२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दौडन थालेको वर्षदिनमै पदक

ध्रुव तुलाधर

काठमाडौँ — स्वर्ण जितेको अघिल्लो दिनको लय समात्न नसके पनि धावक दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जित्दै मध्यम दूरीको इज्जत धानेका छन् । दशरथ रंगशालाको ट्र्याकमा भारतीय, पाकिस्तानी र श्रीलंकाली खेलाडीको दबदबाबीच दीपकले एथलेटिक्सबाट एउटा पदक थपेका हुन् ।

दौडन थालेको वर्षदिनमै पदक

भारतले ५ स्वर्ण, पाकिस्तान र श्रीलंकाका खेलाडीले १–१ स्वर्ण पदक जितेका छन् ।


उनले उक्त दूरी ३० मिनेट ५०.०६ सेकेन्डमा पार गरेका थिए । अन्तर्राष्ट्रिय अनुभव भएको भए उनले सजिलै रजत जित्नसक्ने स्थिति थियो । श्रीलंकाली सान मुगेश्वरनले थोरैले उनलाई उछिन्दै दोस्रो स्थान भेट्टाएका थिए । सानको टाइमिङ ३० मिनेट ४०.२० सेकेन्ड थियो । स्वर्ण जितेका भारतीय सुरेश कुमारले दूरी पार गर्दा २९ मिनेट ३३.६१ सेकेन्ड लगाएका थिए ।


अघिल्लो दिन सन्तोषी श्रेष्ठले मिलिसेकेन्ड अन्तरबाट सोही इभेन्टमा स्वर्ण जितेकी थिइन् भने १५०० मिटर दौडबाट टंकबहादुर कार्कीले नेपाललाई कांस्य दिलाएका थिए ।


‘अघिल्लो दिन दिदीदाइ (सन्तोषी र टंकबहादुर) ले पदक जितेकाले मलाई पनि केही गर्छु भन्ने थियो,’ कांस्य विजेता २४ वर्षे दीपकले भने, ‘टंक दाइले पनि बेलुका होटलमा बस्दा हौसला बढाइदिनुभयो ।’


दीपकको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । उनी कुद्न थालेको धेरै भएको छैन । एक वर्षयता मात्र उनी दौडमा लागेका हुन् । आर्मीमा छिरेको ५ वर्षजति भयो । ११ पढ्दै गर्दा आर्मीमा आबद्ध भएका उनले एक वर्षयता मात्र दौड्न थालेका हुन् । धेरै प्रतियोगिताको अनुभव छैन उनलाई । मात्र आर्मीको आन्तरिक प्रतियोगिता प्रधानसेनापति ट्रफीको ५ र १० हजार मिटर दौडमा स्वर्ण जितेको अनुभव छ । यद्यपि उनले छनोटमा निकालेको टाइमिङभन्दा राम्रो समयमा दौड पूरा गरे ।


‘यो भाइको अन्तर्राष्ट्रिय अनुभव छैन । त्यसैले उसले विपक्षीको गति बुझ्न सकेनन्, नत्र यो भाइले धेरै राम्रो गर्नसक्थें । पहिलोपल्ट हो । तिम्रो उमेर छ । धेरै राम्रो गर्न सक्छौं,’ खेलपछि आर्मीका प्रशिक्षक पुष्पराज ओझा, १० हजार मिटर दौडका पूर्व च्याम्पियन राजेन्द्र भण्डारी यसो भन्दै हौस्याइरहेका थिए । दीपकले पनि राजेन्द्रले आफूलाई जहिल्यै राम्रो गर्नुपर्छ भनेर हौसला दिइरहने गरेको सुनाए ।


१० हजार मिटरमा नेपालले १९ वर्षपछि जितेको पदिक हो । यसअघि सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा यामबहादुर पुडासैनीले यो इभेन्टमा कांस्य जितेका थिए ।


स्प्रिन्टतर्फ सबै खेलाडीले हिट चरण पार गर्न सकेनन् । २०० मिटर दौडमा आशिष चौधरी र आनन्ददेव चन्दले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय च्याम्पियन आशिषले २२.४७ सेकेन्ड र आनन्दले २४.०२ सेकेन्डको टाइमिङ निकाले । यो इभेन्टमा उजर रेहमानले २१.१५ सेकेन्डबाट पाकिस्तानका लागि स्वर्ण जिते । महिलातर्फ २०० मिटरमा सरस्वती चौधरीले २६.२६ सेकेन्डको टाइमिङ रह्यो ।


फिल्डतर्फ पदक जित्न नसके पनि धेरै खेलाडीले आठौं राष्ट्रियमा गरेको प्रदर्शनमा सुधार गरेका छन् । हाइजम्पमा सूर्यबहादुर खत्रीले १.९५ मिटरको प्रदर्शन गरे । जबकि उनले राष्ट्रियमा १.८५ मिटरबाट स्वर्ण जितेका थिए । लङजम्पमा शिला चौधरीले ५.३३ मिटर जम्प गरिन् । आठौंमा उनले ५.१४ मिटरबाट रजत जितेको भन्दा राम्रो प्रदर्शन दिइन् । डिसकस थ्रोमा पनि अमृता महतोले आठौं राष्ट्रियको स्वर्ण जित्दा भन्दा गतिलो प्रदर्शन बनाइन् ।


भारतीय र श्रीलंकन खेलाडीको वर्चस्व रहेको सागमा उनले ४०.१५ मिटर थ्रो गरिन् । राष्ट्रियमा ३६.०३ मिटरबाटै अमृताले स्वर्ण जितेकी थिइन् । लङजम्पमा भुवन महतोले आफ्नो प्रदर्शनमा सुधारे । राष्ट्रियमा रजत जित्दा ६.७२ मिटरको प्रदर्शन गरेका उनले यसपालि ६.७६ मिटर जम्प गरे । यसै इभेन्टमा नेपालकै शेरबहादुर विष्टले ९.८५ मिटरको प्रदर्शन गरे पनि पदक भेट्टाउन सकेनन् ।


प्रकाशित : मंसिर १९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?