२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘दोस्त’ को स्वर्ण

विनोद पाण्डे

काठमाडौँ — मन्जुरी जनाएको भए अनुपमा मगर अहिले नेपाली सेनाको ब्यारेकभित्र हुन्थिन् । उनले स्वतन्त्र रूपमा जिउन चाहिन्, जसबाट आफ्ना इच्छा पूरा हुन्थ्यो । उनको रहर थियो कराते खेल्ने । त्यही खेलबाट बुधबार उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि स्वर्ण जितेकी छन् । 

‘दोस्त’ को स्वर्ण

अनुपमा एउटा सेनाबाट अर्को सेनामा रूपान्तरित हुँदै थिइन् । स्कुल पढ्दादेखि तत्कालीन माओवादीमा आबद्ध उनी जनमुक्ति सेनाको सिन्धुलीको डिभिजन–२ मा पुगिन् । मीरा राईसँग उनको पहिलो भेट त्यहीं भयो । अनुपमा उदयपुरको लेखानी–५ बाट र मीरा भोजपुरबाट त्यहाँ आएका थिए । डिभिजन–२ मा अनुपमा मुख्यालयमा थिइन्, मीरा शाखामा ।


दुवै लडाकु भने होइनन् । अनुपमालाई नाचगान मन पर्थ्यो । त्यसैले कलाकारको सहयोगीका रूपमा जनमुक्ति सेनामा गएकी थिइन् । शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन सुरु भयो । अनुपमालाई गाउँका मान्छेले सेना समायोजनमा जानै सुझाव दिए । उनी छनोट पनि भइन् । तर, सेनामा गइनन् । ‘म आम नागरिक भएर खेलिरहन चाहन्थें, त्यही भएर गइनँ,’ उनले भनिन् । मीरा भने समायोजनमा अयोग्य भइन् ।


अनुपमाले पाकिस्तानकी नर्गिसलाई पराजित गर्दै स्वर्ण पदक पोल्टामा पार्दा बुधबार अल्ट्राधावक मीराले आफूलाई सम्हाल्न सकिनन्, अंगालोमा बलियोसँग कसिन् । र, भनिन्, ‘म गर्व गरिरहेछु, आज दोस्तले स्वर्णको आगो बाल्नुभो ।’



सैनिक ब्यारेकबाट बाहिर रहने निर्णय गरेकी उनै अनुपमाले स्वर्ण पदक हात पारेकी हुन् । सातदोबाटोस्थित कभर्ड हलमा पाकिस्तानकी नर्गिसलाई ६–३ को स्कोरमा पराजित गरेपछि अनुपमाको गलामा स्वर्ण चम्किएको थियो । उनी अघिल्लो महिना मात्र बंगलादेशमा दक्षिण एसियाली कराते च्याम्पियनसिपको फाइनलमा श्रीलंकाको कुलाथुङ्गा बान्द्रासँग पराजित भएकी थिइन् । उनले तिनै बान्द्रालाई सागमा पहिलो खेलमा ७–४ ले पन्छाएकी थिइन् ।


‘श्रीलंकाली खेलाडीसँगको खेललाई लिएर निकै डर लागिरहेको थियो । उसलाई पन्छाएँ भने फाइनल जित्छु भन्ने थियो,’ स्वर्ण जितेपछि अनुपमाले भनिन्, ‘पाकिस्तानी खेलाडी पनि तगडा थिइन्, तैपनि जित्छु भन्ने सोचिरहेकी थिएँ । उसको खेल मैले अध्ययन गरेर हेरिरहेको थिएँ । उसले एसियाली खेलकुदमा कांस्य पदक पनि जितेको मलाई पहिलै थाहा थियो ।’


अनुपमाको सफलता करातेमा नेपालको १० औं स्वर्ण थियो । बुवा, आमा अगाडि देख्दा धकाउने भएकाले उनले अभिभावकलाई आफ्नो खेल हेर्न बोलाएकी थिइनन् । सातदोबाटो खेल परिसरमा अनुपमाको सफलतामा सबैभन्दा बढी कोही रमाइरहेको थियो भने त्यो मीरा नै थिइन् । ‘दोस्तले स्वर्णको आगो बाल्नुभयो । उहाँले नेपालको प्रतिनिधित्व गरेर स्वर्ण पदक जित्नु भएको छ, दोस्तको यो सफलतामा म गर्व गरिरहेको छु,’ अनुपमासँग विभिन्न पोजको फोटो खिचिरहेकी मीरा भन्दै थिइन् ।


दुवै एकअर्कालाई तपाईं भनेर सम्बोधन गर्छन् । अल्ट्रा रनर मीराले एसियन स्काई रनिङ र फ्रान्समा विश्व सिरिजको एक प्रतियोगिता जितेर विश्वव्यापी चर्चा बटुलिरहेकी छन् । आफूलाई यो स्थितिमा ल्याउने नै अनुपमा भएको उनी बताउँछिन् । ‘दोस्तले नै मलाई काठमाडौं बोलाउनुभएको हो । उहाँ बालाजु डोजोबाट कराते खेल्न थाल्नुभयो, अवसर पनि पाउँदै जानुभयो । दोस्तको साथले नै म आजको स्थितिमा आइपुगेकी हुँ ।’


अनुपमाले माओवादीको पीएल क्लबबाट राष्ट्रिय खेलकुदमा खेलिन् । छैटौं कांस्य, सातौंमा रजत र आठौंमा कांस्य जितिन् । उनले खेलेको १० वर्ष जति भयो । पीएलए क्लब, बालाजु डोजो हुँदै अहिले नेपाल पुलिस क्लबमा आबद्ध छिन्, करार खेलाडीका रूपमा । उनलाई पीएलएमा कमल वाइवाले प्रशिक्षण दिएका थिए, बालाजु डोजोमा ध्रुवविक्रम मल्लले । १३ औं सागमा जजको भूमिकामा रहेका मल्लले एरिनाबाटै अनुपमाको स्वर्ण सफलता देखे ।


अनुपमालाई परिवारको पूरै साथ छ । सबैभन्दा धेरै समर्थन दाइको छ अनि बुवा र आमाको । सागमा उनी पहिलो पटक खेलेकी हुन् । ११ औं सागको छनोटका लागि पनि उनी आएकी थिइन्, हार्न पुगिन् । अब उनको लक्ष्य ओलम्पिक खेल्नेछ । करातेलाई पहिलो पटक ओलम्पिकमा समावेश गरिँदै छ ।


मीरा र अनुपमा बालाजुमा बस्छन् मल्लसँगै । १३ औं सागमा करातेको टिम कुमितेमा खेलेकी एस्टर राई पनि त्यहीं बस्छिन् । ‘दोस्तहरू बिहानै डोजोमा अभ्यास गर्न जानु हुन्छ, हामीचाहिँ जंगलमा दौडिन जान्छौं,’ मीराले भनिन् ।


मीरा यसै चर्चामा छिन् । सागको सफलताले अनुपमाको चर्चा पनि चुलिएको छ । जनमुक्ति सेनादेखि स्वर्ण हात पार्दासम्म संघर्ष गरेकी अनुपमा भने मीराका लागि रोल मोडल हुन् ।


प्रकाशित : मंसिर १९, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?