१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जब निमाले आमालाई स्वर्ण पदक लगाइदिइन्

दक्षिण एसियाली खेलकुदको उसुमा दुई स्वर्ण जित्ने पहिलो नेपाली बनेकी निमा घर्तीमगरको प्रशर्दन हेर्न बाआमा लगनखेलको हलमै पुगेका थिए ।
राजु घिसिङ

काठमाडौँ — तीन वर्षअघि भारतले लगाएको नाकाबन्दी खुलेको धेरै भएको थिएन, पेट्रोलको अभाव थियो । त्यही बेला भारतमै १२ औं दक्षिण एसियाली खेलकुद (साग) भइरहेको थियो । छोरी निमा घर्तीमगरले सागमा स्वर्णपदक जितेको खबर पाउँदा बुबा मन्सुर आफ्नो पिकअप भ्यान लिएर पेट्रोल हाल्ने लाइनमा बसेका थिए । छोरीले त्यो स्वर्णलाई १३ औं सागमा रक्षा गरेको क्षणलाई भने मन्सुरले आफ्नै आँखाले नियाले ।

जब निमाले आमालाई स्वर्ण पदक लगाइदिइन्

लगनखेलस्थित सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहीबार निमा सागको उसुमा दुईपल्ट स्वर्ण जित्ने पहिलो नेपाली भएपछि बुबा मन्सुरले भने, ‘साह्रै खुशी लाग्यो । छोरीले देशलाई पदक दिलाएको आफ्नै आँखा हेर्ने अवसर पाएँ ।’ पिकअप भ्यान बिग्रिएपछि बालकुमारीको ग्यारेजमा राख्दै हिँडेर प्रतियोगितास्थल पुगेका उनले भने, ‘यस्तो मौका सँधै कहाँ मिल्छ र !’


रोल्पाका यो मगर परिवार दशकयता टिकाथलीमा बस्दै आएको छ । आमा पुना पनि किराना पसल बन्द गरेर छोरीको खेल हेर्न आएकी थिइन् । ‘छोरीले यसपाली पनि जितिन् । सँधै राम्रो गरोस्,’ उनले भनिन् । निमाको लागि आमाको उपस्थिति सरप्राइज थियो । पुनाले बिहान निमालाई भनेकी थिइन्, ‘पसल खोल्नुपर्छ, आउँछु कि आउँदिन थाहा छैन ।’ तर, उनलाई छोरा दीपेन्द्रले स्कुटरमा राखेर हलसम्म ल्याए ।


‘सिलोङमा साथीहरू र गुरु मात्र थिए हाम्रो खेल हेर्ने,’ १९ वर्षिया निमाले २ वर्षको सफलतासँग हलको माहोललाई दाँजिन्, ‘यसपाली बाआमा, दाजु, आफन्तहरू, कलेजका साथीहरू आउनुभयो । साह्रै खुशी लाग्यो । यसरी खेल प्रदर्शन गर्नेबेला उहाँहरूलाई देख्न पाउँदा कन्फिडेन्स बढ्छ । उहाँहरूकै अगाडि खेल प्रदर्शन गरेर स्वर्ण जित्न पाउँदा एकदमै खुशी छु ।’ उनी स्वर्णपदक थापेपछि दर्शकदीर्घामा बसिरहेका बाआमातिर गइन्् । र, आमालाई आफ्नो पदक लगाइदिइन् । बाआमाले उनलाई खादा लगाइदिए । बुबाले उनलाई ‘बधाई, अझै राम्रो गर्नू’ भनें ।

निमाले थाउलुको २० पूर्णंकको नान छ्वान अलराउन्डमा १८.९१ अंक जोड्दै स्वर्ण हात पारेकी हुन् । उनी सागको उसुमा २ स्वर्ण जित्ने पहिलो नेपाली हुन् । १२ औं सागमा १६.९१ अंकमै स्वर्ण जतेकी निमालाई यसपाली बंगलादेशकी मोरजिनना अख्तर (१६.३०) र श्रीलंकाकी सन्जु कुमारी (१४.७४) को चुनौती दिने प्रयास निक्कै फितलो रह्यो ।


पहिलो चरण (खाली हात)मै ९.३१ अंक बनाएकी निमा भन्छिन्, ‘हिजोको अंकबाटै जित्नेमा ढुक्क थिइनँ । किनभने खेलमा जे पनि हुनसक्छ ।’ उनले दोस्रो चरणमा बिहीबार तरबारसहित प्रदर्शन गर्दा ९.६० अंक बनाइन् । यो स्कोर उनको करिअरकै सबभन्दा राम्रो हो ।


अघिल्लो संस्करणमा भारतका खोलडीलाई पराजित गरेकी उनले थपिन्, ‘उसुको २२ स्पर्धामा एउटा देशले १७ खोलडीलाई मात्रै खेलाउन पाउँछ । भारतले आफ्नो स्वर्ण रक्षा गर्नलाई हुनसक्छ, मेरो स्पर्धामा खेलाडी पठाएन । किनभने मैले १२ औं सागमा पनि राम्रो गरेकी थिएँ । भारत सान्सौमा बलियो छ र थाउलुमा उसका पुरुष खेलाडी बलिया छन् । राम्रो खेलाडीलाई हराएर जित्नु मज्जा हुन्छ तर, यहाँ आएका कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर भन्नु मिल्दैन । उनीहरू (श्रीलंका र बंगलादेश) ले चीनबाट प्रशिक्षण ल्याएर ट्रेनिङ गरेका थिए ।’


उसुमा ऐतिहासिक २ स्वर्णको उपलब्धिबारे उनले भनिन्, ‘प्रकाश गुरुले सँधै भन्नुहुन्थ्यो, तिम्रो खेल्ने उमेर छ, फेरि स्वर्ण जित्यो भने रेकर्ड हुन्छ । ट्रेनिङपछि अरुलाई पहिाले स्वर्ण र मलाई दोस्रो स्वर्णको लागि हौसला दिइरहनुहुन्थ्यो । पहिला स्वर्ण जितेका गुरुहरूले त्यसपछि खेल्न छाड्नुभयो । मैले दुईपल्ट खेले, दुईपल्टै जिते । गर्व लाग्छ ।’


अबको बाटोबारे भन्छिन्, ‘राम्रो खेल्ने । अझै राम्रो गर्ने । उच्चस्तरमा खेलेर सफलता हात पार्ने चाहना छ ।’ दुईपल्ट विश्व च्याम्पियनसिप खेलेका उनी एसियाली खेलकुद २०१८ मा पनि सहभागि भएका थिइन् । पाँच वर्षअघिको एसियाडमा भने छनोट भएर पनि कोटा काटिदा कोरिया जाने अवसर गुमाएकी थिइन् ।


प्रकाशित : मंसिर १९, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?