कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौधरी बनिन् साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला

दीपक परियार

पोखरा — नेपालकी सञ्जु चौधरीले १३ औं साग खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । उनी साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला हुन् ।

चौधरी बनिन् साग भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला

पोखराको माटेपानीस्थित एसआर केसी बैंक्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ केजी भार वहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एन्ड जर्क तथा टोटलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षेले स्न्याचतर्फ ७० र क्लीन एन्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एन्ड जर्कमा १६० केजी भार वहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएको विधामा पाकिस्तानको पनि सहभागिता थियो ।


गत वर्ष नेपाल पुलिसमा प्रवेश गरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् ।


साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो । १० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।


यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कांस्य जित्न सफल भए । भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एन्ड जर्कमा एक सय ५ सहित एक सय ८१ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् ।


बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार वहन गरेका हुन् । बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एन्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एन्ड जर्कमा ७४ भार वहन गरिएको थियो ।


प्रकाशित : मंसिर १९, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?