाब परेको थियो । सेमिफाइनलमा बंगलादेशी खेलाडीसँग त्यति कठिन भएन,’ कोटेश्वर डोजाङका उत्पादन २१ वर्षीय भूपेनले भने, ‘फाइनलमा गाह्रो भएको थियो । विपक्षी खेलाडी थाकिसकेका थिए त्यसैले उनको कमजोरी पत्ता लगाएर खेल्न सकें, देशका लागि पदक जित्न पाउँदा खुसी छु ।’


अन्तिम दिन तीन खेलाडी फाइनलमा पराजित हुन पुगे । ७३ केजीमुनि सन् २००६ मा श्रीलंकामा सम्पन्न दसौं सागकी स्वर्ण विजेता मनिता शाहीले फाइनलमा भारतकी मार्गरेट मारिया रेगीसँग १५–० को लज्जास्पद स्कोरमा पराजय बेहोरिन् । कुनै पनि राउन्डमा विपक्षीलाई चुनौती दिन नसकेकी मनिताले तीन राउन्डमा क्रमशः ६–०, ७–० र २–० को हार बेहोरेकी हुन् । यसअघि मनिता श्रीलंकाकी सचिता प्रमोदिनीविरुद्ध २९–२ को जित निकाल्दै फाइनल पुगेकी थिइन् । मार्गरेटले सेमिफाइनलमा बंगलादेशकी श्रवणी विश्वासलाई हराएकी थिइन् । ८० केजीमुनिमा किरणबहादुर आले फाइनलमा पाकिस्तानका रब नवाजसँग ३३–७ अंकले पराजित भए ।


नवाजले एकपक्षीय जित निकालेको खेलको तेस्रो राउन्डमा किरणले पुनरागमन प्रयास गर्दा ढिला भइसकेको थियो । सुरुआती दुई राउन्ड ३–१४, ०–१६ ले पछि परेका उनले तेस्रो राउन्ड ४–३ ले जितेका थिए । किरण पहिलो चरणमा बंगलादेशका मोहम्मद मासुम खानलाई ४५–७ र सेमिफाइनलमा भारतका लक्ष्यलाई ३६–२१ को स्कोरमा पराजित गरी फाइनलमा पुगेका हुन् । पाकिस्तानका नवाजले सेमिफाइनलमा श्रीलंकाका सुरङगा दिहानलाई पराजित गरेका थिए ।


६७ केजीमुनि फाइनलमा अप्सरा कार्कीले भारतकी रुचिका श्रीरांग भाबेसँग ८–५ को स्कोरमा हार बेहोरिन् । पहिलो राउन्डमा ०–४ ले पछि परेकी उनले दोस्रो राउन्डमा २–३ र तेस्रो राउन्डमा ३–१ ले गुमाइन् । अप्सराले सेमिफाइनलमा बंगलादेशकी मोस्ट सल्मा खातुनलाई ८–० को स्कोरमा हराइन् । स्वर्ण विजेता रुचिकाले सेमिफाइनलमा भुटानकी सोनम याङसोलाई ३१–१ स्कोरमा हराएकी थिइन् ।


पुरुष ५८ केजीमुनि तौलमा गोविन्दबहादुर आले सेमिफाइनलबाट माथि जान सकेनन् । पाकिस्तानका हारुन खानसँग ३४–२६ को स्कोरमा पराजित उनले पहिलो चरणमा भुटानका दोर्जी छिरिङलाई ५८–१६ को स्कोरमा पराजित गरे । उनै हारुनले भारतका नीरज दिलीप चौधरीलाई हराएर स्वर्ण जिते । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा हारुनले तेस्रो राउन्डमा सानदार पुनरागमन गर्दै १४–९ ले पछि रहेको स्थिति उल्टाएर २७–१८ को जित निकालेका हुन् ।


नेपालले स्वर्णको आशा गरेकी युनिशा राई पनि सेमिफाइनलमै पराजित भइन् । ४९ केजीमुनि युनिशाले पहिलो चरणमा बंगलादेशकी फरहाना नाज्निन लिपालाई ५६–१७ को स्कोरमा हराइन् । तर भारतकी पूर्वा दत्तात्रय दीक्षितसँग २७–२२ को प्रतिस्पर्धात्मक स्कोरमा पराजित भएपछि उनको स्वर्ण सपना तुहियो । उनै दीक्षितले श्रीलंकाकी इरांगानी पुष्पालाई १४–३ को स्कोरमा हराउँदै स्वर्ण जितिन् ।


तेक्वान्दोका पदक विजेता

स्वर्ण १२

पुम्से

कमल श्रेष्ठ, पुरूष एकल (२३–२९ वर्ष)

सिना मादेन लिम्बू, महिला एकल (१७–२३ वर्ष)

पार्वती गुरूङ, महिला एकल (२३–२९ वर्ष)

आयशा शाक्य, महिला एकल (२९ वर्षमाथि)

सञ्जीवकुमार ओझा र आयशा शाक्य,

युगल (२९ वर्षमाथि)

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, महिला टिम (१७–२३ वर्ष)

नीता गुरूङ, प्रशंसा क्षेत्री, सुशीला राई, महिला टिम (२३ वर्षमाथि)

ग्योरोगी

काजल श्रेष्ठ (४६ केजीमुनि)

संगीता बस्याल (६२ केजीमुनि)

वीरबहादुर महरा (६८ केजीमुनि)

भूपेन श्रेष्ठ (८७ केजीमुनि)

सक्षम कार्की (८७ केजीमाथि)

रजत– ६

पुम्से

कृष्णबहादुर तामाङ, पुरूष एकल (१७–२३ वर्ष)

ग्योरोगी

निमा गुरूङ (५७ केजीमुनि

अप्सरा कार्की (६७ केजीमुनि)

मनिता शाही (७३ केजीमुनि)

निशा रावल (७३ केजीमाथि)

किरणबहादुर आले (८० केजीमुनि)

कांस्य–११

पुम्से

रेजिन रिमाल, पुरूष एकल (२९ वर्षमाथि)

अस्मिन राउत र सिना मादेन लिम्बू,

युगल (१७–२३ वर्ष)

जितबहादुर बोट र पार्वती गुरूङ, युगल (२३–२९ वर्ष)

शिशिर श्रेष्ठ, अस्मिन राउत र दीपेन्द्र गुरूङ, पुरूष टिम (१७–२३ वर्ष)

कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बू,

पुरूष टिम (२३ वर्षमाथि)

ग्योरोगी

युनिशा राई (४९ केजीमुनि)

अस्मिता खड्का (५३ केजीमुनि)

गोविन्दबहादुर आले (५८ केजीमुनि)

मनोज मल्ल (५४ केजीमुनि)

ज्ञानेन्द्र हमाल (६३ केजीमुनि)

निश्चलमान श्रेष्ठ (७४ केजीमुनि)

प्रकाशित : मंसिर २०, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?