करातेमा नेपालका राजिव पुडासैनीलाई कास्य

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं साग अन्तर्गत करातेको ६० केजी कुमुतेमा नेपालका राजिव पुडासैनीले बंगलादेशका मोहम्मद अल अमिलसँग ५-७ को स्कोरमा पराजित भएपछि कास्यमा चित्त बुझाउनुपरेको हो । बंगलादेशी खेलाडी भने नेपाललाई सेमीफाइनलमा पराजित गरी फाइनल पुगेका छन् । 

ZenTravel

मंगलबार बिहान सातदोबाटोस्थित कराँते कबर्ड हलमा भएको पहिलो खेलमा पुडासैनीले भुटानका खामसुङ चोइतेनलाई डेढ मिनेटको खेलमा ८-० को अग्रता बनाएपछि टेक्निकल आधारमा विजयी भएका थिए। तर उनले सेमीफाइनल बंगलादेशको अमिलको अगाडि राम्रो प्रदर्शन गर्न नसकेपछि हार बेहोर्न बाध्य भए।

Meroghar

नेपालले सोमबार कराते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।

प्रकाशित : मंसिर १७, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मिचाहा प्रजातिको व्यवस्थापन

भरतबाबु श्रेष्ठ

बाह्य मिचाहा प्रजातिको फैलावट र त्यसबाट उत्पन्न वातावरणीय एवं आर्थिक प्रभावलाई विश्वव्यापी रूपमा मानवसिर्जित एउटा महत्त्वपूर्ण समस्याका रूपमा लिइन्छ । यिनलाई व्यवस्थापन गर्न जैविक विविधता एवं वातावरणसँग सम्बन्धित सन्धि, सम्झौता र ऐनहरूमा विभिन्न रणनीतिको उल्लेख भए पनि कार्यान्वयन हुन नसकेकाले समस्या दिन–प्रतिदिन बढ्दो छ ।

यो लेख मिचाहा प्रजातिले पार्ने असर, व्यवस्थापनका उपाय र नेपालले गरेका प्रतिबद्धताहरूको वर्तमान अवस्थामा केन्द्रित छ ।

मिचाहा प्रजाति
एउटा महाद्वीपमा पाइने थुप्रै प्रजाति प्राकृतिक रूपमा अर्को महाद्वीपमा पाइँदैनन् । कुनै महाद्वीपमा उत्पन्न प्रजातिलाई त्यही क्षेत्रको रैथाने प्रजाति मानिन्छ । एउटा महाद्वीपको रैथाने प्रजाति अर्को महाद्वीपमा फैलन प्राकृतिक अवरोधले दिँदैन । जस्तै— दक्षिण अमेरिकाको रैथाने वनस्पति समुद्रका कारण एसियासम्म फैलन सक्दैन । तर मानिसको आवतजावतसँगै यी सबैतिर पुग्ने गरेका छन् । धेरै प्रजाति यातायातका साधनभित्र रहेर वा व्यापारिक सामानमा मिसिएर कताकता पुगिरहेका हुन्छन् र यिनलाई बाह्य प्रजाति भनिन्छ । थुप्रै प्रजाति वृक्षरोपण, कृषि उत्पादन, मत्स्यपालनका लागि एक महाद्वीपबाट अन्यत्र पुर्‍याइएका छन् । जस्तै— गोलभेँडा दक्षिण अमेरिकाको रैथाने वनस्पति हो भने एसियाका लागि बाह्य वनस्पति । ऐँसेलु नेपालको रैथाने वनस्पति हो भने अमेरिकाका लागि बाह्य । मानव क्रियाकलापका कारण दिनानुदिन प्रजातिहरूको ओसारपसार भइरहेकाले हरेक महाद्वीपमा हजारौँ बाह्य प्रजाति छन् ।

