१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

स्वर्णमा कीर्ति

विनोद पाण्डे

काठमाडौँ — नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदकको कीर्तिमान तोडेको छ । बिहीबारसम्म नेपालले सागको १३ औं संस्करणमा ३६ स्वर्ण जितिसकेको छ । सागको एकै संस्करणमा नेपालले अहिलेसम्मकै बढी स्वर्ण जितेको हो । 

स्वर्णमा कीर्ति

सन् १९९९ मा आफैंले आयोजना गरेको आठौं साग (तत्कालीन साफ) मा नेपालले ३१ स्वर्ण जितेको थियो, जुन यसअघि एकै संस्करणमा नेपालले सबैभन्दा बढी जितेको स्वर्णसंख्या थियो । सुरुआती पहिलो सात संस्करणमा १५ स्वर्ण जितेको नेपालले १९९९ देखि अहिलेसम्म ९२ स्वर्ण जितिसकेको छ । २० वर्षअघि नेपाल सागमा पहिलो पदकपल्ट तालिकामा दोस्रो स्थानमा पुगेको थियो ।

सागका खेल सुरु भएपछिको पहिलो चार दिनको गति हेर्दा नेपाल दोस्रोपल्ट पदक तालिकामा दोस्रो स्थानमा रहने बलियो सम्भावना देखाएको छ । अझै चार दिनको खेल बाँकी रहेको छ । पहिलो दुई दिन पदक तालिकामै अग्रता लिएको नेपाललाई भारतले उछिनिसकेको छ । भारतले ५८ स्वर्ण जितिसकेको छ । भारतले कम्तीमा स्वर्ण संख्या १ सय नघाउने पर्याप्त आधार छन् ।

सरकारको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सागअघि ५० स्वर्ण जित्ने दाबी गरेका थिए । ‘५० स्वर्ण जित्ने जुन हामीले उद्घोष गरेका थियौं, त्यसनजिक पुगिसकेका छौं । अब हामी ५० स्वर्णमा पुग्छौं,’ सिलवालले कान्तिपुरसँग भने ‘साइक्लिङबाट मैले अझै स्वर्ण आस गरेको छु । जुडोका खेल नै सुरु हुनै बाँकी छ । त्यसबाहेक आर्चरी, एथलेटिक्सको म्याराथन, पौडी, फुटबल र थ्रीबाईथ्री बास्केटबल पनि हामीले स्वर्ण जित्ने खेल हुन् ।’

३६ मध्ये २९ स्वर्ण नेपालको मुख्य आस गरिएको मार्सल आर्टबाटै आएका हुन् । नेपालले तेक्वान्दोबाट १२, करातेबाट १० र उसुबाट ५ स्वर्ण जितेको थियो । मार्सल आर्टको अर्को विधा जुडोका खेल हुन बाँकी नै छ । सन् १९९९ को साफमा पनि नेपालले ३१ मध्ये २८ स्वर्ण मार्सल आर्टबाटै जितेको थियो । त्यसमा तेक्वान्दो र करातेले समान १४ स्वर्ण जितेका थिए । नेपालले ५० स्वर्णको जित्ने उद्घोषको आधार के थियो त ? सदस्य सचिव भन्छन्, ‘मैले हचुवाको भरमा ५० स्वर्ण घोषणा गरेको होइन । हाम्रो राष्ट्रिय टोलीको तयारी, उनीहरूले यो बीचमा अभ्यास खेल र प्रतियोगितामा देखाएको प्रदर्शनको आधारमा ५० स्वर्ण ल्याउन सक्षम छ भनेको हुँ । ५० स्वर्ण पनि कम्तीमा भनेको हुँ ।’ ‘प्याराग्लाइडिङ नभएर हाम्रो आठवटा स्वर्ण त त्यसै गुमिइसकेको छ । सबै खेलको प्रमुख प्रशिक्षक, प्रशिक्षक, खेलाडीसँग लिएको प्रदर्शनको आधारमा त्यसमा पनि घटाएर मैले यो भनेको हुँ । आधारहीन ढंगले मैले भनेको होइन,’ उनले भने ।

उनले अगाडि भने, ‘मैले ५० स्वर्णको घोषणा गर्दा धेरैजना हाँसेका थिए । पछिल्लो सागमा पनि जम्मा ३ वटा मात्र स्वर्ण पाएको हो भनेर भनिरहेका थिए । अहिले नै हामी ५० स्वर्णको हाराहारीमा पुगिसक्यौं । अब स्वर्ण ५० नाघ्छ । साग हुनु अघि खेलाडी, प्रशिक्षक सबैको सकारात्मक प्रतिक्रिया पनि पाएको थिएँ । खेलाडी, प्रशिक्षक र संघहरूमा एउटा उर्जा छाएको छ, सबैभन्दा ठूलो विषय यो हो । सागमा एउटा उद्देश्य बनाउँदा चाहिने पहिलो चिज नै यही हो । लडाइँमा उत्रनुअघि उसको सेनालाई उच्च मनोबलको साथ उतार्न सकेन भने त्यो हार्छ ।’

