कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पुम्सेमा ७ स्वर्ण

काठमाडौँ — तेक्वान्दोको पुम्से विधामा नेपालले १३ मध्ये ७ स्वर्ण जितेको छ । तेक्वान्दो प्रतियोगिताको पहिलो दिन पुम्सेका कुनै पनि नेपाली खेलाडी पदकविहीन हुनुपरेन । नेपालले १ रजत र ५ कांस्य पनि जितेको छ । 

पुम्सेमा ७ स्वर्ण

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा पुम्सेतर्फ महिलाको स्पर्धामा नेपालले क्लिनस्विप गर्‍यो । महिला एकल र टिम पुम्सेको ५ स्पर्धामा सबै नेपाली खेलाडीले स्वर्ण जिते । एकलतर्फ १७–२३ वर्ष उमेर समूहमा सिना मादेन लिम्बूले स्वर्ण जितिन् । उनले १० पूर्णांकमा ८.१५० स्कोर गरिन् । ८.२५० स्कोर गरेकी भारतकी रूपा बायोरले रजत तथा श्रीलंकाकी इसुरीसुसारा र बंगलादेशकी अनिका अख्तरले कांस्य जिते ।


२३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले ८.२५० स्कोरसहित स्वर्ण जितिन् । श्रीलंकाकी रान्पातिपुरा देवागे जयावीराले रजत जित्दा बंगलादेशकी नूरनाहर अख्तर र भारतकी हर्षा सिंघाले कांस्य जिते । २९ वर्षमाथि उमेरमा आयशा शाक्यले स्वर्ण जितिन् । उनले ७.९४० स्कोर गरिन् । भारतकी प्रजाक्ता प्रकाश एंकोलकरले ७.६४० अंकसहित रजत तथा श्रीलंकाकी गायथ्री सान्दामाली पारावहेरा मेहेन्ची अराचचिगे ७.५५० र पाकिस्तानकी मेहरू निशा ७.३६० अंकसहित कांस्य जित्न सफल भए ।


पार्वती र सिनाका लागि यो पहिलो ठूलो अन्तर्राष्ट्रिय पदक थियो । चितवनकी २४ वर्षीया पार्वतीले तेक्वान्दो खेल्न थालेको दशकभन्दा बढी भयो । राष्ट्रिय टोलीमा परेर अन्तर्राष्ट्रिय स्वर्ण जित्ने उनको कल्पना थियो । चौथो डान पार्वतीले भनिन्, ‘धेरै मिहिनेत गरेकी थिएँ, त्यसैले स्वर्ण जित्नेमा आशावादी थिएँ । प्रदर्शन पनि राम्रो भयो,’ उनले भनिन्, ‘राष्ट्रिय टोलीबाट खेलेर यहाँसम्म पुग्छु भन्ने सोचेको थिइनँ तर मैले तेक्वान्दो छाडेकी पनि थिइनँ । अब अरू ठूलो उपलब्धिका लागि प्रयास गर्नेछु ।’


टिम स्पर्धामा १७–२३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाले ७.९८० स्कोरसहित स्वर्ण जिते । यस स्पर्धामा भारतीय टोलीले रजत तथा बंगलादेश र श्रीलंकाको टोलीले कांस्य जिते । २३ वर्षमाथि स्पर्धामा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईसम्मिलित नेपाली टोलीले ७.९२० स्कोरसहित स्वर्ण जितेको हो । ३ टोलीसम्मिलित यस स्पर्धामा श्रीलंकाले रजत र पाकिस्तानले कांस्य जिते ।


यसबाहेक पुरुष एकलतर्फ २३–२९ वर्ष उमेर समूहमा कमल श्रेष्ठले ८.२७० स्कोरसाथ स्वर्ण जिते । नेपाल पुलिस क्लबबाट व्यावसायिक तेक्वान्दो खेल्ने कमलले आठौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण जितेका थिए । यस स्पर्धामा भारतका राहुल जैनले रजत जिते । पाकिस्तानका मोहम्मद मुमताज र श्रीलंकाका निशानका जयले कांस्य जिते ।


‘स्वर्ण जित्छु भन्ने आशा त गरेको थिएँ, त्यहीअनुसार सोचेजस्तो प्रदर्शन पनि भयो,’ उनले भने, ‘एसियन गेम्समा राम्रो गर्न सकेको थिइनँ, अहिले यो उपलब्धिबाट खुसी छु । ७ वर्षअघि नेपाल पुलिसमा भर्ना भएपछि उनले तेक्वान्दो खेल्न सुरु गरेका थिए ।


एकल पुरुषमा १७–२१ वर्ष उमेर समूहअन्तर्गत नेपालका कृष्णबहादुर तामाङले रजत जिते । उनले ८.२०० स्कोर गरेका थिए । यस स्पर्धामा भारतका रानुका प्रभात मेनिकले ८.२५० स्कोरसहित स्वर्ण जिते । बंगलादेशका कमरुल इस्लाम र भारतका लाल्था मुआनपुइयाले कांस्य जिते । पुरुष एकलकै २९ वर्षमाथि उमेर समूहमा बंगलादेशका दिपुचाकमाले स्वर्ण तथा श्रीलंकाका लक्ष्मनी लान्दारिगेले रजत र नेपालका रेजिन रिमाल तथा भारतका गंगफुङ गांसाले कांस्य जिते ।


एकलतर्फ स्वर्ण जितेकी सिना अस्मिन राउतसँगको युगल स्पर्धामा भने कांस्यमा सीमित भइन् । यस स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले रजत जिते । नेपालसँगै बंगलादेशले पनि कांस्य जित्यो । युगलको २३–२९ वर्षमुनि उमेर समूहमा एकलतर्फको स्वर्ण विजेता पार्वनी र जितबहादुर बोट पनि कांस्यमै समेटिए । यस स्पर्धामा भारतले स्वर्ण जितेको छ । श्रीलंकाले रजत जितेको छ ।


पुरुष टिमतर्फ दुवै स्पर्धामा नेपालको प्रदर्शन कमजोर रह्यो । १७–२३ वर्षमुनि उमेर समूहमा शिशिर श्रेष्ठ, अस्मिन राउत र दीपेन्द्र गुरुङ तथा २३ वर्षमाथि उमेर समूहमा कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बूले कांस्य पदकमै चित्त बुझाए । १७–२३ वर्ष उमेर समूहमा भारतले स्वर्ण तथा श्रीलंकाले रजत जित्यो । २३ वर्षमाथि उमेर समूहमा श्रीलंकाले स्वर्ण तथा भारतले रजत जित्यो ।


राष्ट्रिय पुम्से टिमका प्रशिक्षक नोर्बु लामाले नतिजाबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।


प्रकाशित : मंसिर १७, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?