३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित

हिमेश

काठमाडौँ — नेपालका लागि भुटान अब फुटबलमा पहिलेजस्तो सजिलो प्रतिद्वन्द्वी रहेन । तर अझै प्रिय प्रतिद्वन्द्वी भने हो । किनभने नेपालले भुटानविरुद्धको खेल भनेपछि राम्रो खेल्छ, भुटानले नेपाल भनेपछि आत्तिएर खेल्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार पुरुष फुटबलमा यी दुई देशबीचको खेलको वास्तविक कथा यही रह्यो । यो कथा हो, दशरथ रंगशालामा नेपाली फुटबल औपचारिक रूपमा फर्केको अवसर पनि ।

नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित

भूकम्प गएयता नेपालका खेलाडीले दशरथ रंगशालामा खेल्न पाएको यो नै पहिलोपल्ट हो । यही निहुँमा विशेषत: नेपाली यू–२३ का खेलाडी खुसी देखाए । यो खुसीलाई खेलाडीले मैदानमा राम्रो प्रदर्शनमा परिणत पनि गरे । वास्तवमा यो खेल नेपालले लय समातेको अवसर थियो । नेपालको फुटबल हेर्न लामो समयपछि दशरथ रंगशाला पुगेका ७ हजार दर्शक पनि खुसी रहे । प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘दशरथ रंगशालामा फुटबल खेल्न पाउनु नै सबैभन्दा ठूलो खुसी हो ।’

अझ कप्तान सुजल श्रेष्ठले यतिसम्म भने, ‘फुटबल खेलाडीको रूपमा हामी जन्मेहुर्केको नै यहीं हो ।’ सुरुमै सुजलको गोलले अग्रता लिएपछि नेपालले भुटानमाथि दबाब सिर्जना गर्न सफल रह्यो । भुटानी डिफेन्डर जिग्मे छिरिङ दोर्जेले आफ्नो पेनाल्टी एरियामा बल राम्रोसँग क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा सुजलले छैटौं मिनेटमा नजिकको दूरीबाट प्रहार गर्दै गोल गरे । दोस्रो गोल सुजलकै नाममा रह्यो । उनले ५१ औं मिनेटमा चलाखीपूर्ण गोल गरे ।

भुटानी गोलरक्षक किन्ले तेन्जिङ अगाडि बढेको मौका छोपेर उनले बललाई हल्का उचाइ दिए । त्यसले पोस्टको दिशा लियो । अभिषेक रिजालले ६६ औं मिनेटमा तेस्रो गोल गरे । सुनील बलको फ्रि–किकलाई अनन्त तामाङले हेड गर्दै पास मिलाए । त्यसैलाई अभिषेकले निर्णायक हेड गरे । मिक्चेन तामाङले गरेको चौथो गोल अझ सुन्दर थियो । उनले ७७ औं मिनेटमा प्राप्त फ्रि–किकमा बललाई घुमाउरो बाटो तय गर्न लगाए । त्यही बल सबैलाई छक्याउँदै पोस्टतर्फ प्रवेश गर्‍यो ।

खेलपछि भुटानी प्रशिक्षक पेमाले आफ्नो टिमको हारमा प्रस्तुत गरेको तर्क भने न्यायसंगत थियो । भुटानले २४ घण्टाभन्दा कम समयमा खेल्नुपरेको थियो, त्यसैले उनका खेलाडी थाकेका थिए । थाकेको सुरुमा भुटानी खेलाडीले राम्रो गर्न सकेनन् । भुटानले अघिल्लो दिनमात्र संघर्षपूर्ण खेलमा बंगलादेशलाई हराएको थियो । लगातार दुई खेलपछि अब भुटानले आरामको अवसर पाउनेछ भने नेपाल बुधबार नै श्रीलंकाविरुद्ध अर्को खेलमा ओर्लिने छ ।

भुटानी प्रशिक्षक पेमालाई रेफ्रीको निर्णयमा गुनासो थियो । मंगलबारै दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशले १–१ को बराबरी खेले । बंगलादेशले सुरुमा अग्रता लियो । त्यो आत्मघाती गोल रह्यो । माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले ३० औं मिनेटमा त्यो दुर्भाग्यपूर्ण गोल गरे । माल्दिभ्सले ७० औं मिनेटमा बराबरी गोल फर्कायो । इब्राहिम महोदीले नजिकबाट यो गोलका लागि शक्तिशाली प्रहार गरेका थिए ।

नेपाल पाँच टिमसम्मिलित प्रतियोगिताको राउन्ड रोबिनको शीर्षस्थान छ । दुई खेलिसकेको भुटान भने समान ३ अंकमा दोस्रो स्थानमा छ । माल्दिभ्स लगातार दोस्रो बराबरीपछि २ अंक लिएर तेस्रोमा छ । १–१ अंकमा श्रीलंका र बंगलादेश छन् । शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा गर्नेछन् ।

प्रकाशित : मंसिर १७, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?