वीर र काजललाई स्वर्ण

कुशल तिमल्सिना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोतर्फ दोस्रो दिन नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको छ । सोमबार पुम्सेतर्फ नेपालले ७ स्वर्ण १ रजत र ५ कांस्य जितेको थियो । मंगलबार पुरुष ६८ केजीमुनि तौलमा वीरबहादुर महरा र महिला ४६ केजीमुनि तौलमा काजल श्रेष्ठले स्वर्ण जिते । दुवैको सागमा पहिलो स्वर्ण हो ।

वीर र काजललाई स्वर्ण

सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीको हलमा काजलले भारतकी राधा भाटीलाई ५०–३९ स्कोरले पराजित गरी फाइनल पुगेकी थिइन् । उनी बाइ पाएर सिधै सेमिफाइनल पुगेकी हुन् । फाइनलमा २२ वर्षीया काजलले सानदार प्रदर्शन गरिन् ।


पाकिस्तानकी सयेद जादी सिद्रा बाटुलसँग उचाइको बेफाइदाका बाबजुद उनको प्रदर्शन उच्चस्तरको थियो । तीन वर्षदेखि आर्मी क्लबबाट व्यावसायिक तेक्वान्दो खेल्दै आएकी उनले आफूभन्दा अग्लो कदकी बाटुललाई ५०–१४ को एकपक्षीय स्कोरमा पराजित गरिन् । पहिलो राउन्डमा १४–९ ले अगाडि रहेकी काजलले दोस्रो राउन्डमा लगातार किक प्रहार गरी पाकिस्तानीलाई अवसर नै छाडिनन् । उनले यो राउन्ड २३–१ ले जितेकी हुन् । तेस्रो तथा अन्तिम राउन्डमा पनि १३–४ को नतिजासहित करिअरको पहिलो स्वर्ण जितिन् ।


स्वर्ण जितेपछि निकै बेरसम्म रोएकी काजलले भावुक अभिव्यक्ति दिइन् । ‘म धनी परिवारबाट आएको होइन । मेरा मम्मी/बाबाले धेरै संघर्ष गरेर यो दिन देख्न पाउनुभएको छ,’ उनले भनिन्, ‘मेरो बाबा ११ वर्षदेखि साउदी अरबमा काम गरिरहनुभएको छ, उहाँको सपना अहिले पूरा गर्न सकेको छु, यो स्वर्ण साउदीमा रहनुभएको मेरो बाबाका लागि ।’


काजलले सागमा आफूले सोजेजस्तै प्रदर्शन भएकोमा खुसी व्यक्त गरिन् । ‘भारत र पाकिस्तान पनि तेक्वान्दोमा निकै राम्रो छ । मैले पहिलो प्रतिस्पर्धी भारतका खेलाडीलाई हराएको थिएँ, दोस्रोमा पाकिस्तानी अग्लो थिइन्, तेक्वान्दोमा अहिले उचाइको फाइदा धेरै छ । तर दुवै प्रतिस्पर्धामा मैले जस्तो सोचेको थिएँ । त्यस्तै खेल भयो,’ उनले भनिन् ।


काजलको अबको लक्ष्य एसियाली च्याम्पियनसिपमा स्वर्ण जित्ने हो । एउटा लक्ष्य पूरा भएको छ र अबको नयाँ लक्ष्यका लागि पनि अधिक मिहिनेत गर्ने उनको योजना छ । जुनियर विश्व च्याम्पियनसिप खेलेयता उनी सिनियर टोलीमा स्थान बनाउन संघर्षरत थिइन् । यसपल्ट पहिलोपल्ट सिनियर टोलीमा परेलगत्तै उनले स्वर्ण जित्न सकेकी हुन् । गत महिना चाइना ओपन तेक्वान्दोमा उनले कांस्य जितेकी थिइन् ।


वीरबहादुरले स्वर्ण जित्ने क्रममा पाकिस्तानका मुहम्मद फहिममाथि ४१–३६ को स्कोरमा जित निकाले । पहिलो राउन्ड १५–१३ ले जितेका उनी दोस्रो राउन्डमा १३–८ को आरामदायी अवस्थामा पुगे । तेस्रो राउन्डको अन्तिम १ मिनेट ४१–२७ को अग्रतामा रहेका वीरले रक्षात्मक बन्ने प्रयास गर्दा फहीमले फाइदा उठाए । स्कोरमा अधिक अन्तर भएका कारण वीरलाई उछिन्न सकेनन् । वीरले समग्रमा ४१–३६ को स्कोरसहित मंगलबार सागमा स्वर्ण सपना पूरा गरे । यसअघि सेमिफाइनलमा उनले भारतका पृथ्वीराज चौहानमाथि ३२–२४ स्कोरको जित निकालेका थिए ।


‘१२औं सागमा मैले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएँ, फाइनलमा पराजित भएपछि अर्कोपल्ट जित्छु भन्ने सोच थियो,’ स्वर्ण विजेता वीरले भने, ‘यसपल्ट घरमै प्रतियोगिता हुँदै थियो, स्वर्ण पदक सोचेर खेलेको थिएँ, भनेजस्तै भयो ।’ वीरले स्वर्ण आफूलाई यो सफलताको हकदार बनाउने सबैसँग बाँड्न चाहेको सुनाए ।


वीरले तीन वर्षअघि भारतमा समपन्न १२ औं सागमा फाइनलमा पुगेर पनि स्वर्ण जित्न असमर्थ थिए । नयाँ प्रतिद्वन्द्वीविरुद्ध आफ्नो रणनीति सफल भएकोमा उनी दंग छन् ।


नेपालले स्वर्णको अपेक्षा गरेको अर्को स्पर्धा महिला ५७ केजीमुनि निमा गुरुङ स्वर्ण जित्न असमर्थ रहिन् । उनी लगातार दोस्रो सागमा फाइनलमा पराजित भएकी हुन् । सेमिफाइनलमा पाकिस्तानकी नक्स हम्दानीलाई ३५–१५ को स्कोरमा सहजै पराजित गरेकी उनी फाइनलमा भारतकी कासिस मलिकसँग ८–७ को झिनो स्कोरमा पराजित रहिन् । तेस्रो राउन्डको अन्तिम ३६ सेकेन्ड बाँकी हुँदासम्म निमा ७–५ ले अगाडि थिइन् । त्यसयता हड्बडाएकी उनले ३ अंकको किक भेटिन् । फलत: हातैमा आएको स्वर्ण गुम्यो ।


पुरुष ५४ केजी तौलसमूहमा मनोज मल्लको नियति झन् खराब रह्यो । पहिलो चरणमा भुटानका तेन्जिन दोर्जीलाई २४–१४ स्कोरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका उनी पाकिस्तानका शाजइवसँग ३७–१४ को स्कोरमा पराजित हुन पुगे । उनै साजइवले फाइनलमा श्रीलंकाका रेहना अरुणा बन्दरालाई ४७–१५ को स्कोरमा सहज जित निकाल्दै स्वर्ण जिते ।


तेक्वान्दोका २९ स्वर्णमध्ये १७ स्वर्णको छिनोफानो भएको छ । त्यसमा नेपालले ९ स्वर्ण, २ रजत र ६ कांस्य जितेको छ । पुम्से विधामा १३ स्वर्णका लागि भएको स्पर्धामा नेपालले ७ स्वर्ण, १ रजत र ५ कांस्य जितेको थियो । तेक्वान्दोमा बुधबार ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : मंसिर १८, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?