कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कीर्तिमानी सावित्रा भन्छिन्, ‘भारतलाई देखाउने बेला आएको छ’

भारतसँग शनिबार लिग र आइतबार फाइनल भीडन्त
दीपक परियार

पोखरा — सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतले नेपाली महिला फुटबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशाला फुटबल मैदानमा माल्दिभ्सविरुद्ध ३–० को जित हासिल गर्दा भण्डारीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता नेपाली खेलाडीको कीर्तिमान पनि बनाइन् । 

कीर्तिमानी सावित्रा भन्छिन्, ‘भारतलाई देखाउने बेला आएको छ’

यससँगै फाइनलमा महिला टोलीको भीडन्त भारतसँग हुने पक्का भएको छ । रोचक के छ भने, फाइनल अघि नै समूह चरणको खेलमा भारत र नेपाल भिड्नेछन् । माल्दिभ्स र श्रीलंका समूह चरणबाट बाहिरिसकेका छन् । नेपालले शनिबार भारतसँग समूह चरणको खेल र आइबार फाइनल खेल्ने छ ।


साफ च्याम्पियनसिपमा नेपालका लागि उपाधिको बाधक बन्ने गरेको भारतविरुद्ध ‘होम ग्राउन्ड’को अवसर गुम्ने नदिने उनी बताउँछिन् । एक समयका चर्चित फुटबलर हरि खड्काले महिला फुटबलको प्रशिक्षकका रुपमा काम थालेपछि नेपाल र भारतबीच ३ खेल भएका छन् । तीमध्ये एउटामा नेपालले, अर्कोमा भारतले जिते भने एउटा खेल बराबरीमा टुंगिएको थियो ।

‘यसपालि हामीले स्वर्ण जित्ने चान्स ५०/५० छ,’ ह्याट्रिकपछि सावित्राले भनिन्, ‘यसलाई ब्रेक गरेर सुखद् रिजल्ट ल्याउने योजनामा छु । यसपालि भारतलाई देखाउने बेला आएको छ ।’




प्रशिक्षक खड्का पनि भारतसँगको खेलमा ५०/५० कै सम्भावना हुने बताउँछन् । ‘माल्दिभ्ससँगको खेलमा पाएको मौका गुमाइयो,’ उनले भने, ‘भारतसँग खेल्दा त्यस्तो हुँदैन ।’


उनले पोखराको फुटबल मैदान सोचेभन्दा राम्रो भएको बताए । ‘एक म्याचपछि नै ध्वस्त हुन्छ भन्ने अवस्था थियो,’ उनले भने, ‘त्यस्तो भएन । सोचेभन्दा राम्रो भयो । कतै कतै दुबो उप्किए पनि मर्मत भइहाल्यो ।’


सावित्राले बिहीबारको खेलमा पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको रेकर्ड तोड्दै गोलसंख्या ३८ पुर्‍याइन् । उनले यसअघि श्रीलंका विरुद्धको खेलमा नै कीर्तिमान बनाउने सोचे पनि अवसरको सदुपयोग गर्न नसकेको बताइन् । ‘रेकर्ड बनाउँदा खुशी छु,’ खेल सकिएपछि उनले भनिन्, ‘आज पाएको मौकालाई गुमाइन । सदुपयोग गर्न सकें यसमा झन् खुशी छु ।’

प्रकाशित : मंसिर १९, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?