१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

संगीता र सक्षमको उस्तै खुसी

कुशल तिमल्सिना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दोमा बुधबार नेपालले २ स्वर्ण पदक थपेको छ । अनुभवी खेलाडी सक्षम कार्की र नयाँ खेलाडी संगीता बस्यालले आ–आफ्नो स्पर्धामा सफलता पाए । समानता के रह्यो भने दुवैको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो । 

संगीता र सक्षमको उस्तै खुसी

सक्षमले ८७ केजीमाथि हेभीवेटमा पाकिस्तानका वाकर अलीलाई २७–९ अंकमा हराएर स्वर्ण सपना पूरा गरे ।


परिवारसहित घरेलु समर्थकको उल्लेख्य साथ पाएका उनले पहिलो राउन्डमा ३–३ को बराबरी खेले । सुरुमा सुस्त देखिए पनि दोस्रो राउन्डमा दुई ब्याककिक र दुई पन्च प्रहारपछि सक्षमले दोहोरो अंक बनाउन सके । यस राउन्डमा १६–४ ले अगाडि बढेका उनले तेस्रो राउन्डमा पनि ८–२ को एकपक्षीय अग्रता निकाले ।


‘म राष्ट्रिय टोलीमा अनुभवी खेलाडीको रूपमा चिनिन्छु । हिजो (मंगलबार) को स्पर्धामा वीर (महरा), काजल (श्रेष्ठ) स्वर्ण जिते । मनोज (मल्ल) र निमा (गुरुङ) ले स्वर्ण जित्न नसक्दा हामीलाई पनि दबाब बढेको थियो । साथीहरूले मिहिनेत गर्दागर्दै स्वर्ण चुकेको देखेपछि आफूलाई अझै राम्रो गर्नुपर्छ भन्ने छुट्टै खाले दबाव हुँदोरहेछ,’ फाइनलमा सफलता पाएपछि सक्षमले भने ।


यसअघि सक्षमले पहिलो चरणमा बंगलादेशका मोहम्मद मिजानुर रहमानलाई हराए । सेमिफाइनलमा श्रीलंकाका सिया बालापिटियागेमाथि ३२–११ अंकको जित रचे । यो जितलाई उनले बदलाको रूपमा अर्थ्याएका छन् । सन् २०१६ मा सक्षमले ८० केजीमुनि स्पर्धाको फाइनलमा भारतका नवजित मानसँग हार बेहोरेका थिए ।


‘यो अहिलेसम्मको अनुभवमा सबैभन्दा खुसीको दिन रह्यो किनभने आफ्नै घरमा स्वर्ण जित्नु भनेको एउटा खेलाडीका लागि यो भन्दा धेरै खुसी अरु हुँदैन,’ उनले थपे, ‘एक प्रकारको बदलाजस्तै भएको छ । त्यतिबेला पनि जितनजिक पुगेर हार्नुपरेको थियो, धेरै अंकअन्तर थिएन । मनमा खिन्न चाहिँ भइरहेको थियो । नेपालले ३ स्वर्ण जित्यो । तेक्वान्दोले एउटै जित्न सकेन । स्वर्ण र रजतको फरक त्यतिबेला बुझिएको थियो । यसपल्ट देशले धेरै स्वर्ण जितेको छ मेरो तर्फबाट पनि एउटा थप्न पाउँदा गर्व लागेको छ ।’


कोटेश्वर डोजाङका उत्पादन २३ वर्षे सक्षमले सागका कीर्तिमानी दीपक विष्टलगायतको प्रशिक्षण टिमलाई जितको श्रेय दिए । ‘चीनमा हामीले महत्त्वपूर्ण प्रशिक्षण र प्रतियोगिता खेल्यौं, यसले शारीरिक र मानसिक रूपमा तयार बनाउन सहयोग गर्‍यो । तयारीअनुसार नै यो सफलता मिलेको हो,’ उनले थपे, ‘म २०१३ मा राष्ट्रिय क्याम्पमा परेको थिएँ । त्यतिबेला दीपक गुरुले भन्नुभएको थियो कि ‘आई वाज द वान, आई एम द वान एन्ड आई वील बी द वान’ । गुरुको त्यो भनाइले मलाई थप मिहिनेत गर्न उर्जा मिलेको छ ।’


सक्षम दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालका लागि सयौं स्वर्ण जित्ने खेलाडीसमेत बनेका छन् । १३ संस्करणसम्म आइपुग्दा नेपालले बुधबार सय स्वर्ण पदको कोसेढुंगा छोएको छ । १२ औं संस्करणसम्म पुग्दा ७१ स्वर्ण जितेको नेपालले यस संस्करणको २९ औं स्वर्ण सक्षमले जितेका छन् । ‘यो त अर्को ठूलो समाचार भयो । यो खुसी कसरी व्यक्त गर्ने, केही सोच्नै सकेको छैन । म भाग्यमानी रहेछु,’ उनले हाँस्दै भने ।


संगीताको स्वर्ण

चितवनकी २५ वर्षीया संगीताले तेक्वान्दो खेल्न थालेको ७ वर्ष भयो । यसअघि १२ औं सागको छनोटमा आयशा शाक्यसँग पराजित भएपछि उनको साग सपना धकेलिएको थियो । १२ औं सागबाट फर्किएपछि आयशा निस्क्रिय भएपछि संगीतालाई अवसर आयो । १८ औं एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेकी उनी पहिलो खेलमै फिलिपिन्सकी डर्लेन अर्पोनसँग पराजित भइन् ।


