कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रोकिइनन् गौरिका

पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्ण
राजु घिसिङ

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएपछि गौरिका सिंहले भनिन्, ‘धेरै मान्छेले मलाई तिमी बाहिर बस्ने हो, नेपाली होइन भन्छन् । म त नेपाली हुँ । यो मेडल नेपाललाई नै हो ।’ 

रोकिइनन् गौरिका

सातदोबाटोमा अन्तिम समयमा तयार पारिएको हिटिङ सिस्टमको नयाँ स्विमिङ पुलमा स्वर्ण जितेपछि गौरिकाले दिएको प्रतिक्रिया धेरैका लागि सांकेतिक जवाफ थियो । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाली टिमले रिलेमा कांस्य पनि हात पार्‍यो ।


नेपाली पौडी क्षेत्रकै धेरैले उनलाई प्रतिस्पर्धाको अवसरबाट रोक्ने प्रयास गरेका थिए । सानोमै बाआमासँग लन्डन पुगेकी उनी उतै बस्छिन् । पढ्छिन् । स्विमिङ ट्रेनिङ गर्छिन् । स्कुल, कलेज बिदा हुँदा र पौडी प्रतियोगिताका बेला स्वदेश आउँछिन् ।

११ वर्षको छँदै सनसनीपूर्ण प्रदर्शन गर्दै गौरिकाले आठ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०७१ साउनको त्यो राष्ट्रिय खुला पौडीले ठूलै हलचल ल्यायो । उनी नियमित रूपमा प्रतियोगिता खेल्न आइन् । १२ औं सागमा तीन वर्षअघि १ रजत र ३ कांस्य जित्दै व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली स्विमर भइन् । एकपछि अर्को कीर्तिमान बनाइरहिन् । सफलताले कथा बुनिरहेकै बेला उनीविरुद्ध पौडी जगत्मा भने ठूलै चलखेल भयो ।


उनलाई प्रतिस्पर्धा गर्न नदिन अरू खेलाडीका अभिभावकले हस्ताक्षर अभियान नै चलाए । पौडी संघले सीमित स्पर्धामात्रै खेल्न पाउने नियम ल्यायो । तर, गौरिका रोकिइनन् । उनले २ मिनेट ५.०६ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउँदै बिहीबार २ सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी हुन् । त्यसक्रममा उनले भारतकी सिवांगी शर्मालाई २.१३ सेकेन्डले पछाडि पारिन् । पाँच देशका आठ खेलाडी सहभागी स्पर्धामा जनुयना अहमद (२ः१२.८३) ले कांस्यपदक हात पारिन् । गौरिकाले हिटमा बनाएको २ मिनेट ९.१९ सेकेन्ड पनि गत वर्ष आफैंले बनाएको राष्ट्रिय कीर्तिमानको बराबरी हो । ‘दर्शकको सपोर्ट एकदमै राम्रो भयो । समय पनि सोचेभन्दा राम्रो आयो,’ १७ वर्षीया उनले भनिन् ।


रियो ओलम्पिक २०१६ मा दस हजारभन्दा बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडीका रूपमा चर्चित गौरिकाले १३ औं सागको स्वर्णबारे भनिन्, ‘मेरो त सातो उड्यो । सबैले खुसियाली मनाए, जसलाई म वर्णन नै गर्न सक्दिनँ । जस्तो ओलम्पिक, त्यस्तै महसुस भयो ।’ उनले १२ औं सागमा २ सय मिटर इन्डिभिज्युअल मिड्ले रजत, १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टाइलमा कांस्य हात पारेकी थिइन् ।


‘जहिले पनि हार हुन सक्छ,’ प्रतिस्पर्धाबारे उनले भनिन्, ‘आफ्नो उत्कृष्ट दिने प्रयास मात्रै गर्न मिल्छ । आज मैले त्यो गरेँ । जित्नका लागि मेरो उत्कृष्ट प्रयास पर्याप्त भयो । खुसी छु ।’ बुबाआमासँगै लन्डनबाट सोमबार काठमाडौं आइपुगेकी उनले थपिन्, ‘मैले जितेको पदक नेपाल र मेरा अभिभावकलाई समर्पित गर्छु ।’ उनले चार गुणा ४ सय मिटर फ्रिस्टाइल रिलेमा डुआना लामा, टिसा शाक्य र अनुसिया तन्डुकारसँगै ४ मिनेट १२.१७ सेकेन्डका साथ कांस्य हात पारिन् ।


घरेलु टिमले राष्ट्रिय कीर्तिमान बनाएको यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जिते । १३ वर्षीया डुआनाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट

४४.६८ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित रजतपदक हात पारिन् ।


गौरिकाले सागमा केन्द्रित भएर लन्डनस्थित क्याम्देन स्विस कटेज स्विमिङ क्लबमा प्रशिक्षक एडम टेयलरसँग तयारी गरेकी थिइन् । उनले सातामा १८ घण्टासम्म (नौ सेसन) अभ्यास गरिन् । उनी विशेषगरी ब्याकस्ट्रोक र फ्रिस्टाइलमा राम्रो मानिन्छिन् । उनको रोजाइ मध्यम दूरीका स्पर्धाहरू हुन् । यो सागमा उनको नाम नौ व्यक्तिगत र ३ टिम स्पर्धामा दर्ता गरिएको छ । शुक्रबार २ सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । दुई स्पर्धा सँगसँगै परेकाले उनले ४ सय मिटर इन्डिभिज्युअल मिड्ले भने छाड्ने बताइएको छ ।


अरू स्पर्धाबारे उनले भनिन्, ‘भोलि राम्रो हुन्छ कि हुँदैन, थाहा हुँदैन । म राम्रो गर्ने प्रयास गर्नेछु ।’ ‘सर्ट कोर्स’ को नयाँ पुलबारे उनले भनिन्, ‘पुल एकदम राम्रो छ । बेलायतको जस्तै । चिसोमात्रै बढी हो । अरू सबै ठीक छ । राम्रो छ ।’ आफ्ना समर्थकबारे बोलिन्, ‘अनौठो लाग्छ, मेरा फ्यान पनि छन् । म अरू मान्छेको फ्यान हो, मेरा फ्यान पनि छन् र ? जस्तो लाग्छ ।’

प्रकाशित : मंसिर २०, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?