श्रीलंकासँग नेपाल ६ विकेटले पराजित [अपडेट]

राजेन्द्र नाथ

काठमाडौँ — उपकप्तान दीपेन्द्रसिंह ऐरीको अविजित ७२ रन मदतमा श्रीलंकाविरुद्ध नेपालले सम्मानजनक स्कोर बनाए पनि खराब फिल्डिङका कारण पहिलो खेल गुमाएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा मंगलबार श्रीलंकाको २३ वर्ष उमेरमुनिको टोलीसँग नेपाल घरेलु मैदानमै चुकेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्‍यो ।

श्रीलंकासँग नेपाल ६ विकेटले पराजित [अपडेट]

नेपालको हारमा खराब फिल्डिङ पनि कारक मानिएको छ । महत्त्वपूर्ण खेलमा नेपाली खेलाडीले बाउन्ड्रीमा तीनवटा क्याच ‘मिस’ गरे । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङमा केही कमजोरी भएको स्वीकारे । श्रीलंकासँग ६ विकेटले पराजित नेपालको फाइनल यात्रा अब अन्य टोलीको नतिजा र रनरेटमा निर्भर हुनेछ ।


श्रीलंकाको जितमा साम्मु आसानले ४ चौका र ५ छक्का हान्दै ७२ रन बनाएर अविजित रहे । ओपनर निशान मदुस्काले ४२ बलमा ५ चौका र १ छक्कासहित ४६ रन बटुलेका थिए । निशानलाई पवन सर्राफले १७ औं ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले पाथुम निसंकालाई ३० रनमा क्याच आउट गराए । पवन सर्राफले कामिन्दु मेन्डिसलाई १ रनमा स्टम्पिङ आउट गरे । सुसन भारीले चारिथा आसालांकालाई ६ रनमा करण केसीबाट क्याच गराए । त्यसपछि नेपाली बलर श्रीलंकनका सामु फिक्का साबित भए ।


दर्शकले खचाखच भरिएको टीयू खेलमैदानमा टस हारेर नेपालले ब्याटिङ निम्तो पाएको थियो । उसले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । उपकप्तान दीपेन्द्रसिंह ऐरी ४ चौका र ३ छक्कासहित अविजित ७२ रन बनाए । पवन सर्राफ २२ रनमा क्याच आउट भए । पाँचौं विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए । ओपनर पारस खड्कालाई काविष्का अन्जुलाले दोस्रो ओभरको दोस्रो बलमै विकेटकिपर निशान मदुस्काबाट १ रनमा क्याच आउट गराए । दोस्रो विकेटमा आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ्स केही उकासे ।

प्रकाशित : मंसिर १७, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?