यसपल्ट सागको पहिलो सहभागितामै उनले स्वर्ण जित्ने क्रममा भारतकी गंगाजोत गिललाई १९–८ को स्कोरमा पराजित गरिन् । संगीताले पहिलो राउन्डमा ७–३ को अग्रता लिइन् । दोस्रोमा ४–२ र तेस्रोमा ८–३ को अग्रतासहित पहिलो अन्तर्राष्ट्रिय स्वर्णको स्वाद घरेलु एरिनामै लिन पाइन् ।


संगीताले यसअघि श्रीलंकाकी मनीषा साम्राजिवालाई ४९–५ ले हराएकी थिइन् । ‘मैले आफ्नो योजनाअनुसार खेल्न सकिनँ । घरेलु दर्शकको साथ भए पनि फाइनलमा अर्कैखाले डर र दबाब थियो । त्यसबाट माथि उठेर आफूले सकेको खेल्न सकें । देशका लागि स्वर्ण जित्न पाउँदा धेरै खुसी छु । विपक्षीहरू राम्रा थिए,’ संगीताले स्वर्ण जितेपछि भनिन्, ‘आज हाम्रा साथीहरू लगातार हारिरहेका थिए । फाइनलमा पुगेपछि मलाई जित्ने अवसर आएको थियो, जसरी पनि जित्नुपर्छ भन्ने सोचेर खेलेको थिएँ ।’


संगीताले आफ्नो स्वर्ण प्रशिक्षकप्रति समर्पित गरिन् । ‘गुरुहरूले धेरै हौसला दिनुभएको थियो । उहाँहरूको अपेक्षालाई मर्न दिइनँ,’ उनले थपिन्, ‘मेरा लागि यो उपाधि धेरै नै महत्त्वपूर्ण किन छ भने यसले अझै मिहिनेत गरेर यो भन्दा ठूलो सफलताका लागि सधैं प्रेरित गरिरहने छ ।’


राष्ट्रिय तेक्वान्दो एकेडेमीको हलमा बुधबार ग्योरोगीतर्फ ६ स्वर्णका लागि भएको स्पर्धामा २ नेपाली खेलाडीले पहिलो स्थान हासिल गर्न सफल रहे । ओलम्पियन निशा रावल ७३ केजीमाथिको फाइनलमा भारतकी रोदाली बारुवासँग ३२–९ अंकले पराजित भइन् ।


श्रीलंकाकी नुवान्थी लक्मलीलाई ३६–१० ले हराएर फाइनलमा पुगेकी उनको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो । उनले पहिलो राउन्डमा १–९, दोस्रो राउन्डमा ३–७ र तेस्रो राउन्डमा ६–१६ ले पछाडि रहिन् । फाइनलको अन्तिम सेटमा उनको स्टामिना पनि निकै खस्किएको थियो । महिला ५३ केजीमुनि अस्मिता खड्का, पुरुष ६३ केजीमुनिमा ज्ञानेन्द्र महाल र पुरुष ७४ केजीमुनि निश्चलमान श्रेष्ठ सेमिफाइनलमा पराजित भए ।


बंगलादेशकी निगर सुल्तानमाथि ४०–९ को स्कोरमा प्रभावशाली जित निकालेर सेमिफाइनलमा पुगेकी अस्मिताले भारतकी लतिका भण्डारीसँग ३४–११ को स्कोरमा हार बेहोरिन् । उनै लतिकाले पाकिस्तानकी अनेला अयशा अफ्सरलाई ४०–१० ले हराई स्वर्ण जितिन् । अफ्सरले सेमिफाइनलमा श्रीलंकाकी दसुनी निमेशालाई पराजित गरेकी थिइन् ।


निश्चलमान पनि भुटानका गावाङ योङतेनलाई ११–४ को स्कोरमा जित निकाल्दै सेमिफाइनल पुगेका थिए । उनी भारतका जर्नेल सिंहसँग २५–११ को स्कोरमा पराजित भए । भारतीय सिंहले फाइनलमा पाकिस्तानका जबरान असद खानलाई ४१–२६ ले हराए । खानले श्रीलंकाका दर्शना नुवानलाई पराजित गरी सिंहसँगको फाइनल भेट पक्का गरेका थिए । ज्ञानेन्द्र हमाल सेमिफाइनलमा भारतका सौरभसँग २५–२४ को झिनो स्कोरमा पराजित भए ।


उनले भुटानका मिग्मा वाङचुक तामाङलाई पराजित गरी सेमिफाइनल पुगेका थिए । ज्ञानेन्द्रलाई हराएका सौरभ फाइनलमा पाकिस्तानका महमुद खानसँग टाइब्रेकमा पराजित भए । फाइनलमा दुवैको १८–१८ अंक भएपछि टाइब्रेकमा खानले पहिलो अंक बटुल्दै स्वर्ण जिते ।


तेक्वान्दोको तेस्रो दिन नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । योसँगै तेक्वान्दोको २९ मध्ये २३ स्वर्णको छिनोफानो भएको छ । त्यसमध्ये नेपालले ११ स्वर्ण, ३ रजत र ९ कांस्य जितेको छ । अन्तिम दिन बिहीबार ६ स्वर्णको छिनोफानो हुनेछ ।


प्रकाशित : मंसिर १९, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?