खेल संख्या थपिँदा पनि नेपालको स्वर्ण पदक बढ्दै गएको हो । १९९९ को सागमा १२ खेलमात्र समावेश थियो । त्यसमा महिलाको विधा निकै कम थियो । अहिले २८ खेल राखिएको छ । साग इतिहासमै यो सबैभन्दा बढी खेलसंख्या हो । यसले पनि नेपालको स्वर्णसंख्या बढाउन मदत गरेको छ । साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । नेपालले साइक्लिङबाटै ४ स्वर्ण जितिसकेको छ । गल्फबाट पनि नेपालले शुक्रबार स्वर्ण थप्ने छ । नेपालले यसअघि गल्फबाट पदक जित्न सकेको थिएन । भारतीय तेक्वान्दोले अन्तिम आएर मात्र जारी १३ औं सागमा सहभागिता पक्का गरेको थियो ।

भारतीय खेलाडी करातेलगायतका खेलमा सहभागी नहुँदा पनि नेपालले धेरै पदक जितिरहे जस्तो देखिएको छ । भारतको अनुपस्थितिमा नेपालले करातेको १९ मध्ये १० स्वर्ण जितेको थियो । करातेको बाँकी ९ मध्येको ६ स्वर्ण पाकिस्तान र ३ स्वर्ण बंगलादेशको भागमा थियो । ‘तीन साताअघि बंगलादेशमा भएको दक्षिण एसियाली कराते च्याम्पिनसिपमा नेपालले टिम कातामा स्वर्ण जितेको थियो । नेपालले त्यसमा भारतलाई नै फाइनलमा पराजित गरेका थियो,’ स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘अहिले भारत नभएर जितेको भन्ने आरोपमात्र हुन् । हाम्रा लागि बलियो भनेको पाकिस्तान र श्रीलंका नै हुन् ।’

‘भारत सबैमा नआएको होइन । केही खेलमा प्राविधिक कारणले नआएको हो, अन्तर्राष्ट्रिय रूपमा निलम्बन छन् त्यहाँका खेल संघहरू । तर फुटबल र क्रिकेटमा नआउनेबित्तिकै ग्याप भएको हो कि जस्तो देखिएको हो,’ भारत नआए पनि नेपालको ५० स्वर्ण लक्ष्यमा फरक नपरेको दाबी गर्दै सदस्य सचिव सिलवालले भने, ‘कराते र आर्चरी अन्तर्राष्ट्रिय रूपमा निलम्बन भएकाले भारत नआएका हुन् । तेक्वान्दोमा पनि उनीहरूको समस्या थियो । अदालतबाट फैसला भएर अब कुनै समस्या छैन भनेपछि अन्तिममा भारत खेल्न आएको हो ।’

सागको आयोजना जसले गरेको छ, त्यसले स्वर्णको फाइदा उठाउँदै आएको छ । भारतले आयोजना गर्दा आफ्नो आधिपत्य अझ एकतर्फी स्वर्णको संख्या बढाएको छ भने अन्य आयोजक राष्ट्र बन्दा दोस्रो स्थानको पाकिस्तानलाई चुनौती दिने गरेको छ । भारतलाई चुनौती दिँदै आएको पाकिस्तानले दुईपल्ट दोस्रो स्थान गुमाउन पुगेको छ, १९९१ र १९९९ मा । १९९१ मा श्रीलंकाले र १९९९ मा नेपालले आयोजक बनेर पाकिस्तानलाई उछिनेको थियो । नेपालले अहिले दोस्रो स्थानका लागि पाकिस्तानलाई राम्रो चुनौती तेर्स्याइसकेको छ ।

मंगलबार सागको खेल स्थलहरू सबै भरिभराउ थिए । महिला भलिबल, पुरुष फुटबल, पुरुष क्रिकेट, कराते र तेक्वान्दोको खेल स्थलमा नेपालको खेल हेर्न दर्शक भरिएका छन् । घरेलु टोलीले दर्शकको साथ पाउँदा ‘अतिरिक्त खेलाडी’ लिएर खेलिरहेको अनुभव गरेको छ भने यसले विपक्षी टोलीको लय बिगारदिने गरेको छ ।

साग खेल्न लागेको नेपाली कराते टोलीको एक सम्मान कार्यक्रममा सदस्य सचिव सिलवालले अहिले वाचा नगरे पनि स्वर्णसहित पदक जित्ने खेलाडीलाई राम्रो सम्मान गर्ने घोषणा गरेका थिए । नेपालको खेलकुद व्यावसायिक हिसाबमा अहिले पनि धेरै पछाडि छ । खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै सम्मान लागि खेलिरहेका हुन्छन् । सागमा पनि खेलाडीहरूले नगदसहितको केही अपेक्षा राखेका छन् ।

सागमा पदक जित्ने खेलाडीलाई सरकारले क्रमशः स्वर्णलाई ५ लाख, रजतलाई ३ लाख र कांस्यलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ । मंसिर १० गते सागमा खेल्ने खेलाडीका लागि सरकारले घोषणा कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताले त्यहाँ स्पष्ट घोषणा हुन सकेन । ओली १० दिने उपचारपछि बिहीबार अस्पतालबाट प्रधानमन्त्री निवास फर्किएका छन् । सिलवलाले भने, ‘प्रधानमन्त्री नै समापन समारोहमा सम्भवतः प्रमुख अतिथि बनेर आउने र देशको कार्यकारी प्रमुखको हैसियतमा समापनमा खेलाडीको पुरस्कार घोषणा हुनेछ । राम्रै पुरस्कार घोषणा हुनेछ, उल्लेखनीय वृद्धि हुनेछ ।’

प्रकाशित : मंसिर २०, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?