एउटा अनुसन्धान अनुसार, विश्वका १३ हजारभन्दा बढी फूल फुल्ने वनस्पति रैथाने क्षेत्रबाहिर पुगेका छन् । धेरै बाह्य प्रजाति पशुपालन, मत्स्यपालन, बगैँचा एवं कृषि क्षेत्रमा सीमित छन् र तिनको जैविक निरन्तरताका लागि मानिसको सहयोग आवश्यक पर्छ । जस्तै— नेपालीले गोलभेँडा खेती गर्न छाड्ने हो भने यहाँबाट यो लोप हुन सक्छ । तर कतिपय बाह्य प्रजाति तीव्र गतिमा फैलन सक्छन् र रैथाने प्रजातिलाई विस्थापन गरी पारिस्थितिकीय चक्रको सन्तुलन बिगारिदिन्छन् ।

यस्ता हानिकारक बाह्य प्रजातिलाई बाह्य मिचाहा प्रजाति भनिन्छ । उदाहरणका लागि, आकर्षक फूलका कारण पानीमा तैरिएर हुर्कने जलकुम्भीलाई बगैँचाभित्र ससाना पोखरीमा सजावटका लागि रैथाने क्षेत्र दक्षिण अमेरिकाबाट अफ्रिका, एसिया, अस्ट्रेलियामा भित्र्याइएको थियो । दुर्भाग्यवश, यो वनस्पति मानवनिर्मित पोखरीहरूबाट प्राकृतिक पोखरी, ताल, नदीनालामा फैलिन गई तत्तत् क्षेत्रको जैविक विविधता, पारिस्थितिकीय चक्र एवं उपयोगितामा गम्भीर असर परेको छ । नेपालमा पनि कोशी टप्पु वन्यजन्तु आरक्षण, चितवनको बीस हजारी ताल, कैलालीको जाखोर ताल, पोखराको फेवातालमा जलकुम्भी तीव्र गतिमा फैलिरहेको छ । नेपालमा पाइने अन्य प्रमुख मिचाहा प्रजाति हुन्— वनमारा, लहरे वनमारा, पातीझार, शंखेकिरा, तिलामिया माछा, मकैमा लाग्ने फौजीकिरा आदि ।

मिचाहा प्रजातिको प्रभाव
संयुक्त अधिराज्यका वैज्ञानिक सेलाइन बेलार्ड एवं सहकर्मीहरूका अनुसार, ५०० वर्षमा संसारबाट लोप भएका प्रजातिमध्ये ५० प्रतिशत हराउनुको प्रमुख कारण मिचाहा प्रजातिको फैलावट हो । डेभिड पाइमेन्टेल एवं सहकर्मीहरूका अनुसार, मिचाहा प्रजातिको नियन्त्रण प्रयासमा वर्षेनि विश्वव्यापी रूपमा १४ खर्ब अमेरिकी डलर बराबरको आर्थिक भार थपिएको छ । बाह्य मिचाहा प्रजातिले कृषि उत्पादनमा पनि ह्रास ल्याई खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको छ । अत्यधिक जोखिम राष्ट्रहरूमा नेपाल १२४ राष्ट्रमध्ये तेस्रो स्थानमा पर्छ । नेपालमा कृषि उत्पादनको आयात बढ्दै गएकाले मिचाहा प्रजातिको असर कृषि क्षेत्रमा अझै बढ्ने देखिन्छ ।

व्यवस्थापनका उपाय
व्यापारको विश्वव्यापीकरण र मानिसहरूको बढ्दो यात्राका कारण मिचाहा वनस्पतिको व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ । सामान्यत: यसको व्यवस्थापनका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ— नयाँ मिचाहा प्रजाति भित्रिन नदिनु : बलियो क्वारेन्टाइन सुरक्षा नीति अवलम्बन गरे कृषि उत्पादन एवं अन्य सामग्रीको आयात गर्दा भित्रिन सक्ने बाह्य प्रजातिलाई रोक्न सकिन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थल एवं सीमानाकाहरूमा हुने फितलो क्वारेन्टाइन परीक्षण र खुला सिमानाका कारण नेपालका लागि यो काम निकै चुनौतीपूर्ण छ ।

