नेपाललाई कीर्तिमान ३२ स्वर्ण, संख्याको आधार सर्वाधिक सफल संस्करण

राजु घिसिङ

काठमाडौँ — साइक्लिङको क्रस कन्ट्री स्पर्धामा पुरुषतर्फ बुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालको लागि पदक संख्याको हिसाबले सबभन्दा सफल दक्षिण एसियाली खेलकुद (साग) बनेको छ १३ औं संस्करण । बुद्धिले नेपालाई यो सागमा १३ औं स्वर्ण दिलाएका हुन् । काठमाडौंमै २० वर्षअघि आयोजित आठौं साग (तत्कालीन साफ गेम्स) मा जितेको ३१ स्वर्णको कीर्तिमानलाई यसपाली उछिनेको हो ।

नेपाललाई कीर्तिमान ३२ स्वर्ण, संख्याको आधार सर्वाधिक सफल संस्करण

१३ औं सागको पाँचौं दिन बिहीबार नेपाललाई उसुको थाउलुमा निमा घर्तीमगर, साइक्लिङको क्रसकन्ट्रीमा पुरुषतर्फ बुद्धि बहादुर र महिलामा लक्ष्मी मगरले स्वर्ण दिलाएका हुन् । नेपालले तेक्वन्दोमा ६ स्पर्धा बाँकी छँदै सबभन्दा बढी १२ स्वर्ण हात पारेको छ भने बुधबार सकिएको करातेबाट ९ स्वर्ण भित्र्याएको छ । त्यस्तै, उसु र साइक्लिङमा ४–४ स्वर्ण जितेको छ । ट्रायथलनमा २ र एथलेटिक्समा १ स्वर्ण जितेको छ ।


सन् १९८४ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको सबभन्दा प्रतिष्ठित् बृहत् प्रतियोगिताको पहिलो संस्करणमा नेपालले ४ स्वर्ण जितेको थियो । त्यसपछिका ६ संस्करणबाट जम्मा ११ स्वर्ण भित्र्याएको नेपालले सन् १९९९ मा काठमाडौंमा भएको आठौं साफ गेम्समा ३१ स्वर्णसहित पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो, जुन हालसम्मकै सबभन्दा राम्रो हो ।


पहिलो साफ गेम्समा ५ खेलमात्र समावेश थियो भने आठौंमा १२ खेल । यसपाली २६ खेल । त्यसैले बढ्दो खेल र स्पर्धाबीच स्वर्णकै संख्याको आधारमा १३ औं संस्करणलाई ३५ वर्षको इतिहासमा नेपालको लागि सर्वाधिक सफल संस्करण मान्ने आधार भने छैन ।


कराते र तेक्वन्दोले सागमा प्रवेश गरेसँगै नेपालको स्वर्ण संख्या बढेको हो । पहिलोपल्ट तेक्वान्दो र करातेलाई सागमा समावेश गरिँदा १९९९ मा नेपालले ती दुई खेलबाट १४–१४ स्वर्ण हात पारेको थियो । त्यसपछि उस्तै सफलता नेपालले पाएन । तीन वर्षअघि गुवहाटी–सिलोङमा भएको १२ औं संस्करणमा ३ स्वर्णमै सीमित भएको थियो । तेस्रोपल्ट साग आयोजना गर्दा नेपालले कीर्तिमान ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?