फैलिनुअघि निर्मूल पार्नु : कुनै पनि मिचाहा प्रजाति सानो क्षेत्रबाट फैलन थाल्छ । त्यही अवस्थामा पहिचान गर्न सके निर्मूल पार्न सकिन्छ । जस्तै— सुगाप्वाँखे नामक सिमसार क्षेत्रको मिचाहा वनस्पति काठमाडौँमा मात्र फैलिएको छ । यसलाई निमिट्यान्न पार्न भौतिक, यान्त्रिक एवं रासायनिक विधिमार्फत केही वर्षसम्म प्रयास गरिराख्नुपर्छ ।

नियन्त्रण गर्नु : मिचाहा प्रजाति ठूलो क्षेत्रमा फैलिइसकेपछि उन्मूलन गर्न असम्भव नै भएकाले नियन्त्रण एक मात्र विकल्प हो । यस अन्तर्गत मिचाहा प्रजातिको प्रचुरता घटाउने एवं थप क्षेत्रमा फैलिन नदिने कार्य पर्छन् । जस्तै— लहरे वनमारा विश्वकै अति हानिकारक मिचाहा प्रजातिमध्ये एउटा हो । नेपालमा पूर्वी क्षेत्रबाट प्रवेश गरेको यो अहिले पश्चिमतर्फ फैलँदै दाङको तुलसीपुर क्षेत्रसम्म पुगिसकेको छ । नेपालबाट यसको उन्मूलन सम्भव छैन, तर नियन्त्रणका उचित विधि अपनाउन सके पूर्वी र मध्य नेपालमा यसको प्रचुरता घटाउन सकिन्छ भने, पश्चिमतर्फ फैलिनबाट रोक्न सकिन्छ ।

सामान्यत: मिचाहा प्रजाति नियन्त्रणका लागि भौतिक एवं यान्त्रिक, रासायनिक र जैविक विधिहरू अपनाइन्छन् । भौतिक एवं यान्त्रिक विधि अन्तर्गत मानिसले सीधै एवं यन्त्र प्रयोग गरी नष्ट गरिन्छ । जस्तै— फेवातालबाट जलकुम्भी निकाल्न मेसिनको प्रयोग । यो विधि सानो क्षेत्रमा प्रभावकारी भए पनि ठूलो क्षेत्रमा निकै महँगो पर्छ । तैपनि जनसहभागिता जुटाउन सके ठूलो क्षेत्रमा पनि यो विधिको प्रभावकारिता बढाउन सकिन्छ । त्यस्तै, विभिन्न विषादीको प्रयोग गरिने रासायनिक विधि परम्परागत रूपमा कृषि क्षेत्रमा अपनाइँदै आए पनि प्राकृतिक वासस्थानमा उपयुक्त मानिँदैन । किनभने विषादीले मिचाहा प्रजातिसहित अन्य जीवजन्तुलाई पनि असर पार्छ । सानो क्षेत्रमा तत्कालै नियन्त्रण गर्नुपर्ने अवस्थामा चाहिँ रासायनिक विधि प्रयोग गर्न सकिन्छ ।

नियन्त्रणको तेस्रो विधि जैविक हो, जस अन्तर्गत कुनै मिचाहा प्रजातिको रैथाने क्षेत्रमा पाइने र त्यसैलाई मात्र हानि पुर्‍याउने शत्रुहरूमध्येबाट निश्चित प्रक्रियामार्फत छानेर मिचाहा प्रजाति फैलिएको क्षेत्रमा छोडिन्छ । जस्तै— पातीझार नियन्त्रणका लागि यसको रैथाने क्षेत्र मेक्सिकोमा पाइने र पातीझारलाई मात्र खाने खपटेकिरा छनोट गरी सन् १९८४ मा भारतको बङ्लोरमा छोडिएको थियो । यो किरा भारतबाट प्राकृतिक रूपमा फैलँदै सन् २००५ तिर नेपाल छिर्‍यो । यसले पातीझारको सम्पूर्ण पात खाई बिरुवा मार्छ वा बीउ उत्पादनमा उल्लेख्य कमी ल्याउँछ । सुरुआतमा उपयुक्त शत्रु छान्न दुईतीन वर्ष लाग्ने भए पनि दीर्घकालीन रूपमा जैविक विधि दिगो, वातावरण मैत्री र सस्तो पर्न जान्छ ।

नेपालको प्रयास
नेपालमा मिचाहा प्रजातिहरूको असर दिनानुदिन बढ्दै गएको यथार्थ हालैका अनुसन्धानहरूले देखाएका छन् । नेपालमा भएका मिचाहा प्रजातिहरू एकातिर थप भौगोलिक क्षेत्रहरूमा फैलिरहेका छन् भने, अर्कातिर नयाँ मिचाहा प्रजाति भित्रिने क्रम जारी छ । साथै जलवायु परिवर्तनका कारण यिनको असर र फैलावट बढ्न सक्ने देखिन्छ । यो तथ्यलाई मनन गरी नेपालले पनि मिचाहा प्रजातिको फैलावटलाई महत्त्वपूर्ण वातावरणीय समस्याका रूपमा पहिचान गरी आफ्ना विभिन्न प्रतिवेदन एवं रणनीतिहरूमा यसलाई उल्लेख गरेको छ ।

नेपालको जैविक विविधता संरक्षणका लागि राष्ट्रिय रणनीति एवं कार्ययोजना (दोस्रो संस्करण, २०१४–२०२०) मा मिचाहा प्रजाति नियन्त्रणका लागि निम्न कार्य गर्ने उल्लेख छ— (१) कम्तीमा पाँचवटा अत्यन्त हानिकारक मिचाहा प्रजातिको पहिचान गरी राष्ट्रिय स्तरको सर्वेक्षण गर्ने, (२) त्यसका लागि सचित्र पुस्तक प्रकाशन गर्ने, (३) क्वारेन्टाइनमा पहिचान क्षमता अभिवृद्धि गर्ने, (४) नियन्त्रणका लागि समुदायमा आधारित सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने, र (५) जैविक शत्रु पहिचान गरी उपयुक्त शत्रुलाई मिचाहा प्रजाति भएका स्थानमा छाड्ने ।

नेपालमा पाइने २६ वटा मिचाहा वनस्पतिको सर्वेक्षण आंशिक रूपमा सकिएको छ । यो नियन्त्रणका लागि समुदायमा आधारित केही कार्यक्रम बर्दिया, नवलपरासी, चितवन, मकवानपुर र झापामा सञ्चालित छन् । कास्की र चितवनका तालहरूबाट जलकुम्भी निकाल्ने काम भइरहेको छ । तर यी कार्य दीर्घकालीन र योजनाबद्ध रूपमा हुन नसकेका कारण मिचाहा प्रजातिको नियन्त्रण प्रभावकारी हुन सकेको छैन ।

सरकार, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा तालिम केन्द्र (तत्कालीन वन अनुसन्धान एवं सर्वेक्षण विभाग) ले झन्डै तीन वर्षअघि मिचाहा प्रजाति नियन्त्रणका लागि राष्ट्रिय रणनीति तयार पारेको थियो । विडम्बना, उक्त रणनीति हालसम्म सम्बन्धित मन्त्रालयबाट स्वीकृत हुन नसक्दा बाह्य मिचाहा प्रजाति नियन्त्रणका लागि नेपालमा भएका प्रयासहरू अपूर्ण र निष्प्रभावी देखिएका छन् । विश्वव्यापी अनुभव हेर्दा, मिचाहा प्रजातिको व्यवस्थापनको प्रभावकारिता समयसँगै घट्दै जान्छ । तसर्थ बाह्य मिचाहा प्रजातिको फैलावटबाट हाम्रो जैविक विविधता, पर्यावरण र कृषि क्षेत्रमा हुनसक्ने अपूरणीय क्षति रोक्नका लागि प्रस्तावित राष्ट्रिय रणनीति तत्काल अनुमोदन गरी प्रभावकारी कार्यान्वयनतर्फ बढिहाल्नु अत्यावश्यक छ ।

श्रेष्ठ त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हुन् ।

प्रकाशित : मंसिर १७, २०७६ ०९:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×